
काठमाडौँ- फिल्म ‘वसन्त’ को गीत ‘हेर्दै आँखामा’ युट्युबको ट्रेन्डिङमा उक्लेको छ। गीत सार्वजनिक भएको २४ घण्टा नहुँदै गीत ट्रेन्डिङ २२ मा पुगेको छ। सोमबार बिहानसम्म गीतलाई दुई लाख १९ हजारभन्दा बढी दर्शकले हेरिसकेका छन्।
गीतमा गायक सुगम पोखरेल र गायिका समीक्षा अधिकारीले स्वर छ। फिल्मका निर्देशकसमेत रहेका अभिनेता प्रकाश सपुतकै शब्द तथा संगीत भरेका छन्। गीतमा योगेश काजी शाहको संगीत संयोजन छ।
सुशन प्रजापतिले खिचेको गीतमा अभिनेता प्रकाश र स्वस्तिमाको रोमान्टिक अभिनय छ। भिडियोमा फिल्मका मुख्य पात्र वसन्तले विभिन्न धर्म र संस्कार अनुसार विवाह गरेको देखाइएको छ। जसले फिल्मको कथा र त्यसको मर्मलाई चित्रण गर्ने टिमको दावी छ। केवीका खत्रीको कोरियोग्राफी रहेको गीत प्रवीन भट्टको सम्पादनमा बनेको छ।
फिल्मका निर्देशक गायक तथा अभिनेता प्रकाश सपुत हुन्। मानिस जुनसुकै जात, धर्म अनि वर्गको भएपनि एक नै भएको सन्देश गीतले दिने सपुतले बताए ।
चैत २२ मा प्रदर्शन हुने फिल्म प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय छ। फिल्मको छायांकन गरिएको गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौँ र तराईका विभिन्न ठाउँमा गरिएको छ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको फिल्मको कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन्। विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा फिल्ममा प्रस्तुत गरिएको छ। फिल्मको निर्माता मोहन विश्वकर्मा र बिन्दु बोहोरा हुन्।
यस्ताे छ गीत