सहभागिता नेपाल-भारत संस्कृत सम्मेलनको, चासो संस्कृत विद्या पुनरुत्थानको

डा. उमेशप्रसाद घिमिरे १६ चैत २०८१ १५:३३
106
SHARES
सहभागिता नेपाल-भारत संस्कृत सम्मेलनको, चासो संस्कृत विद्या पुनरुत्थानको

चैत ८ र ९ गते भारतको हरिद्वार पतञ्जलि विश्वविद्यालयमा नेपाल-भारत संस्कृत सम्मेलन सम्पन्न भयो। नीति अनुसन्धान प्रतिष्ठान नेपाल र केन्द्रीय संस्कृत विश्वविद्यालय, दिल्लीको संयुक्त आयोजनामा संस्कृत सम्मेलन गरिएको थियो।

भारतका विभिन्न विश्वविद्यालयका कुलपति तथा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिका साथै संस्कृत‌का विशिष्ट विद्वान् एवम् प्राध्यापकहरुको उल्लेखनीय सहभागितामा सम्पन्न उक्त द्विदिवसीय संस्कृत सम्मेलन तीन सत्रमा आयोजना गरिएको थियो।

आयोजक केन्द्रीय संस्कृत विश्वविद्यालयका कुलपति प्रोफेसर डा. श्रीनिवास बरखेडीको सभाध्यक्षतामा प्रथम सत्रको अयोजना गरिएको थियो।

उद्‌घाटन तथा स्वागत-अभिनन्दनपरक प्रथम सत्रको प्रमुख अतिथिका रूपमा आचार्य महामण्डलेश्वर श्री १००८ स्वामी पुण्यानन्द गिरीजी महाराज मञ्चासीन हुनुहुन्थ्यो भने नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. धनेश्वर नेपाल, कुलपति प्रोफेसर डा. शुकान्त सेनापति लगायतको विशेष आतिथ्य थियो।

त्यसैगरी आयोजनास्थल पतञ्जलि विश्वविद्यालयका कुलपति आचार्य बालकृष्णको सम्मेलनमा विशेष सह‌भागिता थियो। समारोहमा समुपस्थित नेपाल तथा भारतका समस्त अतिथिगणलाई केन्द्रीय संस्कृत विश्वविद्यालयका प्रकाशन निर्देशक प्रा. डा. काशीनाथ न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो।

उहाँले संस्कृतका जननी राष्ट्र‌का रूपमा नेपाल र भारत दुवै राष्ट्र रहेको उल्लेख गर्दै संस्कृतका मनीषिलाई आयोजकका तर्फबाट न्यानो अभिवादन गर्नुभएको थियो।

भौगोलिक एवं राजनीतिक दृष्टिले अलग भए पनि संस्कृत र संस्कृतिका दृष्टिले नेपाल र भारत समान राष्ट्र रहेको भन्दै नेपाल र भारतको सम्बन्धगत प्रगाढतालाई न्यौपानेले प्रकाश पार्नुभएको थियो।

सभाध्यक्ष प्रोफेसर श्रीनिवास बरखेडीले वीजमन्तव्य राख्ने क्रममा संस्कृत सम्मेलन किन र केका लागि भन्ने विषयमा प्रस्ट पार्दै संस्कृतको प्रचार-प्रसार तथा समुन्नतिका लागि नेपाल र भारतले सहकार्य गर्नु पर्ने धारणा व्यक्त गर्नुभएको थियो।

भारतवर्षभित्र नेपाल र भारत दुवै राष्ट्र अटाउन सक्ने भन्दै संस्कृतको उत्थान नै भारतवर्षको उत्थान हो भन्ने विचारसमेत अभिव्यक्त गर्दै संस्कृत सम्मेलनलाई सभ्य र भव्य बनाउन समुपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि तथा समस्त सहभागीप्रति हार्दिक अभिनन्दन एवम् स्वागत- वाक्पुष्प समर्पण गर्नुभएको थियो।

वैदिक संस्कृति जोगाउन संस्कृत बाँच्नु पर्ने संस्कृत बाँचेमात्र भारतवर्ष बाँच्ने बरखेडीको मन्तव्यसार थियो। समारोहका विशिष्ट अतिथि नेसंविका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले नेपाल भारतको सम्बन्ध अनादिकालदेखि अविच्छिन्न रही आएको तथ्य उल्लेख गर्दै संस्कृत सम्मेलनमा आमन्त्रण गरी सहभागी हुने अवसर दिलाएकामा आयोजकप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो।

हजारौँ वर्षदेखि विक्रम संवत्‌को कालगणनादेखि लिएर चाड-पर्व, संस्कार-संस्कृति एवम् धर्म-परम्परा आदिमा समानता रहेको नेपाल र भारतको अभिन्न सम्बन्धमाथि प्रकाश पार्दै नेपाल भारत दुवै राष्ट्रको समान सम्पत्तिका रूपमा रहेको संस्कृतलाई जोगाउनु दुवै राष्ट्र‌को दायित्व रहेको प्रा.डा. नेपालको भनाइ थियो।

त्यसैगरी २०८२ असारमा नेपालको काष्ठमण्डपमा हुने विश्व संस्कृत सम्मेलनमा गरिमामय समुपस्थितिका लागि उपकुलपति नेपालले विद्वत्सभासमक्ष सादर आमन्त्रण गर्नुभएको थियो।

आयोजक संस्थामध्ये नीति अनुसन्धान प्रतिष्ठान नेपालका संयोजक दीपककुमार अधिकारी‌ले गत वर्ष नेपालमा सम्पन्न संस्कृत सम्मेलनले पारित गरेको पञ्चसूत्रीय संकल्पलाई पूर्ण गर्न तर्फ लागिएको, तीमध्ये नेपालका हस्तलिखित पाण्डुलिपि ग्रन्थ सम्पादन र प्रकाशनको चरणमा रहेको, सम्मेलनसँग सम्बद्ध कार्यपत्र तथा लेख रचना प्रकाशन गरिएको, नेपालमा नीति अनुसन्धान प्रतिष्ठानको कार्यालय स्थापना र सञ्चालन गरिएको, प्रत्येक वर्ष पालैपालो नेपाल र भारतमा संस्कृत सम्मेलन आयोजना गर्न थालिएको र गुरुकुलमुखी कार्यक्रमअन्तर्गत नेपालका गुरुकुलका विद्यार्थीलाई भारतमा ल्याई शास्त्रार्थ प्रशिक्षण दिइएको उल्लेख अधिकारीले गर्नु भएको थियो।

समारोहका विशिष्ट अतिथि पतञ्जलि विश्वविद्यालयका कुलपति आचार्य बालकृष्ण सुवेदीले संस्कृत वाङ्‌मयमा निहित ज्ञानविज्ञानलाई उत्खनन गरी समाजसामु पस्किनु आजको आवश्यकता रहेको उल्लेख गर्दै आयुर्वेदको माध्यमले आफ्नो मातृभूमि नेपाललाई विश्वसामु चिनाउन आफू तल्लीन रहेको तर नेपाल सरकारबाट आफूले चाहेझैँ सहयोग नपाएको भन्दै दुःख व्यक्त गर्नुभएको थियो। आयुर्वेदको उद्गमभूमि नेपाल नै हो, नेपालकै हिमाली जडिबुटीले जुनसुकै रोग निराकरण गर्ने विश्वास प्रकट गर्दै अझै पनि नेपालमा पतञ्जलि विश्वविद्यालय‌ले आयुर्वेदसम्बन्धी कार्यका साथै गुरुकुल सञ्चालन गर्नका लागि क्रियाशील रहेको तथ्यसमेत सभासमक्ष अभिव्यक्त गर्नुभएको थियो।

जहिले पनि पराश्रित हुने प्रवृत्तिलाई त्यागेर आत्मनिर्भर बन्नका लागि नेपाललाई परामर्श दिने क्रममा भारत र नेपाल दिदीबहिनी भूमि हुँदाहुँदै पनि सानीमा कहिल्यै आमा हुन नसक्ने ध्वन्यात्मक (साङ्केतिक) भावसमेत आचार्य बालकृष्णले प्रकट गर्नुभएको थियो। भारतवर्षको गौरव नेपालमै सुरक्षित रहेको छ।

भारतमा विक्रमलाई काल्पनिक मान्ने धेरै छन् तर नेपालमा अद्यापि विक्रम संवत् चलिरहेको छ, विश्वामित्र, ऋष्यशृङ्ग, वाल्मीकि, व्यास, पाणिनि, वशिष्ठ आदि ऋषिमहर्षिको जन्मस्थल तथा साधनाभूमि नेपालमा आध्यात्मिक जागरण तथा सांस्कृतिक उत्थानका लागि नेपाली जनता नै लागि पर्नुपर्ने स्पष्ट धारणासमेत आचार्य बालकृष्णले राख्नु भएको थियो ।

उद्‌घाटन समारोहको अन्तमा प्रमुख अतिथि पुण्यानन्द गिरिजी महाराजले नेपाल र भारतको सम्बन्ध परापूर्वकालदेखि रहेको, दुवै राष्ट्र राजनीतिक दृष्टिले पृथक् भए पनि भाषिक, सांस्कृतिक, धार्मिक, जीवनशैली, रीतिरिवाज, परम्परा आदिका दृष्टिले अभिन्न रहेको भन्दै दुबै राष्ट्र‌को सामूहिक सम्पदाका रूपमा रहेको संस्कृतको प्रचारप्रसार तथा अध्ययन अध्यापनबाट नै राष्ट्र‌को समुन्नति हुने विचार राख्दै आफ्नो जन्मस्थल नेपालदेखि संस्कृत सम्मेलनका लागि नेपाल संस्कृत विश्वविद्यालयका उपकूलपति प्रा.डा. धनेश्वर नेपालको नेतृत्वमा समुपस्थित विद्वद्‌गण तथा प्राध्यापकवर्गप्रति शुभाशीर्वाद र सम्मेलनको सफलताका लागि शुभाशंसा प्रदान गर्नुभएको थियो।

त्यसैगरी स्वामीजीको करकमलबाट सहभागी समस्त संस्कृत समुपासकलाई दोसल्ला ओढाई स्वागत- अभिनन्दन गर्दै प्रथम सत्रको समापन भएको थियो।

समारोहको द्वितीयसत्र पत‌ञ्जलि विश्वविद्यालयको विशाल सभाहलमा उत्तराखण्ड,भारतका मुख्यमन्त्री श्रीपुष्करसिंह धामीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । उक्त समारोहमा आचार्य महामण्डलेश्वर पुण्यानन्द गिरिजी महाराज, भारतका विभिन्न विश्वविद्यालयका कुलपतिहरू, पतञ्जलि योगपीठका परियोजनाकार बाबा रामदेव, पतञ्जलि विश्वविद्यालयका कुलपति आचार्य बालकृष्ण, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.धनेश्वर नेपाल, साध्वी देवप्रिया, केन्द्रीय संस्कृत विश्वविद्यालयका कुलपति प्रोफेसर श्रीनिवास बरखेडी, विधायक, सचिवलगायत नेपाल र भारतका प्राध्यापक, विद्यार्थी आदि हजारौँको सहभागिता थियो।

केन्द्रीय संस्कृत विश्वविद्यालयको आयोजनामा चैत ५ देखि ८ गतेसम्म सम्पन्न अखिल भारतीय शास्त्रोत्सव तथा शास्त्रीय प्रतिस्पर्धामा सहभागी दुई हजारभन्दा बढी प्रतिस्पर्धीमध्ये विभिन्न विधामा सर्वोत्कृष्ट स्थान प्राप्त गर्न सफल सयौँ विद्यार्थी प्रतिभाहरूलाई मुख्यमन्त्री तथा बाबा रामदेवका करकमलबाट नगदराशि पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

पूर्व मुख्यमन्त्री-पूर्व शिक्षामन्त्री, संस्कृतसेवी, डा. रमेश पोखर्याल नि:शङ्कले विभिन्न संस्कृत विश्वविद्यालयका कुलपति, उपकुलपति विशिष्ट साधुसन्त, संस्कृतका छात्र, विद्वान्, समुपासक समुपस्थित भएर गरिएको यो संस्कृत-सम्मेलन देशका लागि सञ्जीवनी बुटी बन्न सकोस् भन्ने शुभकामना दिनुभएको थियो।

उहाँले नेपालसहितका कुलपति, उपकुलपति साधुसन्त-महात्मा-विद्वान्, संस्कृतका छात्र सबै समादरणीय व्यक्ति समुपस्थित पुण्यक्षेत्र दर्शनका लागि आएको हुँ, यो गङ्गाको भूमि हो, भारतीय संस्कृतिको प्राण हो, यो हरिहरक्षेत्र हो भन्दै वेद, उपनिषद, आयुर्वेद आदि प्रादुर्भाव भएको यो राज्यको राजभाषाका रूपमा संस्कृतलाई विधानमा राख्दै एकैपटक तीन केन्द्रीय संस्कृत विश्वविद्यालय स्थापना गर्ने सौभाग्य आफूलाई प्राप्त भएको बताउनु भएको थियो।

उहाँले आश्रममा बसेर संस्कृत शिक्षा ग्रहण गरेको उल्लेख गर्दै अणुपरमाणुको चिन्तन गर्ने विश्वकै प्रथम वैज्ञानिक कणाद, गणितको सिद्धान्त प्रतिपादन गर्ने भास्कराचार्य, वैज्ञानिक व्याकरणका निर्माता पाणिनि, अर्थशास्त्रका निर्माता कौटिल्य आदिको साधनाभूमि यही भूमि भएकाले संस्कृतको प्रचारप्रसार गर्नु यो देशको प्रमुख दायित्व रहेको बताउनुभयो।

भारतका प्रायः सबै भाषाको जननी संस्कृत भएकाले, संस्कार संस्कृतिको मूल संस्कृत भएकाले संस्कृत नै हाम्रो अस्तित्व हो भन्ने उद्बोधनमूलक प्रवचन गर्नुभएको थियो । मुख्यमन्त्री पुष्करसिंह धामीले संस्कृतमा नै आफ्नो सम्बोधन प्रारम्भ गर्दै संस्कृत सम्मेलनको औचित्य र महत्ता प्रकट गर्नुभएको थियो। भारत देशभर र छिमेकी राष्ट्र नेपालदेखि समुपस्थित विशिष्ट विद्वानको समागममा सहभागी हुन पाउँदा आफू गौरवान्वित भएको उहाँको भनाइ थियो।

उहाँले विभिन्न विश्वविद्यालयका कुलपति र भविष्यका कुलपति एवं कर्णाधार प्रतिभाशाली छात्रहरूलाई देवभूमि उत्तराखण्डमा स्वागत, बधाईसहित अभिनन्दन प्रकट गर्नुभएको थियो। जुन उद्देश्यले यति भव्य सहभागितामा सम्पन्न सम्मेलनले संस्कृतको विरासतलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सफल रहेको टिप्पणी उहाँको थियो।

जसरी छोटो उमेरममै  शङ्कराचार्यले वैदिक धर्मलाई प्रचारप्रसार गर्नुभयो त्यसैगरी उहाँले शास्त्रार्थसभामा प्रतिस्पर्धी प्रतिभाशाली छात्रछात्रालाई देवदूतका रूपमा चित्रण गर्नुभएको थियो। उहाँले भन्नुभएको थियो, ‘भौतिक तथा आध्यात्मिक सन्तुलनका लागि पौरस्त्य शास्त्र समर्पित छ । संस्कृतमै ध्यान, योग, आयुर्वेद, अङ्कगणित, वीजगणित, वैदिक-अवैदिक दर्शन जीवविज्ञान, खगोलशास्त्र आदिको गूढ रहस्य निहित छ, जसलाई देखेर आधुनिक वैज्ञानिकसमेत आश्चर्यचकित छन्।’

उहाँले यस्ता रहस्य नयाँ पुस्तामा सार्नु आजको आवश्यकता हो भन्दै उहाँले त्यसका लागि समाजमा अघि बढ्न सबैमा प्रेरित गर्नुभएको थियो। धार्मिक मठमन्दिरको निर्माण तथा विकासका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत सबै राजनेता अहोरात्र खटिएको बताउँदै योग तथा आयुर्वेदलाई विश्वसामु पस्किएर पौरस्त्य ज्ञानपरम्पराको उत्खनन गर्ने बाबा रामदेव र आचार्य बालकृष्णप्रति उहाँले आभार प्रकट गर्नुभएको थियो ।

बाबा रामदेवले उत्तराखण्ड प्रान्त भारतदेशकै आध्यात्मिक राजधानी रहेको चिनाउँदै यो प्रान्तको राजभाषा संस्कृत हो भन्नुभयो। उहाँले संस्कृत पढेकैले विश्वमा विजय हासिल गर्ने धारणा राख्नुभएको थियो।

जगत्‌मा कर्मको पूजा गर्नु पर्ने, संस्कृत पढ्ने उत्साही हुनुपर्ने, सम्पूर्ण ज्ञानको भण्डार संस्कृतको प्रचारप्रसारमा संस्कृतका विद्वान् लाग्नुपर्ने, संस्कृत र संस्कृतिको समन्वय गर्नु पर्ने, संस्कृतमूलक राष्ट्र निर्माणमा लाग्नुपर्ने, भारतका सबै भाषाको जननी संस्कृत भाषाको उत्थानमा सबै गौरवान्वित हुनुपर्ने विचार उहाँको थियो।

उहाँले समारोहमा समुपस्थित मुख्यमन्त्री, पूर्व मुख्यमन्त्री, विश्वविद्यालयका कुलपतिहरू र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिलगायत प्राध्यापकसहित संस्कृतसमुपासक समस्त छात्रगणप्रति हार्दिक आभार समर्पणसहित सभा विसर्जन गर्नुभएको थियो।

उक्त समारोहमा बौद्ध-जैनदर्शन, वेदभाष्य-व्याख्यान, आयुर्वेदभाषण, भारतीयविज्ञान-भाषण, व्याकरण सलाका, साहित्य सलाका, न्याय सलाका, मीमांसा सलाका, वेदान्त सलाका, ज्योतिष सलाका, पुराण-इतिहास सलाका, भारतीय गणित सलाका, अर्थशास्त्र सलाका, काव्य सलाका, शास्त्रार्थविचार, काव्य-कण्ठपाठ, अमरकोष-कण्ठपाठ, अष्टाध्यायी कण्ठपाठ, धातु‌रूप-कण्ठपाठ, भगवद्गीता-कण्ठ पाठ, सुभाषित-कण्ठपाठ, रामायण-कण्ठपाठ, उपनिषद्-कण्ठपाठ, समस्यापूर्ति अक्षरश्लोकी, शास्त्रीय प्रतिस्पर्धा आदि परीक्षामा सर्वप्रथम हुन सफल र भारतका विभिन्न शैक्षिक संस्थाबाट सहभागी भई सर्वप्रथम हुन सफल छात्र-छात्रालाई प्रमुख अतिथिबाट पुरस्कार प्रदान गरिएको थियो।

संस्कृत सम्मेलनको तृतीय सत्र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालको अध्यक्षता, सोमनाथ संस्कृत विश्वविद्यालयका कुलपति प्रो. शुकान्त सेनापतिको प्रमुखातिथ्य तथा नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघका सभापति प्रा.डा. मुकुन्दप्रसाद लामिछानेको विशिष्टातिथ्यमा सम्पन्न भएको थियो।

समारोहमा नेपाल र भारतको सम्बन्ध, नेपाल र भारतको साझा सम्पत्ति संस्कृत, संस्कृतको उत्थानमा गुरूकुलको भूमिका आदि विषयमा परिचर्चा गरिएको थियो।

समारोहमा महेश संस्कृत गुरुकुलका आचार्य फणीन्द्र‌प्रसाद पौडेल, कालीगण्डकी गुरुकुलका आचार्य चैतन्यकृष्ण, वाल्मीकि विद्यापीठका आचार्य डा.भवानीशङ्कर अधिकारी, नेपाल संस्कृत विश्वविद्यालयका आचार्या डा.विमला शर्मा, वाल्मीकि विद्यापीठकी सहायिका प्राचार्या डा. रमा भट्टराई, नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघका पूर्वसभापति प्रा. डा. शान्तिकृष्ण अधिकारी, पिण्डेश्वर विद्यापीठका प्रा.डा. रमेशप्रसाद घिमिरे, वाल्मीकि विद्यापीठका पूर्वप्राचार्य प्रा. डा. भागवत ढकाल, ने.सं.वि. वाल्मीकि विद्यापीठ साहित्य विभागका अध्यक्ष प्रा.डा. जीवन अधिकारी,‘जयतु संस्कृतम्’ का महासचिव प्रा. डा. नवराज कट्टेल, केन्द्रीय संस्कृत विश्वविद्यालयका कुलपति प्रा. डा. श्रीनिवास बरखेडी, त्रिभुवन विश्वविद्यालयका प्रा. डा. नारायणप्रसाद गौतम, नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघका सभापति प्रा.डा. मुकुन्दप्रसाद लामिछाने, सोमनाथ संस्कृत विश्वविद्यालयका कुलपति प्रोफेसर डा. शुकान्त सेनापति, नीति अनुसन्धान प्रतिष्ठान नेपालका निर्देशक दीपककुमार अधिकारी, नेपाल संस्कृत विश्वविद्यालय, विदेशविभागका अध्यक्ष डा. प्रेमराज न्यौपाने लगायतका विद्वान्-विदुषीले संस्कृत, गुरुकुल, नेपाल भारत सम्बन्ध आदि विषयमा महत्त्वपूर्ण विचार उपस्थापन गर्नुभएको थियो।

नदी, तीर्थ, मन्दिर, पर्व, संस्कृति, परम्परा, जीवनशैली आदि विषयमा नेपाल र भारतका बीच समानता रहेको, भारतका १८ वटा संस्कृत विश्वविद्यालय र नेपालको एक गरी १९ विश्वविद्यालयलाई गुणस्तरीय बनाउनका लागि अखण्ड संस्कृत पाठ्यक्रम लागू गर्नु आवश्यक रहेको उहाँहरूको भनाइ थियो। विश्वविद्यालयका बीच सामूहिक प्राध्यापन-प्रशिक्षण दिलाउनु अपरिहार्य भएको, समाजमा नयाँ पुस्तालाई संस्कृतको ज्ञान हस्तान्तरणका लागि सरल र आकर्षक पाठ्यपुस्तक निर्माण गर्न जरुरी भएको सुझाव सहभागीहरूले दिनुभएको थियो।

यसैगरी संस्कृत पढ्न चाहनेका लागि अनलाइन शिक्षा आवश्यक रहेको, नेपाल र भारतका संस्कृत विद्यार्थीहरू विश्वविद्यालयका बीच समन्वय गरी एक्स्चेन्ज गरी पढाउन र नवीन शैलीमा सिकाउन आवश्यक भएको, संस्कृत विश्वविद्यालयहरूमा आधुनिक विषय र संस्कृत विषयका बीच सामञ्जस्थ स्थापना गर्नु अनिवार्य भएको विषयमा सबै एकमत देखिएका थिए।

संस्कृतमा चलचित्र, वृत्तचित्र निर्माण, संस्कृत टेलिभिजन च्यानलको सञ्चालन आदिका माध्यमले संस्कृतलाई समाजसमक्ष जोड्नु आजको आवश्यकता रहेको, संस्कृत विद्याको पुनरुत्थानका लागि शास्त्रीय तथा समावेशी गुरुकुलको स्थापना र सञ्चालन गर्नु अपरिहार्य भएको विचार नै उक्त परिचर्चा सत्रमा विशिष्ट विद्वान्‌हरुबाट अभिव्यक्त भएको थियो।

संस्कृत सम्मेलनमा सहभागी समस्तलाई प्रमाणपत्र तथा उपहार वितरणसहित समारोहको समापन गरिएको थियो।

यसप्रकार भारतको उत्तराखण्ड प्रान्त अन्तर्गत हरिद्वारस्थित पतञ्जलि विश्वविद्यालय प्राङ्गणमा सम्पन्न द्विदिवसीय अन्ताराष्ट्रिय भारत-नेपाल-संस्कृत सम्मेलन-२०८१ अत्यन्त भव्य, सभ्य र गरिमामय बनेको थियो । प्रत्येक वर्ष नेपाल र भारतमा पालैपालो संस्कृत सम्मेलन आयोजना गर्ने लक्ष्य अनुरूप विगत २०८० चैतमा नेपालमा आयोजना गरिएको थियो।  २०८१ चैत्रमा भारतमा आयोजना गरियो भने आगामी वर्ष २०८२ मा नेपालमै सम्मेलन गरिने योजना छ।

२०८२ असारमा नेपालमै अत्यन्त भव्य रूपमा विश्व संस्कृत सम्मेलन आयोजना गरिँदैछ। नेपालमा सम्पन्न हुने विश्व संस्कृत सम्मेलनमा सहभागिताका लागि नेपालका तर्फबाट नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. धनेश्वर नेपालले भारतका संस्कृत विश्वविद्यालय तथा संस्कृत समुपासकलाई हार्दिक आमन्त्रण गरिसक्नुभएको छ। विश्व संस्कृत सम्मेलन २०८२ लाई अत्यन्त सभ्य, भव्य र गरिमामय रूपमा सम्पन्न गराउन आआफ्नो क्षेत्रबाट संस्कृतसाधक, संस्कृतसेवी, संस्कृतप्रेमी संस्कृतानुरागी हामी सम्पूर्ण नेपालीको प्रमुख अभिभारा एवम् दायित्व हो। जयतु संस्कृतम्!!

(लेखक डा. घिमिरे उक्त सम्मेलनमा सहभागी मध्ये एक हुनुहुन्छ।)

प्रकाशित: १६ चैत २०८१ १५:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast