मिथिलामा पर्वैपर्व

हिमाल प्रेस १७ चैत २०८१ ९:२६
4
SHARES
मिथिलामा पर्वैपर्व

महोत्तरी- मधेशको प्राचीन मिथिला क्षेत्र चैत शुक्लपक्ष सुरु भएसँगै पर्वमय बनेको छ। आइतबार चैत शुक्ल प्रतिपदासँगै वासन्ती नवारात्र प्रारम्भ भएको छ। यसैभित्र चैतीछठ मनाइने हिन्दू मैथिल परम्परा छ। यसपालि वासन्ती नवरात्रभित्रै इस्लाम धमावलम्बीको मुख्य चाड इद पनि परेको हुँदा यहाँको परिवेश पर्वमय बनेको हो।

हिन्दू परम्पराका मैथिल अहिले वासन्ती नवरात्रको तयारीमा छन्। चैत शुक्ल प्रतिपदासँगै सुरु हुने वासन्ती नवरात्रका अवसरमा मधेसका महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रका देवी शक्तिपीठ र मन्दिरमा यस दिन घटस्थापना गरिँदैछ।

चैत शुक्ल प्रतिपदादेखि नवमीसम्म नौ दिन मनाइने वासन्ती नवरात्रमा दिनैपिच्छे नवदुर्गाको पूजाआराधनाको मैथिल परम्परा छ। हिन्दू परम्परामा वर्षको दुईपटक नवरात्र मनाइन्छ।

असोज शुक्ल प्रतिपदादेखि नवमीसम्मको शारदीय नवरात्र र चैत शुक्ल प्रतिपदादेखि नवमीसम्मको लाई वासन्ती नवरात्र भनिन्छ। दुवै नवरात्रमा समान विधिले नवदुर्गा भवानीको आराधना गरिन्छ।

शारदीय नवरात्रपछि दशमीदेखि पूर्णिमासम्म मान्यजनबाट टीका थाप्ने चलन भने वासन्ती नवरात्रमा छैन। नवरात्रको पहिलो दिन नयाँ माटाका घडामा पूर्णकलश स्थापना गरेर नवदुर्गाको आराधनासँगै चण्डी पाठको परम्परा छ। यी नौ दिनमा देवी दुर्गाका नौ रुप क्रमशः शैलपत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको आराधना गरिन्छ।

नवरात्रको प्रारम्भसँगै मिथिलाका देवी शक्तिपीठमा देवीका भजन गुञ्जन थालेका छन्। महोत्तरीका बर्दिबासस्थित पञ्चधुरा माई मन्दिर, औरहीको भोइलस्थित सोनामाई मन्दिर र जलेश्वरस्थित राजदेवी माई मन्दिरमा वासन्ती नवरात्रका अवसरमा विशेष पूजाआराधनाको तयारी छ।

जलेश्वरनाथ महादेव मन्दिर परिसरस्थित त्रिशूली देवीको मन्दिर पनि आजदेखि सर्वसाधारणको दर्शनका लागि खुला गरिने छ। त्रिशूलीदेवीको मन्दिर शारदीय र वासन्ती दुवै नवरात्र अवधिभरिमात्र सर्वसाधारणको दर्शनका लागि खोलिने परम्परा छ।

मिथिलामा वासन्ती नवरात्रभित्रै बोलीचालीमा चैतीछठ भनिने वासन्ती छठको पनि तयारी छ। मैथिल हिन्दू परम्परामा छठ पनि शारदीय र वासन्ती गरी दुईपटक मनाइन्छ। कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्मको तिथिलाई शारदीय र चैत शुक्ल चौथीदेखि सप्तमीसम्मलाई वासन्ती छठ भनिन्छ।

यसपालि यसै नवरात्रभित्र इस्लाम धर्मावलम्बीको मुख्य चाड इद पनि परेको हुँदा मिथिला क्षेत्र अहिले पर्वमय बनेको छ।

प्रकाशित: १७ चैत २०८१ ९:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast