चर्च ब्वाइजलाई तिलोत्तमा गोल्डकप उपाधि , १२ लाख १२ हजार रुपैयाँ पुरस्कार

हिमाल प्रेस १६ चैत २०८१ २०:३५
8
SHARES
चर्च ब्वाइजलाई तिलोत्तमा गोल्डकप उपाधि , १२ लाख १२ हजार रुपैयाँ पुरस्कार

लुम्बिनी- सर्वाधिक धन राशिको २३ औँ तिलोत्तमा गोल्डकप प्रतियोगिताको उपाधि ‘ए’ डिभिजन विजेता चर्च ब्वाइज युनाइटेडले हात पारेको छ। शनिबार सम्पन्न फाइनलमा विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै चर्चले उपाधि हात पारेको हो।

उपाधिसँगै चर्च ब्वाइजले नगद १२ लाख १२ हजार २ सय २२ रुपैयाँ, गोल्डकप, प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता एपीएफ भने नगद ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ, कप, मेडल, प्रमााणपत्रमा चित्त बुझायो।

प्रतियोगितामा चर्च ब्याईजका अमन लामा म्यान अफ दी सिरिज घोषित हुँदै स्कुटी प्राप्त गरे।

यसगरी चर्च ब्याईजका विवश चौधरी उत्कृष्ट गोलकिपर, चर्च ब्वाइजकै रिचार्ड विलसन उत्कृष्ट फरवार्ड, एपीएफका स्यामोल सुनार उत्कृष्ट मिडफिल्ड, एपीएफका मानबहादुर राना उत्कृष्ट डिफेन्डर तथा चर्च ब्वाइजका आशिक थापामगर उत्कृष्ट प्रशिक्षक घोषित भए। विधागत उत्कृष्ट खेलाडीहरुलाई नगद ३१ हजार रुपैयाबाट पुरस्कृत गरिएको छ।

बुटवल देवीनगरस्थित एन्फा फुटबल एकेडेमी खेलमैदानमा भएको निक्कै रोमाञ्चक खेलमा चर्च ब्वाइजको जितमा रिचार्ड र राज भुसालले गोल गरे। खेलको १९ मिनेटमा चर्चले अग्रता लियो। राज भुसालले पासलाई रिचार्ड विलसनले हेडमार्फत जाली चुमाए।

लगत्तै एपीएफका क्याप्टेन हरि कार्कीको प्रहार आकासियो। धेरै गोलका अवसर गुमाउँदा एपीएफ खेलमा हार व्यहोर्नुपर्‍यो। चर्चका रिचार्ड विलसनको प्रहार एपीएफका गोलकिपर विशाल गुरुङले रोकिदिए।

खेलको ६६ मिनेटमा राज भुसालले जाली चुमाए। डिबक्स बाहिर भुसाललाई लडाएपछि पाएको फ्रिकिक प्रहार अमन लामाले गरे। चर्चका राज भुसाल प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्यसचिव तिरण गौतमले पुरस्कार प्रदान गरे।

यस वर्ष आयोजक करेन्ट रुपन्देही-११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपीएफ क्लब तथा दुई विदेशी टिमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरी आठ टिमको प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: १६ चैत २०८१ २०:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast