पूर्वराजामाथि कारबाही भए देशभरका नागरिकले विरोध गर्छन् : राजतन्त्र समर्थक

हिमाल प्रेस १६ चैत २०८१ १४:२४
82
SHARES
पूर्वराजामाथि कारबाही भए देशभरका नागरिकले विरोध गर्छन् : राजतन्त्र समर्थक राजतन्त्र समर्थकले शुक्रबार काठमाडौँको तीनकुनेमा गरेको प्रदर्शन।

काठमाडौँ- राजसंस्था पुनर्स्थानाका लागि संयुक्त जनआन्दोलन समितिले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि कारबाही गरिए देशभरका नागरिक स्वतस्फूर्त रूपमा विरोधमा उत्रने चेतावनी दिएको छ। शुक्रबार काठमाडौँमा भएको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिका सम्बन्धमा पूर्वराजामाथि कारबाही गर्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै समितिका संयोजक सुवेदीले यस्तो चेतावनी दिएका हुन्।

उनले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘श्री ५ महाराजाधिराजलाई समेत बदनाम गराउने र घटनामा संलग्नता देखाउने उद्देश्यले नजरबन्द गर्ने वा पक्राउ गर्ने भन्ने तयारी भइरहेको समाचार बाहिर आएको छ। त्यस अनुरूप कदम चाल्ने प्रयास भएमा देशभरबाट आमनागरिक स्वतस्फूर्त विरोधमा उत्रनेछन्।’

समितिले शुक्रबार तीनकुनेमा घुसपैठ र प्रहरी दमन भएको आरोप लगाएको छ। सुवेदीले विज्ञप्तिमा घुसपैठ र प्रहरी दमनका कारण सभा बिथोलिएको आरोप लगाएका छन्। ‘तीनकुनेमा आयोजना गरिएको आन्दोलन घोषणा सभामा हाम्रो संघर्ष समितिका पदाधिकारी, केन्द्रीय नेताहरू मञ्चमा पुगेर सभालाई सम्बोधन गर्न नपाउँदै सरकार पक्षबाट नियोजित रूपमा गराइएको घुसपैठ र अनपेक्षित प्रहरी दमनका कारण सभा बिथोलियो’, विज्ञप्तिमा उल्लेख छ।

सभामा उपस्थित नागरिक माथि अश्रुग्यासलगायत गोली प्रहार गरेर नागरिकको हत्याका अतिरिक्त तोडफोड र आगजनी गराएको आरोप समितिको छ। समितिले आतंक सिर्जना गर्ने घटनाको घोर भत्र्सना गर्दै सहादत प्राप्त गर्ने वीर योद्धा सहिदप्रति श्रद्धासुमन व्यक्त गरेको छ।

यसैगरी शुक्रबार भएको आन्दोलनमा समितिका जनकमान्डर दुर्गा प्रसाई संलग्न नभएको विज्ञप्तिमा दाबी गरिएको छ। ‘कुनै पनि घटनामा संलग्न नभएका जनकमान्डर दुर्गा प्रसाईलगायतलाई पक्राउ पुर्जी जारी गर्ने, कार्यक्रमपछि जनआन्दोलन समितिका सदस्य सचिव रवीन्द्र मिश्र, आन्दोलन परिचालन संयोजक धवलशमशेर राणा तथा प्रवक्ता अधिवक्ता स्वागत नेपाल लगायत अन्य सहयोद्धालाई पक्राउ गर्ने र मलाई नजरबन्दमा राख्ने कार्य भएको छ।’

सुवेदीले जनताद्वारा गरिने जनआन्दोलन कुनै पनि नेताको इसारामा नचल्ने उल्लखे गरेका छन्। उनले भनेका छन्, ‘जनचाहना र जनविद्रोहबाट उत्पन्न हुने आन्दोलनको अगुवाइ र नेतृत्व जनताले नै गर्छन्। अतः बर्बतापूर्ण दमन र हिंसाविरुद्ध हुने जनआन्दोलन जनताले देशैभरि शान्तिपूर्ण तवरले गर्नुहुनेछ भन्ने अनुरोधसहित जनता अघि लागेर गर्ने आन्दोलन र जनचाहनाको हामी सदैव पक्षमा रहने छौं, साथ दिनेछौंँ।’

उनले विषम परिस्थितिमा कसैलाई पनि धमिलो पानीमा माछा मार्ने प्रयास नगर्न चेतावी दिएका छन्। सुवेदीले भनेका छन्, ‘देशभक्त जनताको आन्दोलन जारी छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast