
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानसभापछि भएको सहमति र संविधानको उल्लंघन गरेको आरोप लगाएका छन्। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा आइतबार सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन्।
उनले कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारको तर्फबाट संवाद व्यवस्थापन गरेको स्मरण गराउँदै भने, ‘आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन। पाउनु हुन्न। यसमा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि उन्मुक्ति पाउन हुन्न। फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले पछिल्ला समयमा व्यवस्थाविरुद्ध भएका सबै शृंखलाबद्ध घटनाबारे आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन।’
तीनकुने घटना पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा भएको ओलीको दाबी छ।
उनले तीनकुने घटनाबारे छानबिन भइरहेको जानकारी दिँदै दोषी देखिएकामाथि कानुनबमोजिम कारबाही हुने बताए। ओलीले काठमाडौँको तीनकुनको सभाको आयोजक को थिए र उद्देश्य के थियो भन्नेमा आशंका रहेको बताए। उनले भने, ‘घटनाको विस्तृत विवरण उपयुक्त समयमा गृहमन्त्रीले सदनमा जानकारी दिनु हुनेछ।’
ओलीले पूर्वराजाले फागुन ६ गते दिएको अभिव्यक्ति दिएर समाज भड्काएको आरोप लगाए। उनले पूर्वराजाले समाज बिथोल्न सक्रिय एक अबान्छित व्यक्ति दुर्गा प्रसाईलाई आफ्नै निवासमा डाकेर जनकमान्डर तोकेको आरोप ओलीले लगाए।