नियात्रा

चट्टानसँग सामुद्रिक छालको पौँठाजोरीमा रमाउँदा

ईश्वर पोखरेल १६ चैत २०८१ १६:५३
96
SHARES
चट्टानसँग सामुद्रिक छालको पौँठाजोरीमा रमाउँदा

हामी कोलम्बोको ट्रेन स्टेसनको पाँच नम्बर प्लेटफर्ममा रेल पर्खिरहेका छौँ गाल जानका लागि। यही ट्रेनमा छ- हाम्रो रिजर्भेसन सिट। यो ट्रेन नभेटिने हो कि भन्ने भयले हामीले कोलम्बोका कतिपय दर्शनीय स्थलबाट बाहिरिन हतार गरेका छौँ। जस्तो, लोटस टावरको २९औँ तलाबाट लिफ्टमा हतारहतार झरेर यता दौडेका हौँ हामी। २:२० भई नै सकेको थियो हामी स्टेसनमा आइपुग्दा। २:४० बजेको हाम्रो ट्रेन।

आज फागुन ५, २०८१ अर्थात् १७ फेब्रुअरी २०२५ हो। हामी हिजो आइपुगेका हौँ कोलम्बो।

गाल विश्व सम्पदा सूचीमा सूचीकृत श्रीलंकाका आठ स्थलमध्ये एक हो। यो श्रीलंकाको दक्षिण पश्चिम कुनामा अवस्थित सहर हो। यो श्रीलंकाको पाँचौँ श्रेणीको सहर पनि हो। पुर्तगालीले गाललाई प्रमुख व्यापारिक बन्दरगाहका रूपमा विकास गरेका हुन्। यस सहरले विकासको उच्च स्तर १८ औँ शताब्दीमा डच-उपनिवेश कालमा हासिल गरेको हो। यो दक्षिण एसियामा पुर्तगाली शैलीमा निर्माण भएको सहरको दृष्टान्त पनि हो।

२०८१ साल फागुन ४ गते (तदनुसार १६ फ्रेबुअरी, २०२५) देखि ११ फागुनसम्मका लागि सार्थक र म श्रीलंकाको पर्यटकीय भ्रमणमा निस्केका हौँ। पोहोर हामी परिवारका चारैजना वैदेशिक भ्रमणमा निस्किएका थियौँ। यसपटक भने मेरो जरुरी काम छ भनेर सम्यक हामीसँग आएन। सम्यकले आँटेको काममा आफू बस्दा उसलाई सहज हुन्छ भन्ने कुरा गरेर कौशु पनि आइनन्। अन्तत: हामी दुईजना मात्र आयौँ।

आज बास बस्न हामीले गालको ‘ह्याभलक रोड’ स्थित ‘जयलत होमस्टे’मा पुग्नुपर्छ।

काठमाडौँमा मेरा एकजना साहित्यिक मित्र हुनुहुन्छ- राजेशमान केसी। उहाँ वैदेशिक भ्रमणका लागि बारम्बार निस्किनुहुन्छ। यो भ्रमणको मिति तय भइसकेपछि एउटा कार्यक्रममा भेट हुँदा मैले सोधेको थिएँ- ‘श्रीलंका जानुभएको छैन?’ अनि लगत्तै भनेको थिएँ- ‘केही लेख्नु भएन त? पठाउनोस् न।’

उहाँसँग लिखित सामग्री केही रहेनछ।

‘स्वर्गीय तारादेवी संगीत प्रतिष्ठान’को यस वर्षको राष्ट्रिय नाचघरमा भएको वार्षिक कार्यक्रममा म आमन्त्रित थिएँ। केही यता ‘नेपाल यातायात’ को रुटमा बाइकमा भन्दा बसमै यात्रा गर्न मलाई सहज लाग्छ। बसबाट पुतलीसडकमा ओर्लेर एकेडेमीतर्फको पेटीबाट जाँदै गर्दा मैले आफू अघिल्तिर पातलो दारीसहितको व्यक्तिलाई देखेँ। मनमा लाग्यो- कृष्ण ‘बाउसे’ हुन् क्यार! उनले एकेडेमीतिर अलिक चासोका साथ हेरेको देखेँ; म आफ्नो अनुमानमा अझ दृढ भएँ। मैले अलिक लम्किएर उनलाई भेटेँ र भने- ‘तपाईँ कसो कसो मलाई कृष्ण ‘बाउसे’ जस्तो लाग्छ।’

त्यसअघि हामी बीच देखभेट भएकै थिएन।

उनी पनि त्यही कार्यक्रममा जाँदै रहेछन्। कार्यक्रमभरि हामी सँगै बस्यौँ। हलमा सांगीतिक कार्यक्रम चल्दाचल्दै बाउसे सरले एक भद्र महिलालाई सम्बोधन गरेर भन्नुभयो- ‘कहिले आउनुभयो- श्रीलंकाबाट?’

ती भद्र महिला श्रीलंकाका बारेमा मेरा लागि सामान्य जानकारीको स्रोत हुन सक्ने सम्भावना थियो। तर सांगीतिक कार्यक्रम चल्दाचल्दै बीचैमा आफूसँग परिचयधरि नभएकी महिलालाई श्रीलंकाका बारेमा म कसरी सोधखोज गर्न सक्थेँ र!

पोहोरको भ्रमणको समग्र जिम्मेवारी हामीले दुई छोराहरूलाई सुम्पिएका थियौँ। यसपटक मसँग एउटा छोरो मात्र निस्केको छ। श्रीलंकनहरू कि सिंहली र तमिल भाषा जान्दछन्; कि त अङ्ग्रेजी भाषा। सिंहली र तमिल श्रीलंकाका आधिकारिक भाषा हुन्। श्रीलंकाको संविधानले अंग्रेजीलाई सम्पर्क भाषाका रूपमा परिभाषित गरेको छ। यहाँ अंग्रेजी भाषालाई शिक्षा र व्यावसायिक उद्देश्यका लागि प्रयोग गरिन्छ। श्रीलंकाको साक्षरता ९५ प्रतिशतभन्दा माथि छ। अत: अंग्रेजी भाषामा सबैजसो श्रीलंकनको सहज पहुँच छ। यसरी सामान्य श्रीलंकनसँग हाम्रो संवादको माध्यम एउटा भाषा मात्र हुन सक्ने भयो।

प्लेटफर्ममा गोरा पर्यटक र श्रीलंकन सराबरी जस्तै देखिन्छन्।

आच्या! ‘ट्रेन  आउने प्लेटफर्म चेन्ज भयो; ट्रेन चढ्न आठ नम्बर प्लेटफर्ममा जानुपर्छ’ भन्ने सूचना २:३२ बजे पो आउँछ!

सबै दौडादौडी गर्न थाले। दौडन हामीलाई पनि असहज छैन। तर यति छोटो समय राखेर प्लेटफर्म परिवर्तन गर्नुपर्छ भन्ने सूचना किन जारी हुन्छ?

ट्रेनको लिक फोहरले भरिएको हुन्छ भन्ने मेरो सामान्य बुझाइ छ। यहाँ त्यति धेरै फोहर त देखिँदैन; तर हाँपझाँप गर्दै सोझै ओर्लन र उक्लिन मन मान्दैन। एउटा प्लेटफर्मबाट अर्कोमा जानका लागि अलिक तल सिँढी छ; हामी त्यतै लाग्छौँ।

ट्रेनमा चढेर आफ्नो सिटमा बसिसकेपछि हामी तमाम अनिश्चितताबाट मुक्त हुन्छौँ।

गाल उत्तरमा कोलम्बो र दक्षिणपूर्वमा मतारासँग सडक मार्ग र रेलमार्गले जोडिएको सहर हो। कोलम्बोबाट आउँदा भने हिन्दमहासागरको किनारैकिनार रहेछ- रेलको लिक। यही महासागरसँगै जोडिएर रहेका देखिन्छन्- कतिपय बस्ती। नदीका किनारमा बस्ती रहँदैनन्; बाढीको डर हुन्छ। समुद्रमा बाढीको डर भएन; आँधीतुफानले पुर्‍याउने क्षतिको आकलन गरेरै राखिएका होलान्- यी बस्ती। दैवी विपद्को उचित स्तरमा पूर्वतयारी पनि होला।

यो एक्सप्रेस ट्रेन हो। केही स्टेसनमा यो पनि रोकिन्छ तर अत्यन्त छोटो समयका लागि। यी स्टेसनमा झर्ने र उक्लिनेको दौडादौड हेर्न लायक हुन्छ। यिनीहरू बानी परेझैँ छन्; चढ्न/झर्न भ्याउँछन्।

हामीलाई एउटा समस्या भने छ। त्यो के भने यी बस्तीहरूको नाम स्थानीय लिपिमा मात्र छ; अंग्रेजीमा छैन। हामीलाई भने यी बस्तीका नाम टिप्न मन छ।

लौ, यहाँ त स्थानीय बस्तीका नाम मात्र होइन; स्टेसनको नाम पनि अंग्रेजीमा लेखिएको देखिँदैन त! हामीले हामी झर्ने स्टेसनका बारेमा कसरी थाहा पाउने हँ!

यो अवस्थाको बोध गरिसकेपछि सार्थक मोबाइलमा/म्यापमा बढी व्यस्त रहन थाल्यो। अब प्रत्येक पटक ट्रेन रोकिँदा हाम्रो गन्तव्य यति मिनेट पर छ भनेर ऊ मलाई आश्वस्त बनाउन थाल्यो। उसै पनि म उसको क्षमतासंग आश्वस्त छु।

हामी लगभग ४:४५ मा झर्‍यौँ- ट्रेनबाट। गालमा राम्रैसँग घाम लागेको छ। हामी अब टुकटुक खोज्दैछौँ; हामीलाई रुममा झोला थन्क्याएर समुद्र किनारमा पुग्न हतार छ; समुद्रमा सूर्यास्तको चित्ताकर्षक दृश्य हेर्न भ्याउनु छ।

श्रीलंकाको दक्षिणी प्रदेशको प्रादेशिक राजधानी हो- गाल। श्रीलंका नौ प्रदेशमा विभाजित छ। गालका साथै मध्यप्रदेशको क्यान्डी, पूर्वी प्रदेशको त्रिन्कोमाली, उत्तर-मध्य प्रदेशको अनुराधापुरा, उत्तरी प्रदेशको जाफ्ना, उत्तर पश्चिमी प्रदेशको कुरुनेगल, सबरगमुवा प्रदेशको रत्नपुरा, उवा प्रदेशको बदुल्ला र पश्चिमी प्रदेशको कोलम्बो प्रादेशिक राजधानी हुन्। प्रादेशिक राजधानी भएकाले गालमा चहलपहल तीव्र छ। समस्या के भने राजधानीजस्ता ठूला सहरमा टुकटुक पाउन भने गाह्रो हुने रहेछ।

केही समयको प्रयासपछि एउटा टुकटुक आयो। ‘पिक मी’ मा टुकटुक बोलाउँदा त्यसमा ढोका खोलेर सिटमा बसी दिए हुन्छ; हाम्रो गन्तव्य उसलाई थाहा छ। केही घुम्ती घुमेपछि टुकटुक रोकियो। सार्थकले भन्यो- ‘लोकेसन यहीँ देखाउँदो रहेछ; हाम्रो होमस्टे भने दुई घर पर्तिरको हो।’

हामी झोला बोकेर गेटनेर पुगेका मात्र के थियौं; हँसिलो अनुहारसहित गेटमै आइपुगिन्- ४५-५० वर्षकी एक महिला। उनैले खोलिन्- गेट। रुमको ढोका पनि उनैले खोलिन्। सामान्य औपचारिक कुरा भयो। अब रुमको साँचो हाम्रो हातमा आयो। यो गालको ‘ह्याभलक रोड’ स्थित ‘जयलत होमस्टे’ हो।

हामीलाई समुद्र किनारमा पुग्न निस्किहाल्नु छ।

हामीले फेरि टुकटुक डाक्यौँ र दौडियौँ- समुद्र किनारतिर।

गाल डच शासकले निर्माण गरेको बन्दरगाह हो। यसको किनारा कडा चट्टानले बनेको छ। यहाँ समुद्रको छाल त्यही कडा चट्टानसँग निहुँ खोज्दै आउँछ र हार्छ। यो क्रम शताब्दीऔँदेखि चालु छ। यही किनारामा जोडेर निर्माण गरिएका छन् किल्ला। अब यी भग्नावशेषका रूपमा छन्। सूर्यास्तको सुन्दर दृश्य हेर्न भग्न-किल्लामाथि पर्यटकहरू जम्मा हुँदैछन्।

हामी यिनैमा मिसिन्छौँ।

घाम अलिक माथि नै छ। हामी किनाराको चट्टानसँग जोरी खोज्ने छालहरू हेर्दै रमाएका हुन्छौँ। एउटा छाल आउँछ र चट्टानमा बजारिन्छ; त्यसैगरी बजारिने नियति लिएर अर्को छाल आउँदैछ; अर्को छाल विकास हुँदैछ; अर्को उठ्ने तरखरमा छ। छालहरू एकएकवटा तुजुक लिएर आउँछन् र किनाराको चट्टानमा बजारिएर चुरचुर हुन्छन्। छाल आउने र बजारिने क्रम टुट्दैन; टुटेकै छैन; यो चौबिसै घन्टा चालु रहन्छ।

चकमन्न रातमा छाल र चट्टानको यस्तो अनवरत ‘पौँठाजोरी’ हेर्न यतै बस्न मिल्ल्ला/नमिल्ला हँ !

लौ; यहाँको मौसमको कुनै भर नहुने रहेछ; कतिबेला कतिबेला आएर बादलले सूर्यलाई ढाकी पो सकेछ।

आज सूर्यास्त हेर्न नपाइने भयो।

गोरा पर्यटकहरू बिस्तारबिस्तार फर्किन लागे। सूर्यास्तको दृश्य हेर्न पाइएन भन्ने निचोडमा हामी पनि पुगिसक्यौँ। तर हामी त सामुद्रिक छाल र किनाराका चट्टानका बीचको यो जोसिलो ‘भेटघाट’ हेरेरै केही घन्टा रमाउन सक्छौँ।

पानी छिट्ट्याउन थाल्यो। हामीले टेरेनौँ।

साँझ राम्रैसँग छिप्पिएपछि मात्र हामी फर्किने तरखरमा लाग्यौँ।

हिँड्दै चोकसम्म आइपुग्दा ओत लाग्नैपर्ने स्तरको पानी पर्न थाल्यो।

हामीले डिनर पनि गर्न बाँकी छ।

हामी ‘हंग्री रेस्टुरेन्ट’मा पस्दानपस्दै दर्के झरी पर्‍यो।

हामी डिनर गरेर हाम्रो यहाँको ‘गुँड’मा फर्कियौँ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast