
काठमाडौँ– नेपाली कांग्रेस र नेकपा एमाले राजावादीको प्रदर्शनमा भएका घटनाको नैतिक जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्नेमा एकमत देखिएका छन्। संसद् भवन परिसरमा आइतबार कुराकानी गर्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र एमाले प्रमुख सचेतक महेश बर्तौलाले उक्त कुरा बताएका हुन्।
उनीहरूले ज्ञानेन्द्र शाहले पूर्वराष्ट्र प्रमुखका रूपमा पाउँदै आएको सेवासुविधा खोसेर कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिएका हुन्।
शर्माले शुक्रबारको घटनामा पूण रूपमा पूर्वराजा ज्ञानेन्द्र शाह दोषी रहेको भन्दै सम्पूर्ण घटनाको जिम्मेवारी पूर्वराजाले लिनुपर्ने बताए। पूर्वराजालाई संविधानले नागरिकलाई दिएको अधिकारभन्दा बढी दिएर राखेको भन्दै उनले यसलाई सम्मान गर्न नसकेको तर्क गरे। शर्माले भने, ‘जसको उक्साहटमा घटना भएको छ, त्यहीअनुसार छानबिन हुनुपर्छ।’
उनले मुलुकमा भएका घटनाका विषयमा सदनमा कुरा राख्न नपाउने अवस्था सिर्जना भएको र यसमा सिंगो संसद् दोषी भएको धारणा राखे। उनले प्रधानमन्त्रीले सदनमा जवाफ दिने भनिसक्दा पनि अहिलेको अवस्थामा सदन अवरुद्ध गर्नु उचित नभएको बताए।
यसैगरी नेकपा एमालेका प्रमुख सचेतक बर्तौलाले शुक्रबारको घटनाको मुख्य दोषी पूर्वराजा ज्ञानेन्द्र शाह नै भएकाले कानुनबमोजिम कारवाही गर्नुपर्ने स्पष्ट पारे। उनले भने, ‘पूर्वराजालाई दिएको सबै सेवासुविधा फिर्ता लिनुपर्छ।’
बर्तौलाले बाहिर गणतन्त्रको पक्षमा नाराबाजी गर्ने र सदनभित्र गणतन्त्रविरुद्ध ढुंगा हान्नेहरुसँग कुम जोडेर सदन चल्न नदिने कुराले माओवादीको राजनीतिक दृष्टिकोणप्रति नै प्रश्न खडा भएको बताए।
उनले भने, ‘मुलुकमा प्रकट भएका गम्भीर विषयहरुलाई सदनमा गम्भीर रूपमा छलफल गरेर पूर्वराजालाई कारबाहीको दायरामा ल्याउनका लागि साझा मत बनाउनुपर्नेमा माओवादीका कारण अवरोध सिर्जना छ।’