
डडेल्धुरा- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली समाज हिन्दू धर्म संस्कारमा अडिग रहेको बताएका छन्।
डडेल्धुरा र डोटीको संगमस्थल गहनानधाममा आज (आइतबार) श्रीमद्भागवत महायज्ञको उद्घाटन गर्दै उनले हिन्दू परम्परालाई मान्ने नेपालीको संस्कृति रहेको बताए। सभापति देउवाले पछिल्लो समयमा केही सांस्कृतिक विचलन आइरहेका उल्लेख गर्दै आफ्नो धर्म, संस्कारबारे सचेत रहन यस किसमका धार्मिक कार्यक्रम उपयोगी हुने धारणा राखे।
‘हामी हिन्दू संस्कृति र परम्परामा अडिग छौँ। हिन्दू धर्म मान्ने हाम्रो परम्परा हो। गाईलाई पूजा गर्ने, शुद्धताका लागि गाईको गोबर र गहुँत मन्दिर तथा घरमा प्रयोग गर्ने देश हो, ‘गौ हत्या गर्न पाइँदैन। त्यसमा कडा कानुन छ। यसलाई अझै कडाइका साथ लागू गर्न हामी प्रतिबद्ध छौँ।’
सभापति देउवाले सेती र साकल्य नदी मिसिएर हुने त्रिवेणीधाम गहनान यस क्षेत्रको ठूलो र महत्वपूर्ण मसान भएको स्मरण गरे। रासस