
पोखरा- पत्रकार र सञ्चार गृहमाथिको आक्रमणको विरोधमा पोखराका पत्रकार आन्दोलनमा उत्रिएका छन्। शनिबार सहिद चोकस्थित जिल्ला प्रशासन कार्यालय अगाडि उनीहरूले विरोध सभा गर्दै स्वतन्त्र पत्रकारितामाथिको आक्रमणको निन्दा गरे।
साथै शुक्रबार काठमाडौँमा आगलागीमा परेर ज्यान गुमाएका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकप्रति श्रद्धाञ्जली व्यक्त गरे।
नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल, महासंघ कास्कीका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठ, नेपाल प्रेस युनियन कास्की अध्यक्ष वासुदेव मिश्र, प्रेस चौतारी कास्की अध्यक्ष मोतिसागर अधिकारी, प्रेस सेन्टरका सन्देश श्रेष्ठ, समाजवादी प्रेस संगठनका गोविन्द सुवेदी, पत्रकार महासंघ कास्की अध्यक्ष माधव बराल, सचिव भूपाल गुरुङलगायतले पत्रकार रजकलाई जिउँदै जलाइएको घटना अमानवीयताको पराकाष्ठा भएको बताए।