राप्रपाको आन्दोलन : न निर्मल निवासको साथ, न हिंसाको जस लिने तागत

किरण पौडेल १७ चैत २०८१ २१:२२
226
SHARES
राप्रपाको आन्दोलन : न निर्मल निवासको साथ, न हिंसाको जस लिने तागत

काठमाडौँ– शुक्रबार हिंसात्मक प्रदर्शन भएपछि राजावादी शक्ति विभाजित भएको छ। काठमाडौँको तीनकुनेमा दुई जनाको ज्यान जाने गरी भएको उक्त घटनाको जस कसले लिने भन्नेमा राजावादी विभाजित भएका हुन्।

राजावादीको प्रदर्शन भड्किलो बनेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालका नेताहरू चिन्तित देखिएका छन्। राजतन्त्र समर्थक दुवै दलले उक्त घटनाको जिम्मा लिन सकेका छैनन्।

राप्रपाका एक नेता भन्छन्, ‘न जिम्मा लिन सकिने अवस्था छ, न त हाम्रो संलग्नता थिएन भन्ने अवस्था छ।’ यही कारण हुन सक्छ, दुवै दलले घटनामा सरकारी संयन्त्र चुकेको भनेर आलोचना गरिरहेका छन्।

तीनकुने घटनापछि सबैभन्दा ठूलो सकस राप्रपालाई परेको छ। पार्टीले आन्दोलनका कार्यक्रम यसअघि नै सार्वजनिक गरेको थियो। अब आन्दोलन कसरी अघि बढ्छ भन्ने नेतृत्वलाई थाहा नभएको ती नेताले बताए। राप्रपाले चैत २६ गते र वैशाख ७ गते प्रदर्शन गर्ने तालिका सार्वजनिक गरिसकेको छ। पार्टीले प्रदर्शनका लागि उच्च मनोबलसहित तयारीमा जुट्न पार्टीपंक्तिलाई अपिल गरेको छ।

राप्रपाले गर्न लागेको आन्दोलन पूर्वराजा ज्ञानेन्द्रको कुनै भूमिका वा ढाडस नरहेको नेताहरू बताउँछन्। आलोचकहरू पूर्वराजा ज्ञानेन्द्र शाहकै निर्देशनमा गत शुक्रबार राजावादीले प्रदर्शन गरेको आरोप लगाउँछन्। यद्यपि पूर्वराजाका तर्फबाट उक्त घटनाका सम्बन्धमा कुनै प्रतिक्रिया सार्वजनिक गरिएको छैन।

प्रदर्शन हिंसात्मक बनेकाले अब जनमत कसरी आफ्नो पक्षमा राख्ने भन्नेमा राप्रपाको नेतृत्व चिन्तित रहेको ती नेताको दाबी छ। ती नेताले भने, ‘आन्दोलन मिति घोषणा भइसकेको छ। राप्रपाले गर्ने आन्दोलन हिंसात्मकचाहिँ हुँदैन।’ राज्य पक्षको प्रत्यक्ष निगरानी रहने भएकाले घुसपैठको सम्भावना देखिएकाले अवस्था अन्योलपूर्ण रहेको नेताहरूले बताएका छन्।

राजावादीको प्रदर्शनलाई दुवै राप्रपाले नैतिक समर्थन दिएका थिए। हिंसात्मक घटनाका विषयमा जिम्मा लिन भने उनीहरू तयार छैनन्। होऊन् पनि कसरी? आन्दोलनको नेतृत्वमा दुवै राप्रपा थिएनन्। प्रदर्शन राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको अगुवाइमा भएको थियो। त्यसका संयोजक रहेका पूर्वपञ्च नवराज सुवेदी अहिले नजरबन्दमा छन्।

राप्रपा नेपालले सरकारकै कारण हिंसा भड्किएको दाबी गरेको छ। लिङदेन नेतृत्वको राप्रपाले पार्टी हिंसाका पक्षमा नभएको स्पष्ट पारिसकेको छ। राप्रपाको शनिबार बसेको बैठकले पनि सरकारले नै हिंसा भड्काउने काम गरेको निष्कर्ष निकालेको छ।

पार्टीको शनिबार बसेको बैठकपछि अध्यक्ष राजेन्द्र लिङदेनले शान्तिपूर्वक भइरहेको प्रदर्शनलाई सुरक्षाकर्मीले भड्काएको आरोप लगाए। उनले छानाबाट प्रहरीले गोली चलाएर, म्याद गुज्रेको अश्रुग्यास प्रहार गरेर हिंसा भड्काएको दाबी गरेका हुन्। ‘प्रदर्शनमा कसैले अशान्ति मच्चाए पक्राउ गर्ने अधिकार प्रहरीलाई छ। त्यहाँको सुरक्षा व्यवस्था कायम गर्ने जिम्मा पनि सरकारको हो। तर गल्ती गर्नेलाई पक्राउ नगर्ने र सभामा योजनाबद्ध ढंगले छानाबाट गोली र अश्रु ग्यास प्रहार गर्नु नियोजित होइन र?’ लिङदेनले भने।

उनले तीनकुनेमा आयोजित प्रदर्शनमा आफूहरूको नैतिक समर्थन रहेको पनि बताए। ‘विरोध प्रदर्शनमा हाम्रो नैतिक समर्थन थियो। हाम्रा नेताकार्यकर्ताहरू खटिएका थिए। तर सरकारले त्यहाँ हिंसा भड्काउने काम गर्‍यो,’ लिङ्देनले भने।

अध्यक्ष लिङ्देनले पक्राउ परेका नेताद्वय रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणाको बचाउसमेत गरे। उनले भने, रवीन्द्र मिश्र र धलवशमशेर राणामाथि पनि छानबिन गरियोस्। उहाँहरूले आगो लगाउनुस् बोलेको छ कि छैन भनेर पनि पत्ता लगाइयो्।’

राजावादी शक्ति अब कसरी बढ्ने भन्नेमा अन्योलमा छ। आगामी रणनीति अघि बढाउन सबैभन्दा बढी बिलखबन्दमा राप्रपा अध्यक्ष लिङदेन परेका छन्।

राजावादी दलहरूमध्येको सबैभन्दा ठूलो दल राप्रपा हो। यद्यपि ‘राजा फर्काऊ’ आन्दोलनमा लिङदेनको दलले नेतृत्व लिएको छैन। विद्यार्थी राजनीति हुँदै मूल राजनीतिमा पुगेका लिङदेन पार्टीगत रूपमा राजा फर्काऊ अभियानमा सबैभन्दा उपयुक्त पात्र मानिएको जानकारहरूको बुझाइ छ।

अहिले जसरी राजावादी आन्दोलन भइरहेका छन्, ती कुनै आन्दोलनमा लिङ्देन सहभागी छैनन्। राप्रपा नेपालका अध्यक्ष कमल थापाको समेत प्रदर्शनमा सहभागिता छैन। राजावादी आन्दोलनमा राप्रपा र राप्रपा नेपालबाहेक चलिरहेको छ। यद्यपि दुवै पार्टीका नेता भने सहभागी छन्।

गत शुक्रबार प्रदर्शन राजावादी आन्दोलन परिचालन समितिले गरेको हो। नवराज सुवेदी संयोजक रहेको समितिका जनकमान्डर दुर्गा प्रसाई हुन्। उनीहरूकै नेतृत्वमा शुक्रबारको प्रदर्शन भएको हो।
आन्दोलनमा दुवै राप्रपाको नैतिक समर्थन थियो। राप्रपा नेताहरूका अनुसार दुवै राप्रपाले प्रदर्शनलाई सहयोग गरेका थिएनन्। यही कारण दुवै पार्टीका अध्यक्ष प्रदर्शनमा गएनन्। किनभने प्रदर्शनको नेतृत्व लिन दुवै अध्यक्ष इच्छुक थिए।

निकट नेतासँग आन्दोलनको नेतृत्वमा लिङदेनले आफू हकदार भएको दाबी गरेका थिए। यही कारण पनि यसअघि आन्दोलन परिचालन समितिको बैठकमा लिङदेन उपस्थित थिएनन्। थापा र लिङ्देन दुवैलाई सुवेदी नेतृत्वको समितिमा राखिएको थियो। दुवैले आफूहरूलाई जानकारी नदिई राखिएकोमा आपत्ति जनाएका थिए। राप्रपाले छुट्टै आन्दोलन घोषणा गरेको थियो।

राप्रपाका नेताहरूका अनुसार आन्दोलन परिचालक समितिको संयोजक पाउनुपर्ने दाबी गर्ने नेतालाई सदस्य दिँदा असन्तुष्ट बनेका थिए। उनीहरूको असन्तुष्टि लामो समय टिकेन।

नेताहरूका अनुसार सुवेदी र प्रसाई निर्मल निवास (पूर्वराजा ज्ञानेन्द्र शाह)बाटै खटाइएका हुन् भन्ने खुलेपछि सन्तुष्ट पार्टीका नेताहरू असन्तुष्ट भएका हुन्। गत

शुक्रबारको आन्दोलनमा दुर्गा प्रसाईले कार्यकर्ता-जनता खटाउने जिम्मेवारी पाएकाले पनि लिङदेन-थापाले असन्तुष्ट जनाएका थिए। यसअघि पनि प्रसाईले बारम्बार लिङदेन-थापाप्रति कटाक्ष प्रहार गरेका थिए। सार्वजनिक कार्यक्रममै प्रसाईले राप्रपाबाट राजा ल्याउने आन्दोलनको सम्भव नभएको बताएका थिए।

लिङ्देन केही पहिलेबाटै निर्मल निवाससँग निकट थिए। गत वर्ष पूर्वको मेची खोलाको एक कार्यक्रममा प्रसाईले नै ज्ञानेन्द्रलाई सहभागी गराएका थिए।

गत चैत १४ गते अर्थात् आन्दोलनको अघिल्लो दिन पनि प्रसाईले निर्मल निवास पुगेर ज्ञानेन्द्र भेटेका थिए। राप्रपाी नेताहरूका अनुसार लिङदेन-थापाको भन्दा प्रसाईले निर्मल निवाससँग सम्बन्ध सुदृढ बनाएका थिए। यही कारण लिङदेन-थापा झस्किएका हुन्।

अब के गर्ने?

राप्रपा स्रोतका अनुसार धवल-रवीन्द्र आन्दोलनमा सहभागी भएको अध्यक्ष लिङदेन खुसी थिएनन्। उनीहरू पक्राउपछि पनि लिङदेनले आफ्नै पक्षमा निर्णय लिने बुझाइ थियो। दुवै नेतालाई रिहाइको माग गर्दै लिङदेनले निर्णय गराए। यसरी लिङदेन लचक बन्नुको पछाडि निर्मल निवासको हात रहेको राप्रपाका एक नेताको बुझाइ छ।

‘अध्यक्षज्यूले आफ्नै नेतृत्वमा आन्दोलन गर्ने सोच्नुभा थियो। तर पाउनुभएन,’ राप्रपाका ती नेता भन्छन्, ‘हिंसाको जिम्मा लिन सकिने पक्षमा उहाँ हुनुहुन्न। तर पक्राउ परेकालाई रिहा गर त भन्नैपर्‍यो।’

अब आन्दोलन कसरी अघि बढाउनेमा पनि राप्रपामा अन्योल छ। यसअघि नै हिंसा भड्किएपछि आन्दोलन सशक्त नबन्ने प्रस्ट छ। राज्य पक्षबाट पनि राप्रपामाथि निगरानी गर्ने बुझाइ छ।

‘हामी सबैथोक छाडेर सशक्त आन्दोलनमा जान्छौँ। आन्दोलन शान्तिपूर्ण हुन्छ,’ राप्रपाका महामन्त्री राजेन्द्र गुरुङ भन्छन्, ‘राज्य पक्षबाट आन्दोलन भड्काइयो। यसमा राज्यको गल्ती छ।’

राप्रपा नेपाल निकट स्रोत भने प्रसाई नेतृत्वको आन्दोलन हिंस्रक बन्ने बुझेको दाबी गर्छ। ‘प्रसाईले जसरी अघि बढे। त्यो हिंस्रक शैली हो। अब माहोल बनाएर लैजानुपर्छ’, अर्का एक नेताले भने।

धवल-रवीन्द्रबीच लचक लिङ्देन

निर्मल निवासको समेत संलग्नतामा सुवेदी-प्रसाई आन्दोलन चलेपछि राप्रपाबाट धवल र रवीन्द्रसमेत सहभागी थिए। हिंसा भड्किएपछि उनीहरू पक्राउ परेका छन्। यस विषयमा निर्णय लिन नै राप्रपाले शनिबार बैठक बोलाएको थियो। यसमा भने लिङ्देन लचक बने।

राप्रपाका एक महामन्त्रीका अनुसार निर्मल निवासको प्रत्यक्ष सिग्नलमा भएको प्रदर्शनलाई नैतिक समर्थन दिइएकाले लिङदेन लचक बनेका हुन्। उनले धवल-रवीन्द्रलाई तत्काल रिहा गर्नुपर्ने माग गरेका छन्।
‘राजाले नै कमान्डर तोकेपछि समर्थन रहेको छ भन्ने पर्‍यो’, महामन्त्री गुरुङ भन्छन्, ‘यसले गर्दा अध्यक्षलाई समस्या पर्‍यो। यसअघि लिङदेनसँग धवल र रवीन्द्रको राम्रो सम्बन्ध थिएन। अघिल्ला बैठकमा समेत लिङदेनविरुद्ध दुई नेता खनिएका थिए। यसैले पनि लिङदेनको प्रदर्शन छाडेर उनीहरू सुवेदीको प्रदर्शनमा पुगेका थिए।

प्रकाशित: १७ चैत २०८१ २१:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast