निधि निवासमा कांग्रेसका शीर्ष नेताहरूको बैठक, शुक्रबारको घटनामा संलग्नलाई कारबाही गर्न माग

हिमाल प्रेस १६ चैत २०८१ १७:०३
112
SHARES
निधि निवासमा कांग्रेसका शीर्ष नेताहरूको बैठक, शुक्रबारको घटनामा संलग्नलाई कारबाही गर्न माग तस्बिर सौजन्य : विमलेन्द्र निधिको सचिवालय

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिको निवासमा कांग्रेसका शीर्ष नेताहरुको बैठक बसेको छ। मध्यबानेश्वरस्थित निधि निवासमा कांग्रेसका शीर्ष नेताहरुको अनौपचारिक बैठक बसेको हो।

बैठकमा निधिसहित उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, पूर्वउसभापति गोपालमान श्रेष्ठ, विजय गच्छदार, कृष्णप्रसाद सिटौला र डा. शशांक कोइराला सहभागी थिए।

करिब दुई घण्टासम्म चलेको शीर्ष नेताहरुको बैठक शुक्रबार राजधानीमा भएको राजवादीहरुको अराजक प्रदर्शनका क्रममा भएका क्षतिलगायतका विषयमा केन्द्रित रहेको निधिको सचिवालयले जनाएको छ।

नेताहरुको अनौपचारिक बैठकले प्रतिगमनकारी एवं आपराधिक घटनाको भत्र्सना गर्दै जनताको जीउधनको सुरक्षामा कडाइ गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

त्यस्तै समाचार संकलनका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुरका सबिन महर्जनको निधनप्रति दुःख व्यक्त गर्दै बैठकले घाइतेहरुको शीघ्र स्वास्थय लाभको कामना गरेको छ।

नेताहरूको बैठकले तीनकुनेमा भएको प्रदर्शनको घटनाको छानबिन गरी घटनामा संलग्न दोषीमाथि तत्काल कारबाही गर्न माग गरेको छ। नेताहरुले नेकपा एकीकृत समाजवादीको कार्यालय, कान्तिपुर टेलिभिजन, अन्नपूर्ण पोस्ट दैनिक, अनलाईन खबरमा भएको आक्रमण, जडिबुटी प्रशोधन केन्द्र तथा भाटभटेनीलगायतका व्यपारिक प्रतिष्ठानमा भएका तोडफोड र लुटपाटको घटनाको निन्दा गर्दै यस कार्यमा संलग्नलाई कानुनी दायरमा ल्याउन सरकारलाई ध्यानाकर्षण गराएका छन्।

बैठकमा कांग्रेसको १५ औँ महाधिवेशनका साथै पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिलगायतका विषयमा समेत छलफल भएको थियो।

लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको पक्षमा जनमतलाई सुदृढ पार्ने र नेपाली कांग्रेसको संगठनात्मक सुदृढीकरणका लागि पार्टीलाई एकताबद्ध गराएर संगठन परिचालन गर्नु आजको प्रमुख आवश्यकता भएको बैठकले निष्कर्ष निकालेको छ।

आगामी दिनमा अन्य शीर्ष नेताहरुलाई समावेश गरी यस किसिमका बैठकलाई निरन्तरता दिने नेताहरुबीच समझदारी भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast