हिंसाको निन्दा गर्दै कमल थापाले भने- हिन्दु राष्ट्र र राजसंस्थाका पक्षमा जनलहर बढ्यो

हिमाल प्रेस १६ चैत २०८१ १२:११
110
SHARES
हिंसाको निन्दा गर्दै कमल थापाले भने- हिन्दु राष्ट्र र राजसंस्थाका पक्षमा जनलहर बढ्यो राप्रपा नेपालका अध्यक्ष कमल थापा।

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले शुक्रबार राजधानीमा राजतन्त्र पक्षधरले गरेको हिंसात्मक घटनाको निन्दा गरेका छन्। उनले शनिबार सामाजिक सञ्जालमार्फत प्रदर्शनबारे आफ्नो धारणा सार्वजिनक गरेका हुन्। साथै उनले घटनालाई लिएर प्रशासनसमक्ष सात प्रश्न उठाएका छन्।

उनले लेखेका छन्, ‘चैत १५ गते काठमाडौँमा प्रदर्शनका क्रममा भएका अप्रिय घटना दु:खद् छन्। कुनै पनि बहानामा हुने हिंसा र अराजक गतिविधि समर्थन गर्न सकिन्न।’ थापाले प्रहरीको गोलीबाट सविन महर्जनको निधन हुनु र प्रदर्शनकारीहरूले आगो लगाई दिएको घरमा जलेर पत्रकार सुरेश रजकको मृत्यु हुनुलाई जघन्य अपराधको संज्ञा दिएका छन्। उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन्।

थापाले लेखेका छन्, ‘पार्टी कार्यालय,निजी घर, सुपर मार्केट र सरकारी कार्यालयमा भएको तोडफोड र आगजनी निन्दनीय छ।’ थापाले शुक्रबारको घटनाका सन्दर्भमा केही गग्भीर प्रश्न पनि उठाएका छन्।

थापाको प्रश्न छ, ‘निजी घरमा पसेर प्रहरीले जुलुसमा किन अन्धाधुन्ध अश्रुग्यास प्रहार गर्‍यो? कार्यक्रम सुरु हुनुअगावै मञ्चमा किन अश्रुग्यास प्रहार गरियो? सामान्य झडप हुँदा किन अनावश्यक बल प्रयोग गरेर भीड उत्तेजित बनाउने काम भयो? परिस्थिति जटिल छ भन्ने पूर्वसूचना हुँदाहुँदै किन आवश्यक सतर्कता अपनाइएन? राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना अभियानलाई बदनाम गर्न र तुहाउन कहीँकतैबाट षडयन्त्र त भएको थिएन? आन्दोलनलाई अराजक बनाउने सरकारी वा अन्य कसैको नियोजित प्रयास त होइन?’

थापाले यस्ता प्रश्नहरूको निष्पक्ष छानबिनको माग गरेका छन्। थापाले केही अप्रिय घटनाहरु भए पनि शुक्रबारको प्रदर्शनले हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा जनलहर बढ्दो रहेको दाबी गरेका छन्। उनले भनेका छन्, ‘त्यो सशक्त हुँदै गएको छ भन्ने तथ्यसमेत उजागर गरेको छ। त्यसर्थ, जनताको परिवर्तित चाहनाको सम्मान गर्दै वार्ताका माध्यमबाट सबै विचार र शक्ति अटाउने निकास खोज्न सम्बद्ध सबैमा हार्दिक अपिल गर्दछु।’

उनले भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति तथा हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाका पक्षमा आगामी दिनमा शान्तिपूर्ण ढंगबाट अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। ‘हिजोको घटनाबाट पाठ सिकेर राष्ट्रवादी आन्दोलनलाई अझ सशक्त तुल्याउनुपर्दछ। हिन्दुराष्ट्र र राजसंस्था पक्षधरलाई कत्ति पनि विचलित नहुन म आह्वान गर्दछु’, थापाले लेखेका छन्।

उनले शुक्रबारको घटना वा कुनै दल वा समूहले गर्ने कार्यसँग राजालाई जोड्न खोज्नु सर्वथा अनुपयुक्त र अनावश्यक रहेको उल्लेख गरेका छन्। थापाले हिंसा, अराजक वा अपराधिक कुनै पनि घटनामा संलग्न नरहेका राप्रपाका नेताहरू धवलशशसेर राणा, रवीन्द्र मिश्र, नवराज सुवेदी, स्वागत नेपाललगायत सबैको तत्काल रिहाइको माग गरेका छन्।

यसैगरी उनले शुक्रबारको घटनालाई अतिरञ्जित ढंगबाट बढाई-चढाई गरी प्रतिशोध साध्ने वा हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको आन्दोलनलाई तुहाउन सकिन्छ भन्ने कसैले सोचेको छ भने त्यो असफल र प्रत्युत्पादक हुने चेतावनी दिएका छन्।

उनले लेखेका छन्, ‘हिजोको घटनालाई आधार बनाएर देशमा कायम रहेको भ्रष्ट व्यवस्था र भ्रष्ट शासकका ज्यादतीलाई लुकाउन सकिन्छ भन्ने कसैले नसोचे पनि हुन्छ।’ साथै उनले यही मौका हो भन्ने ठानेर राजा वा राजसंस्थासहितको प्रजातन्त्रको विचारलाई बदनाम गर्ने वा दमन गर्ने सोच राखियो भने त्यसले परिस्थिति झन् जटिल बनाउने उल्लेख गरेका छन्।

प्रकाशित: १६ चैत २०८१ १२:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast