एकीकृत समाजवादीले राजावादीहरूको ‘विध्वंसकारी’ गतिविधिको भण्डाफोर गर्ने

हिमाल प्रेस १७ चैत २०८१ १५:५९
10
SHARES
एकीकृत समाजवादीले राजावादीहरूको ‘विध्वंसकारी’ गतिविधिको भण्डाफोर गर्ने

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले राजवादीहरूको अराजक तथा हिंसात्मक गतिविधिको देशव्यापी रूपमा भण्डाफोर गर्ने भएको छ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न शनिबार बसेको स्थायी कमिटीको निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले यस्तो जानकारी दिएका हुन्।

उनले ‘राजवादी अराजक जत्थाद्वारा गरिएका हत्या, हिंसा, निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाटलगायतका उदण्ड, विध्वंसकारी र जनविरोधी क्रियाकलापको देश्व्यापी रूपमा भण्डाफोर गर्ने निर्णय भएको’ बताए।

एकीकृत समाजवादीको आलोकनगरस्थित केन्द्रीय कार्यालय, काठमाडौँ जिल्ला कार्यालय तथा पार्टी अध्यक्ष माधवकुमार नेपालको निवासलगायतका स्थानमा भएका ढुंगामुडा, तोडफोड र आगजनीविरूद्ध आगामी चैत २५ गतेभित्र सबै प्रदेश, जिल्ला, स्थानीय कमिटी र जनसंगठनहरूले सम्बन्धित तहमा देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय भएको ज्वालाले बताए।

एकीकृत समाजवादीले तथाकथित राजावादी प्रदर्शनका नाममा भएका हत्या, हिंसा, आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूलाई तत्काल कडा कानुनी कारबाही गर्न पनि माग गरेको छ।

अराजकतावादीहरूको प्रदर्शनमा उचित समयमा उचित ढंगले सुरक्षाकर्मी परिचालन गरेर हत्या, हिंसा, आगजनी, तोडफोड, लुटपाट नियन्त्रण गर्न र शान्ति सुरक्षा कायम गर्न नसक्नु सरकारको असक्षमता र कमजोरी भएको एकीकृत समाजवादीको ठहर छ।

एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले सरकारको यो कमजोरी र गैरजिम्मवार व्यवहारको विरोध गर्ने निर्णयसमेत गरेको छ।

राजवादी आतततायीहरूद्वारा हत्या गरिएका पत्रकार सुरेश रजकलगायतका मृतकहरूलाई उचित क्षतिपुर्ति उपलब्ध गराउन एकीकृत समाजवादीले सरकारसँग माग गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast