
काठमाडौँ- नेपाल शिक्षक महासंघले विगतका सहमतिहरू समेटी गुणस्तरीय विद्यालय शिक्षा ऐन जारी गराउन चैत २० गतेदेखि काठमाडौँमा अनिश्चितकालीन आन्दोलन घोषणा गरेको छ।
महासंघको साेमबारको विस्तारित कार्यालयीय बैठकको निर्णयअनुसार देशभरका शिक्षक-कर्मचारीलाई आन्दोलनमा सहभागी हुन आह्वान गरिएको छ।
आन्दोलनलाई प्रभावकारी बनाउन महासंघले प्रदेश, जिल्ला र पालिका तहका आन्दोलन परिचालन समिति तथा महासंघसँग आबद्ध/सम्बद्ध संस्थाहरूलाई सक्रिय सहभागिताका लागि निर्देशन दिएको छ।
यस्ता छन् निर्णयहरू
१. विगतका सबै सहमति समावेश गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न राज्यलाई बाध्य पार्न दोस्रो चरणअन्तर्गत मिति २०८१ चैत २० गतेबाट काठमाडौँ केन्द्रित अनिश्चितकालीन सडक आन्दोलन गरिने भएकोले देश भरका सबै शिक्षक-कर्मचारी साथीहरू ‘आन्दोलन सफल पार्न काठमाडौँ जाऔं’ अभियान अनुसार काठमाडौँ आई आन्दोलनमा सहभागी हुनुहुन,
२. मिति २०८१ चैत २० गतेदेखि काठमाडौँमा हुने आन्दोलनमा व्यापक सहभागिताका लागि हरेक जिल्लाले २०८१ चैत २० गते अगावै राष्ट्रिय आन्दोलन परिचालन समितिमा जिल्लागत तथ्याङ्क पठाउनुहुन,
३. मिति २०८१ चैत २० गतेबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, यस अन्तर्गतका निकाय तथा स्थानीय तहबाट हुने गोष्ठी, सेमिनार, तालिम आदिमा सहभागी नहुन तथा आन्दोलन अवधिभर एसईई लगायत कुनै पनि परीक्षाका उत्तर पुस्तिका परीक्षण, सम्परीक्षण नगर्नु तथा नगराउनु हुन,
४. हरेक शिक्षक-कर्मचारीले आन्दोलनमा सहभागी हुँदा शिक्षक-कर्मचारीका लागि तोकिएको पोसाक अनिवार्य लगाउनुहुन, साथै पहिचानका लागि आफ्नो विद्यालयको परिचयपत्र अनिवार्य साथमा बोक्नुहुन,
५. हरेक शिक्षक-कर्मचारीले आफ्नो जिल्लाका साथी एकसाथ रही आन्दोलनमा सहभागी हुनुहुन तथा सबै जिल्लाले सम्बन्धित प्रदेशले तोकेको स्थानमा भेला भई आन्दोलन स्थलमा रहनुहुन,
६. यस अघिको परिपत्र बमोजिम अझै केही जिल्लाले आन्दोलन परिचालन शुल्क नपठाएको देखिएकोले आफ्नो जिल्लाको शिक्षक-कर्मचारी सङ्ख्याअनुसार प्रति सदस्य रु ५०/- केन्द्रको तोकिएको खातामा अविलम्ब पठाउनु हुन,
७. हरेक जिल्लाले २०८० सालको वार्षिक सदस्यता शुल्क (प्रति शिक्षक रु २५०/-) प्राप्त गरी प्रति सदस्य रु.५०/- केन्द्रको खातामा अविलम्ब पठाउनु हुन र
८. आन्दोलन बारे ने.शि.महासंघको आधिकारिक सूचनाअनुसार कार्य गर्नु गराउनुहुन तथा अनधिकृत व्यक्ति वा निकायबाट सम्प्रेषण हुने कुनै पनि सूचना र सर्कुलरमा पत्यार नगर्नुहुन।