![तीनकुने घटनाको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र हुन् : ओली [सम्बोधनको पूर्ण पाठसहित]](https://himalpress.com/wp-content/uploads/2025/03/KPOLI.jpg)
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुनेमा गत शुक्रबार दुई जनाको ज्यान जाने गरी भएको घटनाको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह रहेको बताएका छन्। प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सम्बोधन गर्दै ओलीले उक्त कुरा बताएका हुन्।
उनले पूर्वराजाले फागुन ६ गते दिएको आफू ‘अघि बढ्ने, साथ देऊ’ भन्दै वक्तव्यबाजी दिएर ठाउँठाउँमा स्वागत कार्यक्रम राख्दै जनमत भड्काउने काम सुरु गरेको आरोप लगाए। ओलीले भने, ‘फागुन २५ गते कथित ‘स्वागत–सवारी’ आयोजना गरियो। चैत १४ गते समाज बिथोल्न लागिपरेका एकजना अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित जनकमान्डर तोक्नुभयो र हिंसात्मक वारदातका लागि खटाउनुभयो।’
ओलीले प्रारम्भिक अध्ययनमा यी सबै घटनाले तत्कालीन राजा ज्ञानेन्द्र शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लंघन गरेको पुष्टि भएको बताए।
ओलीले भने, ‘त्यतिखेर नागरिकको हैसियतमा शान्त जीवन बिताउने, नागरिकको कानुनी र संवैधानिक अधिकार प्रयोग गरी व्यापार व्यावसाय सञ्चालन गर्ने, पूर्व राष्ट्रप्रमुखको हैसियतमा सरकारले सुरक्षाको प्रबन्ध गर्ने र उहाँलाई नागार्जुन दरबार प्रयोग गर्न र उहाँको मातालाई प्रयोग गरिरहेको नारायणहिटी दरबार परिसरको भवन प्रयोग गर्न दिने सहमति भएको हो। हाल राष्ट्रियसभाका माननीय सदस्य एवम् तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले सरकारको तर्फबाट संवाद/व्यवस्थापन गर्नुभएको थियो।’
ओलीले आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति नपाउने बताए। उनले यसमा तत्कालीन राजा शाहले पनि उन्मुक्ति नपाउने बताए।
ओलीले भने, ‘फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृंखलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन? मानिसलाई मर्नलाई दुरुत्साहन गर्ने जनकमान्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजनको क्षति र लुटपाट शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुन सक्छ? यी सबै घटनाको मूल जिम्मेवार उहाँ हो, उहाँले लिनुपर्छ।’
पूर्ण पाठ
गत चैत १५ गते २ वटा रानीतिक कार्यक्रमबारे प्रशासनलाई जानकारी गराइएको थियो। दुवै कार्यक्रम शान्तिपूर्ण र संवैधानिक दायराभित्रको भनिएको थियो। शान्ति, सुव्यवस्था कायम राख्दै विरोध– आलोचनाको संवैधानिक अधिकार सुनिश्चित गर्न सरकारले हुनसक्ने अवाञ्छित घटनाप्रति आयोजकहरुलाई सचेत गराएको थियो।
यस सम्मानित सदनमा राम्रो उपस्थिति रहेका दलहरुको मूल नेतृत्वमा ‘सामाजवादी मोर्चा’ले काठमाडौंको प्रदर्शनी मार्गमा भव्य सभा गर्यो। आफ्नो धारणा सार्वजनिक गर्यो । सरकारलाई खवरदारी गर्यो । संविधान र व्यवस्थाप्रति आफ्नो प्रतिवद्धता जनायो।
शालीन जुलुससहित भएको त्यस कार्यक्रमका आयोजकहरुलाई धन्यवाद ज्ञापन गर्दछु। हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने विधि यस्तै हो भन्ने पनि म ठान्दछु।
काठमाडौंको तीनकुनेमा अर्को सभाको लागि स्थान दिइएको थियो। त्यस कार्यक्रममा आयोजक को हुन् भन्नेमा केही आशंका र द्विविधा समेत थियो। त्यस कार्यक्रमका उद्देश्य जे बताइँदै थियो, त्यसमाथि नै आशंकाका आधार थिए। द्विविधा यस अर्थमा थियो, त्यसका आयोजक मध्ये केही नाम यस सम्मानित सदनमा उपस्थित दलका नेताहरुको पनि थियो।
तर तीनकुनेका आयोजकहरुले पहिले प्रशासनलाई जाकारी गराए अनुसार सभा गरेनन्, उत्तेजक प्रदर्शन र अराजनीतिक नारा सहित भीड सलबलाउन थाल्यो। सभा वा मन्तव्य हैन, प्रदर्शनको कथित ‘जनकमान्डर’ आफैँले हाँकेको गाडी प्रहरीमाथि नै चढाउने गरी निषेधित क्षेत्र तोड्न दौडाइयो। भीड नियन्त्रण गर्न प्रशासनले गरेको प्रयासका विरुद्ध, प्रहरीको बन्दुक खोस्ने, गुण्डागर्दी र कुटपिट गर्ने, लुटपाट गर्नेजस्ता बारदात सुरु गरियो।
हुँदा हुँदा निजी व्यक्तिको घर, सार्वजनिक भवन, सञ्चार गृह, पार्टी कार्यालय, औषधि कारखाना र सवारीका साधनमाथि ढुंगामुढा गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने र डिपार्टमेन्टल स्टोरहरु लुटपाट गर्ने जस्ता आपराधिक घटना सुरु गरियो। निजी व्यक्तिको घरमा आगजनी मात्रै गरिएन मानिसलाई भित्रै थुनेर बाहिरबाट ताला लगाई जिउँदै डढाउने हिंस्रक, आततायी कार्य भयो। अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गर्ने र प्रज्ज्वलनशील पदार्थमा आगो लगाई बिस्फोट गराउने आतंककारी काम समेत भयो। प्रहरीका सवारी साधन मात्रै हैन, आगो निभाउन आएका दमकलमाथि आक्रमण गरियो।
यी सबै निन्दनीय र खेदजनक कार्य हुन्। यस्ता घटनामा संलग्नहरुमाथि जोसुकै होऊन्। जुनसुकै कभरमा किन नहोउन्, कडा प्रशासनिक कारबाहीही हुन्छ। घटनाको विस्तृत विवरण उपयुक्त समयमा गृहमन्त्रीज्यूले यस सदनमा राख्नु हुनेछ।
घटनामा संलग्नहरुमाथि छानबिन सुरु भएको छ। यसका योजनाकार को हुन् र को को संलग्न छन्? सरकारले यस सन्दर्भमा छानबिन र अनुसन्धान गरिरहेको छ।
यस घटनको पृष्ठभूमिमा करिव १ वर्ष अघिदेखिको घटनालाई अध्ययन गर्नु आवश्यक छ। सरकार, व्यवस्था र संविधानप्रति अनास्था, घृणा र भ्रम फैलाउन एउटा तत्व त्यसै बेलादेखि क्रियाशील थियो। मौका खोजिरहेको थियो। धर्म, संस्कृति, परम्पराजस्ता संवेदनशील विषयमा अनावश्यक टिप्पणी गरी साम्प्रदायिक सद्भाव बिथोल्ने र खास समुदायमाथि आक्रमणमा उक्साउने काम गर्दै थियो। ऋण तिर्न पर्दैन भन्दै ऋणिहरुको भावनात्मक संवेदना माथि खेल्ने र बैंक वित्तीय संस्था ध्वस्त पार्ने खेतीमा त्यो तत्त्व सक्रिय थियो।
यसैबीच तत्कालीन राजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते आफू ‘अघि बढ्ने, साथ देऊ’ भन्दै वक्तव्यवाजी गर्नुभयो। त्यसको लगत्तै ठाउँठाउँमा स्वागत कार्यक्रम राख्दै जनमत भड्काउने काम सुरु गरियो। फागुन २५ गते कथित ‘स्वागत–सवारी’ आयोजना गरियो। र, चैत १४ गते समाज बिथोल्न लागिपरेका एकजना अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित “जनकमाण्डर” तोक्नुभयो र हिंसात्मक वारदातका लागि खटाउनुभयो।
प्रारम्भिक अध्ययनमा यी सबै घटनाले स्पष्ट पार्छ, तत्कालीन राजा ज्ञानेन्द्र शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लंघन गर्नुभएको छ। त्यतिखेर नागरिकको हैसियतमा शान्त जीवन बिताउने, नागरिकको कानुनी र संवैधानिक अधिकार प्रयोग गरी व्यापार व्यावसाय सञ्चालन गर्ने, पूर्व राष्ट्रप्रमुखको हैसियतमा सरकारले सुरक्षाको प्रबन्ध गर्ने र उहाँलाई नागार्जुन दरबार प्रयोग गर्न र उहाँको मातालाई प्रयोग गरिरहेको नारायणहिटी दरबार परिसरको भवन प्रयोग गर्न दिने सहमति भएको हो। हाल राष्ट्रियसभाका माननीय सदस्य एवम् तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले सरकारको तर्फबाट संवाद/व्यवस्थापन गर्नुभएको थियो ।
आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनु हुन्न। यसमा तत्कालीन राजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न। फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृंखलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन? मानिसलाई मर्नलाई दुरुत्साहन गर्ने जनकमान्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजनको क्षति र लुटपाट शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुन सक्छ? यी सबै घटनाको मूल जिम्मेवार उहाँ हो, उहाँले लिनुपर्छ।