बूढा नेताहरूबाट आजित नेपाली र राजावादीको रमिता

चन्द्रशेखर अधिकारी १६ चैत २०८१ २१:२४
210
SHARES
बूढा नेताहरूबाट आजित नेपाली र राजावादीको रमिता

माओवादी, एमाले हुँदै राजावादी कित्तामा उभिन पुगेका विवादास्पद व्यवसायी हुन् दुर्गा प्रसाई। उनै प्रसाई राजतन्त्र पुनर्स्थापना अभियान प्रमुख पात्रका रूपमा शुक्रबाार काठमाडौँको सडकमा गुण्डा शैलीमा देखिए। प्रहरीको घेरा तोड्न उनी पछि परेनन्। आफूले चलाएको गाडी हुत्याएर अघि बढेपछि प्रहरीले बाटो छोडनुपर्ने अवस्था आएको थियो। उनै प्रसाईले बिहीबार पूर्वराजा ज्ञानेन्द्रसँग निर्मल निवास महाराजगन्जमा भेट गरेका थिए।

प्रत्यक्षदर्शीका अनुसार जब राजावादीहरूले तीनकुनेमा आयोजना गर्न लागेको समर्थकको संख्या हेरे त्यसपछि उनी प्रहरीको घेरा तोड्न उद्यत भएका थिए। आमसभा गर्ने खालको भीड नदेखेपछि भीडलाई ढुंगामुढा र लुटपाटमा बदलेको आरोप उनीमाथि लागेको छ। प्रहरी प्रशासनका अनुसार प्रसाई फरार छन्। उनको मोबाइल फोन अफ छ। यद्यपि प्रहरीले उनी  निकट युवा समूहका एक कमान्डर अर्थात् ‘रोयल टास्क फोर्स (आरटीएफ)’ भनिने समूहका कमान्डर मुनिन्द्र राजभण्डारीलाई  पक्राउ गरेको छ।

नवराज सुवेदी संयोजकत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले प्रसाईलाई ‘जनकमान्डर को जिम्मा दिएको थियो। तिनै प्रसाईको अगुवाइमा शुक्रबार काठमाडौँको तीनकुनेमा आन्दोलनकारीले निजी घरमा ढुंगा हाने, गाडी तोडफोड गरे, प्रहरीमाथि आक्रमण गरे। यसैगरी प्रदर्शनकारीले जडीबुटी प्रशोधन कारखानामा आगो लगाए। कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा लुटपाट मच्चाए। यति मात्रै होइन, आन्दोलनका कारण दुई युवाको ज्यान गएको छ।

राजावादी आन्दोलनलाई कतिपयले भारतसँग जोडेर पनि टिप्पणी गरेको देखिन्छ। भारतीय सञ्चारमाध्यमले पनि नेपालमा राजतन्त्र पुनर्स्थापनालाई बढी महत्त्व दिएका छन्।  जानकारहरूका अनुसार भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) नेपालमा राजा चाहँदैन। उसले औपचारिक निर्णय गरेर कुनै सुझाव दिएको पनि छैन। तर भारतीय संस्थापन पक्ष नेपाललाई हिन्दु राज्य बनाउने पक्षमा छ।  भाजपा नेताहरूले भारतलाई हिन्दु राज्य बनाउन नसके पनि छिमेकीमा बनाउने बताउँदै आएका छन्। उनीहरूको छिमेकी भनेर संकेत गरेको नेपाल हो।

भारतीय नेतृत्व नेपालको संविधानमा रहेको चुच्चे नक्सा मान्न तयार छैन। उनीहरू संविधानमा नक्सा नचाहिने भन्दै यो हटाउनुपर्ने  बताउँदै आएका छन्। भारत चुच्चे नक्सालाई मान्यता नदिने पक्षमा रहेको कूटनीतिक क्षेत्रका विज्ञहरू बताउँछन्। यो कुरा भारतीय नेताहरूले पटकपटक भन्दा पनि हाम्रा नेतृत्वले सुन्न चाहेको छैन। कूटनीतिमा कतिपय विषयलाई नजरअन्दाज गर्दा दलका नेताहरू आफैँ भुमरीमा पर्न सक्छन्। यस्तो विषयमा कूटनीतिक तहमा छलफल गर्नुपर्ने हो तर हाम्रा नेताहरू यसबारे भारतसँग बहस गर्न चाहँदैनन्।

अझै भनौँ, दलका नेताहरूले भने यस्तो गम्भीर विषयमा ध्यान दिएको पाइँदैन। नेताहरू भारत जान्छन्, व्यक्तिगत स्वार्थ पूरा हुने कुरा राख्छन् र फर्कन्छन्। भारतीय पक्षले नेपालका ७० वर्ष नाघिसकेका शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई घरमै विश्राम गर्न सुझाव दिइरहेको चर्चा कूटनीतिक वृत्तमा हुने गरेको छ। वृद्धभत्ता खाइरहेका नेताहरूले यस्तो विषय सुन्न पनि चाहँदैनन्। उनीहरू पटकपटक प्रधानमन्त्री भएर पनि सवा दुई करोड नागरिकलाई सुशासन दिन सकेनन् भन्ने बुझाइ भारतीय नेताहरूको छ। सबै भारतीय नेताले नेपाललाई हेपाहा दृष्टिबाट मात्र हेर्दैनन्। समान हैसियत रहेको सार्वभौम मुलुकका रूपमा नेपाललाई सम्मान गर्ने नेता पनि धेरै छन् दक्षिण छिमेकमा ।

नेपालका पाका नेताहरू बाँचुन्जेल पदमा रहिरहन चाहन्छन्। उनीहरूलाई शक्तिको उपयोगको भोक मरेको देखिँदैन। २०६० सालयता जन्मिएका पुस्तालाई राजतन्त्रले दिएको दुःखबारे जानकारी छैन, उनीहरू त तिनै दोहोइरहेका अनुहारबाट दिक्क छन्। हाम्रा नेताहरू शारीरिक रूपमा अस्वस्थ्य भएर ‘एडल्ट डायफर’ लगाएर कार्यक्रममा गइरहनुपर्दा पनि मुलुकको नेतृत्व गर्छु भन्न छाडेका छैनन्। मुलुकको हितमा भन्दा कुशासन, परिवारवाद, नातावाद, सबै क्षेत्रमा चरम राजनीति र विकृतिमा चुर्लुम्म डुबेका यी नेतासँग भरोसा हुँदो हो त युवा पुस्ता पक्कै पनि विदेशी भूमिमा सेकिन बाध्य हुने थिएन। त्यस्ता व्यक्ति मुलुक फर्कँदा विमानदेखि विमानस्थलमा हुने व्यवहार लाज लाग्ने खालको हुने गरेको छ। यसैकारण पनि युवाको रगत बढी तात्न थालेको छ।

नवयुवालाई कहिले नफेरिने यी नेताहरूको मुहारले गिज्याइरहेको छ। किनभने ५० को दशकको सुरुमा जुन नेता सत्तामा उदाएका थिए, अहिलेसम्म तिनै नेताको वरिपरि देशको राजनीति सञ्चालन भइरहेको छ। तिनै अनुहार पालैपालो जोडघटाउ गरेर सत्तामा जान्छन्। तानातान गरेको जस्तो गर्छन्। एकले अर्को विरोध गर्छन् तँ कुटेजस्तो गर म रोएजस्तो गर्छु जसरी। अनि सत्तामा जान र भ्रष्टाचार सामसुम पार्न मिलिहाल्छन्।

त्यसैले नयाँ पुस्ता नेताहरूप्रति रुष्ट छन्। जनप्रतिनिधिले चाहिँदैन भनेर फालिदिएका नेता घुमाउरो शैलीबाट राष्ट्रियसभा प्रवेश गर्ने र सत्तामा जाने गरेकै छन्। वडा अध्यक्षसम्म जित्न नसक्नेहरू शीर्ष भनिएका नेताको नजिक भएर राज्यसत्ताको उपहास गर्नु निकै लज्जाको विषय हो। यीमध्ये कतिले महत्त्वपूर्ण जिम्मेवारी सम्हालेर जग हँसाए र कतिले हँसाइरहेका छन्। कांग्रेस, एमाले, माओवादीमा यस्ता नेताहरूको बिगबिगी छ।

नेपाली जनता राजा चाहन्छन् त? यसको स्पष्ट उत्तर छ- राजा कसैलाई चाहिएको छैन। चुनावी प्रतिस्पर्धामा राजतन्त्र पक्षधरले प्राप्त नतिजाले पनि त्यसै भन्छ। राप्रपा जो संघीय संसद्‌मा पाँचौँ ठूलो दल छ, उसले २०७९ सालको चुनावमा लगभग पाँच प्रतिशत भोट ल्याएको थियो। यसको मतलब के हो भने तत्काल राजतन्त्रका पक्षमा जनाधार निकै कमजोर छ। यद्यपि राजतन्त्र समर्थक पनि एउटा शक्ति हो, जो सयौँ वर्षसम्म पनि निमिट्यान्न नहुन सक्छ। उदाहरणका लागि फ्रान्समा अहिले पनि एउटा सानो समूहलाई लुइसको परिवारले मुलुक हाँक्छ भन्ने विश्वास  छ। यहाँ त भर्खरै मात्र गएको राजसंस्था अनि त्यसबाट चरम फाइदा लिएकाहरू राजनीतिमा रहेकाले दरबारको समर्थन गर्नु अस्वाभाविक पनि होइन।

सात दशकदेखि आन्दोलन गरेपछि २०७० को दशकमा आएर बल्न नेपाली जनता आफैँले संविधान बनाउन पाएका हुन्। त्यही संविधानको लिकमा मुलुक हिँड्न थालेको एक दशक हुन लागेको छ। त्यसैले नेपाली लोकतन्त्रमा समीक्षाको विषय छ- एउटा व्यक्ति कतिपटक सत्तामा बस्न मिल्ने? कुन उमेरसम्म नेतृत्व ओगटिरहेन? केही नेताको वरिपरि शासनसत्ता चलिरहेका कारण यहाँ लोकतन्त्र चुकेको अनुभूति हुँदैछ। आमनागरिक पिरोलिएको यसैमा हो। अहिलेका नागरिक षडयन्त्रकारी सिद्धान्तभन्दा खुला बहस मन पराउँछन्। शिक्षित पुस्ता बढ्दो छ। नगरिक र रैतीको हैसियत बुझेका छन् युवाले। आमनेपाली नागरिक भएर बाँच्न चाहन्छन्, रैती भएर होइन।

राजतन्त्र पुनर्स्थापनाको पहलकदमी होइन पाका नेताको विकल्पमा जानुपर्छ अब। पटकपटक सत्तामा पुगेर राजनीतिलाई गिजोलिरहेका नेताहरूलाई धपाउने बाटो रोज्नुपर्छ। लाच पचाएर बसेका गैँडाको छाला जस्तो सोच बनाएर बसेका वयोवृद्ध नेतालाई अवकाश प्राप्त जीवन घरमै बिताउन दबाब दिइनुपर्छ। यस्तो दबाब राजनीतिक दलभित्रैबाट हुनुपर्छ। युवा पुस्ताले पार्टी नै फुटाउने तहमा पुगेर भए पनि पटकपटक सत्ताको चास्नीमा डुबेकालाई बिदा गर्नैपर्छ। त्यसो भएमा जनता सडकमा उत्रन पनि पर्दैन।

पूर्वराजा ज्ञानेन्द्रले पनि अब शाहवंशीय बिरासत खोज्न जरुरी छैन। ७७ वर्ष पार गरेका शाहलाई राजनीतिमा आउन मन छ भने कुनै दल खोलेर सक्रिय हुन कानुनले अवरोध गर्दैन। संविधानबमोजिम दुईतिहाई बहुमत ल्याएमा व्यवस्था पनि त परिवर्तन गर्न सकिन्छ। आमनागरिकलाई दुःख दिएर, हिंसात्मक कार्य गरेर, निजी सम्पत्ति जलाएर फेरि राजा हुन पाउँछु भन्ने सोच राख्दा उनीप्रति नागरिकमा रहेको सम्मान हराउँदै जानेछ।

जबसम्म नेताहरू भष्ट हुन्छन् तबसम्म कुनै पनि मुलुकले गति लिँदैन। कहीँकतै राजा आउलान् कि भन्ने धारणा राखेका नागरिकमा पनि शुक्रबारको हिंसात्मक आन्दोलनपछि राजाको कथा सकिएको भन्न थालेका छन्। राजतन्त्र पुनर्स्थापनाको नारामा उच्छृंखल र अराजक कार्य भएकाले पूर्वराजा ज्ञानेन्द्रले समेत माफी माग्नुपर्छ। शक्ति केन्द्रलाई खुसी पार्न सिपालु मानिएका प्रसाईले पूर्वराजा ज्ञानेन्द्रलाई खुसी पारेर आन्दोलनको नेतृत्व लिए।  भीड उत्तेजित बनाए। आमनागरिकको मनबाट पूर्वराजालाई बिर्साउने काम गरे।

प्रसाईंमा अति आत्मविश्वास देखिन्छ। यो यसै बढेको पक्कै होइन। बैंकका खराब ऋणीमा सूचीकृत प्रसाई आमनागरिक भड्काउने प्रयासमा छन्। प्रसाईले पूर्वराजा ज्ञानेन्द्रको धाप अलि बढी नै पाएका हुन सक्छन्। किनभने राजावादी भनेर चिनिएका दलले पनि पूर्वराजा ज्ञानेन्द्रसँग भेट गरेको जानकारीमा आएको छैन। तर उनले भेटेका छन्। राजाको कुरा सडकमा राखेर आफूले पुन: राजसंस्था ब्युँताउने विश्वास दिलाएको देखिन्छ। उनलाई साथ दिइरहेका छन् पूर्व सञ्चारकर्मी रवीन्द्र मिश्रले। मिश्रको बोली साँच्चै अस्वाभाविक छ। उनको पनि प्रसाईकै जस्तै कुनै धार छैन, उनी पनि कहिले कता कहिले कता गरिरहेका छद्म व्यक्तिकै सूचीमा छन्।

राप्रपाका नेताहरू पूर्वराजा ज्ञानेन्द्र शाहको नजरमा थिएनन्। यो आन्दोलनमा पनि उनीहरूले खासै महत्त्व पाएनन्। राजतन्त्रका पक्षमा निर्वाचित भएका केही नेता मात्रै आन्दोलनको मैदानमा देखिए। यस्तो अवस्थामा प्रसाईले राप्रपाका नेताहरूलाई ललकार्न पनि पछि परेनन्। कमल थापा, राजेन्द्र लिङ्देन, बुद्धिमान तामाङ, रोशन कार्की, ध्रुवबहादुर प्रधान, उद्धव पौडेल, ज्ञानेन्द्र शाहीलगायत नेताहरु राजा फर्काउने अभियानमा सडकमा देखिएनन्। उनीहरू सबैको विकल्प बने प्रसाई र रवीन्द्र मिश्र। दुवैको पृष्ठभूमि राजनीति होइन। राजनीतिमा आउँदा पनि उनीहरू कुनै अडान राख्न नसक्ने व्यक्तिका रूपमा परिचित छन्।

ज्ञानेन्द्रले शासन सत्ता हातमा लिँदा जुन गल्ती गरे अहिले त्यही दोहोर्‍याएका छन्। उनले त्यतिबेला पनि कुनै राजनीतिक दललाई आफू निकट ल्याएनन्। अहिले पनि अलिकति आमनागरिकको विश्वास नभएका व्यक्ति नवराज सुवेदी, प्रसाई र मिश्रका पछि लागेका छन्। जसरी शासन सहज छाडेर आमनागरिकको मनमा रहेका थिए त्यसैगरी बसेका भए उनीमाथि लागेको आरोप हराउने थियो। तर त्यही आरोप दोहोरिने मात्र होइन आमनागरिकले लल्कार्ने समय आउन सक्छ। ज्ञानेन्द्रले गल्ती गरिरहँदा कारबाही प्रसाई र मिश्रलाई मात्र होइन निर्मल निवासतिर सोझिनुपर्छ। अनि राजनीतिक नेतृत्वले पनि आफ्ना भित्रका गल्तीहरू निकायमार्फत खोल्दै कारबाहीमा ल्याउन सक्नुपर्छ। केही भ्रष्ट नेताहरू जेल गएको हेर्न युवा पुस्ता आतुर छ, ज्ञानेन्द्रलाई दिएको सुविधा खाेस्ने भन्दा पनि।  बूढा नेताहरूबाट आजित युवा पुस्ता अहिले राजावादीको रमिता हेर्न बाध्य छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast