![पत्रकार सुरेश रजकको हत्याको विरोधमा प्रदर्शन [तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2025/03/Ktm_patrakar_hatya.jpg)
काठमाडौँ- पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार तथा सञ्चारकर्मी सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। नेपाल पत्रकार महासंघको अगुवाइमा पत्रकार रजकको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारबाहीको माग गर्दै शनिबार बिहान माइतीघरमा विरोध प्रदर्शन गरिएको छ।
यसैगरी देशका विभिन्न ठाउँमा पत्रकार हत्याको विरोधमा धर्ना र विरोध सभा आयोजना गरिएको छ।
शुक्रबार पूर्वराजा समर्थकहरूको समूहले गरेको आन्दोलनको भिडियो खिच्ने क्रममा खटिएका एभिन्युज टेलिभिजनका क्यामेरापर्सन रजकको शव जलेको अवस्थामा भेटिएको थियो।
पत्रकार महासंघका कार्यबाहक अध्यक्ष दीपक आचार्यले पत्रकारको जिउधनको सुरक्षाका लागि सम्पूर्ण पत्रकारहरू एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए। उनले मृतक पत्रकार रजकलाई न्याय दिलाउन महासंघ निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे। महासंघका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारीले शनिबार पत्रकार महासंघको उपलब्ध केन्द्रीय सदस्यहरूको आकस्मिक बैठक बसेर थप संघर्षका कार्यक्रम तय गर्ने र सञ्चार तथा सूचनाप्रविधिमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउनेलगायका कार्यक्रम गरिनेछ।




तस्बिरहरू : रासस