
काठमाडौँ- समाजवादी मोर्चाले राजावादीको क्रियाकलापको सशक्त ढंगले प्रति प्रतिवाद गर्ने जनाएको छ।
शनिबार नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयको अवस्थाबारे जानकारी लिँदै समाजवादी मोर्चाका नेताहरूले राजावादीको क्रियाकलाप आपराधिक भएको भन्दै सशक्त ढंगले प्रति प्रतिवाद गर्ने जनाएको हो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीको छाडातन्त्रलाई छुट दिन नसकिने बताए। ज्ञानेन्द्र शाहको मानसिकता आपराधिक छ भन्ने पुनः पुष्टि भएको भन्दै उनले सरकारले कडा कदम चाल्नुपर्ने जिकिर गरे।
सरकार र प्रहरीको राम्रो तयारी नदेखिएको र ठूलो जनधनको क्षति भएको उनको आरोप थियो । प्रचण्डले काठमाडौँमा विवेकहीन र आपराधिक घटना हुँदा सुरक्षा निकाय समयमै उपस्थित हुन नसक्ने अवस्थाको सरकारले गम्भीर रूपमा समीक्षा गर्नुपर्ने धारणा राखे ।
नेकपाका महासचिव नेत्रबिक्रम चन्द विप्लवले राजावादीको क्रियाकलाप आपराधिक रहेकाले सशक्त ढंगले प्रतिवाद गर्ने बताए। राजावादी समर्थकहरूले शुक्रबार नेकपा एकीकृत समाजवादीको पार्टी तोडफोड गर्दै आगजनी गरेका थिए।