१५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेन

हिमाल प्रेस १७ चैत २०८१ १५:२९
22
SHARES
१५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेन

काठमाडौँ- १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक अझै सुरू हुन सकेको छैन। दिउँसो साढे एक बजे १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक सुरु हुन नसकेको हो।

सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरू आआफ्नो अडानमा कायम भएपछि बैठक सुरू हुन नसकेको हो। प्रतिपक्षी दलका सांसदहरू नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक पदबाट हटाइएको कुलमान घिसिङबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने अडान राखेका छन्।

घिसिङको बर्खास्तीको कारणबारे प्रधानमन्त्रीले प्रस्ट नपारेसम्म संसद चल्न नदिने अडान प्रतिपक्षी दलका सांसदहरूले लिएका छन्।

प्रतिपक्षी दलले अवरोध गरेपछि सत्तापक्षका सांसदहरूले पनि सदन सञ्चालनका लागि दबाब दिँदै आफ्नो ठाउँबाट उभिएका थिए। सत्तापक्ष र प्रतिपक्षका सांसदहरू अडानमै कायम भएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि संसद बैठक स्थगित गरेका थिए।

बैठक स्थगित भएयता सभामुख घिमिरे सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफलमा जुटेका छन्। बैठक सञ्चालनको वातावरण तयार पार्न उनी प्रमुख सचेतकहरूसँग छलफल गरिरहे पनि हालसम्म सहमतिज नजुटेको एक सांसदले बताए।

‘सभामुखज्यू प्रमुख सचेतहरूसँग छलफल गरिरहनु भएको छ। अहिलेसम्म सहमति जुटेको छैन। आशा गरौँ सहमति भएर बैठक सञ्चालन हुन्छ,’ ती सांसदले भने।

यसअघि संसद सञ्चालनको वातावरण तयार पार्न भन्दै सभामुख घिमिरेले राजनीतिक दलहरूसँग छलफल गरेका थिए। सभामुख घिमिरेसँगको छलफलमा नेकपा (एमाले) का प्रमुख सचेत महेशकुमार बर्तौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको बैठकमा सम्बोधन गर्ने जानकारी गराएका थिए।्

विपक्षी दलहरूले अवरोध कायमै राखेपछि बिहीबार र शुक्रबार पनि संघीय संसदको दुवै सदनको बैठक प्रभावित भएका थिए।

प्रकाशित: १७ चैत २०८१ १५:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast