
काठमाडौँ- नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसबीच तानातान देखिएको छ। कांग्रेस गभर्नर आफूले पाउने पक्षमा छ भने नेकपा एमाले पनि आफू निकट अर्थशास्त्रीलाई गभर्नर बनाउने अडानमा छ।
गभर्नर छनोट सिफारिस समितिले २३ गतेसम्म सिफारिस गरिसक्नुपर्नेछ। अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजकत्वको समिति सदस्यमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेल छन्। समितिले डेपुटी गभर्नर एकसहित तीनजनाको नाम सिफारिस गर्नुपर्नेछ।
गत बिहीबार सत्तारूढ दलका नेताहरूको अनौपचारिक बैठकमा दुवै पार्टी गभर्नर आआफ्नै पार्टीको हुनुपर्ने अडान राखेका थिए। एमालेले गभर्नर नछाड्ने तर संवैधानिकलगायत अन्य राजनीतिक पद कांग्रेसलाई दिने आश्वासन दिइरहेको छ। एमालेले गरेको उक्त प्रस्ताव अस्वीकार गरिएको कांग्रेसका एक नेताले बताए।
एमाले स्रोतका अनुसार गभर्नरको सट्टामा निर्वाचन आयोग वा त्यस्तै अन्य कुनैमा पद कांग्रेसलाई दिने गरी आन्तरिक छलफल चलिरहेको छ। अर्थमन्त्री आफ्नो पार्टीबाट भएकाले पनि गभर्नर पाउनुपर्ने अडान एमालेको छ।
कांग्रेसका ती नेता भने कांग्रेस मन्त्री रहेका निकाय र र एमालेको भागमा परेका मन्त्रालयका निकायमा पनि एमाले नै पद खोज्नु गलत भएको बताउँछन्।
कांग्रेसले ऊर्जामन्त्री आफूहरूको हुँदा पनि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एमालेलाई दिएको ती नेताले बताए। ‘एमालेकै एक्लौटी सरकारजस्तो सबैतिर मन्त्रालयका निकायमा नियुक्ति खोज्नु गलत भइरहेको छ’, ती नेताले भने।
गभर्नर आफूहरूको पक्षमा पार्नकै लागि कांग्रेसले कुलमान घिसिङलाई बर्खास्त गर्न सहमति दिएको ती नेताको दाबी छ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत सरकारले सहमतिमा योग्य मान्छे राष्ट्र बैंकको गभर्नर नियुक्त गर्नुपर्ने बताए। एमालेले कांग्रेसलाई गभर्नर छाड्नुपर्ने अडान उनको छ। ‘सरकार गठबन्धनको भएपछि कांग्रेसको कुरा पनि मान्नुपर्छ। नत्र गठबन्धनको के अर्थ हुन्छ त? त्यही भएर सहमतिमा योग्य मान्छे गभर्नरमा ल्याउनुपर्छ’, डा. महतले भने।
अर्थमन्त्री पौडेल संयोजकत्वमा बनेको गभर्नर सिफारिस समितिले नाम सिफारिस गर्नुअघि कांग्रेस-एमालेको अनौपचारिक बैठक बसेको थियो। गभर्नरका विषयमा सहमति नभएपछि बैठक बिनानिष्कर्ष टुंगिएको थियो।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समितिले गभर्नर नियुक्तिका लागि काम गरिरहेको बताए। उनले भने, ‘चैत २३ गतेभित्र गभर्नर नियुक्ति हुने गरी छलफल भइरहेको छ।’ सत्ता गठबन्धनकै सहमतिमा गभर्नर नियुक्ति हुने उनको भनाइ छ।
अर्थतन्त्र क्षेत्रमा काम गरेको र अनुभवी मान्छे राष्ट्र बैंकको गभर्नर नियुक्ति गरिने उनले बताए। ‘बाहिर चर्चा भएजस्तो गभर्नर नियुक्तिमा समस्या हुँदैन। सहमतिमै नियुक्ति हुन्छ’, उनले भने।
नेपाली कांग्रेसले डा. रवीन्द्रप्रसाद पाण्डे र नबिल बैंकका निवर्तमान सीईओ ज्ञानेन्द्र ढुंगानामध्ये एकजनालाई गभर्नर बनाउन खोजेको छ। नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भइसकेका पाण्डे राष्ट्र बैंक सञ्चालक समिति सदस्य छन्।
एमाले भने डेपुटी गभर्नर नीलम ढुंगानालाई गभर्नर बनाउन लागिपरेको छ। प्रधानमन्त्री ओली, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र अर्थमन्त्री पौडेल नीलमका पक्षमा रहेको अर्थ मन्त्रालयका उच्च अधिकारीहरू बताउँछन्। सिफारिस समितिले सर्टलिस्ट गर्न भने बाँकी छ।
राष्ट्र बैंक ऐन २०५८ को दफा २५ अनुसार सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा एक महिनाअघि सूचना सार्वजनिक रूपमा प्रकाशन तथा प्रसारण गर्नुपर्नेछ। सोहीअनुसार गभर्नर छनोट प्रक्रिया अघि बढेको छ।
सरकारले नयाँ गभर्नर नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। समितिले चैत १७ गतेभित्र आवेदकमध्येबाट सटलिस्ट गर्ने तयारी भइरहेको अर्थ मन्त्रालयले जनाएको छ। सर्टलिस्टमा परेकामध्येबाट एकजनालाई २४ गतेअघि नै गभर्नरमा नियुक्ति गरिन्छ।
प्रचण्ड भन्छन् : गभर्नर नियुक्तिमा तानातान
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र अप्ठेरो अवस्थामा परेको बेला राष्ट्र बैंकको गभर्नर नियुक्तिमा तानातान भइरहेको बताएका छन्। प्रेस सेन्टर नेपालको महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले गर्भनरमा योग्य मान्छे ल्याउनुपर्नेमा सत्ता गठबन्धनभित्र तानातान चलिरहेको बताएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डमा हुने बिमस्टेक सम्मेलन जानुअघि नै गभर्नर नियुक्ति गर्ने तयारीमा अर्थ मन्त्रालय जुटेको छ। ओली १९ गते थाइल्यान्ड जाने कार्यक्रम छ।