राजावादी-गणतन्त्रवादी आन्दोलनले शिक्षक आन्दोलनलाई असर पर्दैन : संयाेजक पराजुली

हिमाल प्रेस १७ चैत २०८१ १७:२१
1.7k
SHARES
राजावादी-गणतन्त्रवादी आन्दोलनले शिक्षक आन्दोलनलाई असर पर्दैन : संयाेजक पराजुली

काठमाडौँ- नेपाल शिक्षक महासंघले काठमाडौँमा गत शुक्रबार भएको राजावादीको आन्दोलनका कारण शिक्षकहरूको घोषित आन्दोलनमा कुनै असर नपर्ने प्रस्ट पारेको छ। काठमाडौँमा राजावादीको आन्दोलन भएका कारण नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौँमै बुधबारदेखि हुने अनिश्चितकालीन आन्दोलन के होला भन्ने आमशिक्षक कर्मचारीको जिज्ञासाबारे महासंघले प्रस्ट पारेको हो।

 शिक्षक महासंघले अविलम्ब शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले काठमाडौँमा २० गते बुधबारदेखि आन्दोलन गर्न लागेको हो। महासंघकी सहअध्यक्ष एवम् आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले  शिक्षक आन्दोलन घोषित कार्यतालिकाअनुसार हुने बताएकी छन्। उनले आन्दोलनका बारेका कुनै संशय नगर्न पनि सबै शिक्षक र विद्यालय कर्मचारीलाई आग्रह गरेकी छन्।

पराजुलीले हिमालप्रेससँग भनिन्, ‘चित्त नबुझेपछि काठमाडौँमा ककसले आन्दोलन गर्छन् हामीलाई चासो भएन। राजावादीहरूको आन्दोलनको उद्देश्य पूरा हुन्छ कि हुँदैन हामीलाई थाहा छैन। शिक्षक आन्दोलनबाट हामी पछि हट्दैनौँ।’

सरकार  ऐन ल्याउन तयार नभएका कारण शिक्षक कर्मचारी आन्दोलनमा उत्रन बाध्य भएको  उनले बताइन्। पराजुलीले भनिन्,  ‘राजावादीको आन्दोलन सकिएला, आन्दोलन गरौँला, शिक्षा ऐन ल्याउँला भनेर पर्खेर त भएन! त्यसैले गणतन्त्र विरोधी, राजतन्त्र प्राप्ति कुनै पनि आन्दोलनसँग नाता, सम्बन्ध, साइनो, सरोकार केही छैन। २० गतेदेखि काठमाडौँमा हाम्रो अनिश्चितकालीन आन्दोलन छ। यो आन्दोलनलाई व्यवस्थित, मर्यादित, अनुशासित बनाउनका लागि जुटेका छौँ।’

संयोजक पराजुलीले सरकारले तोकेको निश्चित ठाउँमा रहने र निषेधित क्षेत्र नतोड्ने बताइन्। उनले भनिन्, ‘निषेधित क्षेत्रभन्दा धेरै वर बस्छौँ। सरकार विरोधी, सत्ता परिवर्तन नाराजुलुस, गतिविधि हुँदैनन्। हामी केवल विगतमा भएका सहमति पूर्ण रूपमा कार्यान्वयन हुने गरी विद्यालय, विद्यार्थी, शिक्षक, कर्मचारीमैत्री शिक्षा ऐन छिटोभन्दा छिटो जारी गरियोस्, अविलम्ब जारी गरियोस् भनेर सडकमा बस्छौँ।’

महासंघले २०८० साल असोजमा पनि काठमाडौँमा आन्दोलन गरेको थियो। उक्त आन्दोलनमा सरकारसँग सहमति गर्दै विधेयकमा संशोधन प्रस्ताव गरेको थियो। डेढ वर्षदेखि विद्यालय शिक्षा विधेयक २०८० संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेको छ। विधेयक अगाडि बढ्न नसकेको भन्दै महासंघ आन्दोलनमा उत्रेको हो।

संयोजक पराजुलीले भनिन्, ‘बिचमा धेरै पक्षीकरण, छलफल गर्‍यौँ। सरकारले वास्ता गरेन। सरकारले विधेयक अगाडि बढाउन नखोजेपछि हामीले पहिलो चरणको आन्दोलन माघ २० गतेदेखि गर्‍यौँ। हामीले आन्दोलन गरेपछि चैत ८ गते मात्र उपसमिति बनाइएको छ। उपसमितिले पनि काम गरेको छैन। सरकार यसमा उदासीन भयो।’

स्वार्थ समूहले शिक्षा विधेयक अगाडि बढ्न दिएका छैनन् : शिक्षा समिति सभापति थापा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast