कुलमान हटाउनुको विषयमा यस्तो छ प्रधानमन्त्री ओलीको स्पष्टीकरण

हिमाल प्रेस १८ चैत २०८१ १२:४७
कुलमान हटाउनुको विषयमा यस्तो छ प्रधानमन्त्री ओलीको स्पष्टीकरण

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउनु स्वाभाविक रहेको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा सोमबार सम्बोधन गर्दै ओलीले भने, ‘सामान्यतः कुनै पनि कर्मचारीबाट विभागीय मन्त्रीले आफूप्रति लोयल्टी फिल गरेन भने चेन अफ कमान्डले काम गर्दैन। विभागीय मन्त्रीको फिलिङ सही कि गलत, त्यसको पनि परीक्षण होला। हुने ठाउँमै होला।’

कुलमानलाई हटाइएकै विषयमा केही दिनयता प्रतिपक्षी माओवादीलगायतका दलले संसद् अवरुद्ध गर्दै आएका थिए। ओलीले एकजना कर्मचारीका विषयमा प्रश्न उठाएर सदन अवरुद्ध गर्दा महत्त्वपूर्ण संसदीय कार्यमा बाधा पुगेको बताए।

उनले भने, ‘राष्ट्रसेवक कर्मचारीहरुको गुण/दोष टिप्पणी गर्ने स्थलचाहिँ यहाँ हो भन्ने मलाई लाग्दैन। त्यसको प्रक्रिया छ। राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र दोषीलाई कारबाही गर्ने विधि पनि यसै सदनले निर्धारण गरेको छ।’

ओलीले सरुवा गर्ने, जगेडामा राख्ने, स्पष्टीकरण माग्ने, नसिहत, चेतावनी दिने वा पदमुक्त गर्ने सम्मका काम गर्नु स्वाभाविकै भएको बताए। उनले भने, ‘अहिलेको सरकारले मात्रै हैन, जहिलेको सरकारले पनि गर्छ। अहिले पनि भएको छ, जहिले पनि भएको छ। चित्त नबुझ्ने पक्षले कानुनी उपचारको हक राख्छ, त्यो पनि हुने गरेको छ। भइरहेको छ।’

ओलीले यस विषय सम्मानित अदालतमा विचाराधीन रहेकाले यसमा थप चर्चा गर्न आवश्यक नरहेको बताए। ओलीले भने, ‘त्यसैले यस विषयमा मलाई लाग्छ थप बहस नगरौँ, अहिलेको परिस्थितिमा ससाना विषयहरुमा ठूलो बहस विवाद चलाउने परिस्थिति पनि होइन, अवस्था पनि छैन। अहिले संविधानको रक्षा, जनताले लडेर ल्याएका अधिकारहरुको रक्षा, लोकतन्त्रको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयनको समय हो।’

 

प्रकाशित: १८ चैत २०८१ १२:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast