पुस्तक चर्चा

च्याउदेखि स्याउखेतीसम्म जग बसाल्ने कृषि अड्डाका हाकिम

माधवप्रसाद नेपाल १६ चैत २०८१ १५:५२
154
SHARES
च्याउदेखि स्याउखेतीसम्म जग बसाल्ने कृषि अड्डाका हाकिम

शिवबहादुर नेपाली प्रधानले २०१५ सालमा कृषिमा स्नातक गरेपछि तत्कालीन ग्राम विकास केन्द्रमाबाट सरकारी सेवामा प्रवेश गरे। समयक्रममा उनी सो कार्यालयको उपल्लो तहमा पुगे। यति मात्रै होइन कृषि विभागको महानिर्देशक र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सदस्यसचिव रहेर पनि नीति निर्माणमा सक्रिय भए।

प्रधानले प्रशासनिक कामकाज र विकासे कामकाज गर्ने कार्यालयको आधार नभएको त्यो बेलामा कसरी कृषि विकासका कार्यालय खोलिए र तिनले समय क्रममा के-के काम गरे भन्ने आफ्नो अनुभव ‘कृषिमा मेरो बाटोमा’ प्रस्तुत गरेका छन्। ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढा’को भनेजस्तै ८८ वर्ष पार गरेका शिवबहादुर नेपाली प्रधानको संस्मरण ‘कृषिमा मेरो बाटो’ रोचक मात्रै छैन, प्रेरक पनि छ।

नेपाल कृषिप्रधान भनिए पनि त्यो कृषि निर्वाहमुखी मात्र हो व्यावसायिक होइन भन्ने तर्क उनको छ। अर्थात् अधिकांश जनता मुखमा माड लगाउन खेती गर्छन् किनभने उनीहरूसँग जीविकाको अरू उपाय छैन। प्रधानको बुझाइमा निर्वाहमुखी कृषिलाई दिगो बनाउनु कृषि विकासको आधार हो। उनले आफूले कर्मचारी हुँदा गरेका कामको अनुभव र नीति निर्माण तहमा पुग्दा गरेका कामको विवरण पुस्तकमा उतारेका छन्।

बागवानी विज्ञका रूपमा प्रशिक्षित भएर स्वदेश फर्किएपछि प्रधानले आफ्नो जिम्मेवारी इमानदारीका साथ निर्वाह गरेको देखिन्छ। पुस्तकमा उनले व्यावसायिक कुखुरापालनको विकासका लागि नेपालमा पहिलो पटक दाना बनाउने कामको थालनीबारे वर्णन गरेका छन्। अहिले हेर्दा त्यो काम वडास्तरको सानो कार्यक्रमसरह देखिन्छ। त्यही कामले कसरी नेपालमा ह्याचरी उद्योगको आधार बस्यो भन्ने उनले प्रस्ट्याएका छन्। कुनै पनि काम सानोबाटै सुरु हुने र त्यसलाई पुट दिँदै जाँदा ठूलो परिवर्तन ल्याउँछ भन्ने सन्देश प्रधानको छ।

पुस्तकमा नेपालमा व्यावसायिक च्याउखेती थालनीबारेका वर्णन रोचक छ। एकपटक उनी स्थलगत भ्रमणमा जाँदा विकासे धानको पराल गाईबस्तुले नरुचाउँदा खेतमा असरल्ल देखे। अनि उनले त्यही पराल तह लगाउन च्याउखेतीको पहल गरे। भारतको कृषि प्रयोगशालाबाट च्याउको बिउ मगाएर त्यसलाई उमारेर सफल परीक्षण उनले नै गरेका रहेछन्। त्यसलाई किसानसम्म लान उनले गरेको प्रयास प्रेरणादायी छ।

प्रधानले काम गर्नेहरूलाई यथासम्भव यथोचित स्मरण गरेका छन्। आफूले च्याउखेतीको सुरुवाती अग्रता लिए पनि पछि कृषि विभागकै केशरीलक्ष्मी मानन्धरले त्यसलाई अघि बढाएर गति दिएकी रहिछन्। यसरी सन्दर्भअनुसारका व्यक्तिहरूको योगदानको चर्चा भएको ‘कृषिमा मेरो बाटो’ नेपालको कृषि विकासको सामाजिक इतिहासको सन्दर्भ पुस्तक बन्न पुगेको छ। पुस्तकमा नेपालको कृषिमा योगदान दिएका जानकीप्रसाद प्रधान, शम्भुमान सिंह, वेदबहादुर खड्का, चन्द्रवीर गुरुङ, जगबहादुर बुढाथोकी, पासाङ खोम्बाचेलगायतको चर्चा छ ।

एकपटक उनको कार्यालयलाई एउटा परियोजनाको प्रस्ताव आएछ। उनले सो परियोजनाबाट स्याउको बिरुवा वितरण गर्ने योजना बनाए। भारतबाट स्याउका तीन लाख बिरुवा ल्याएर हवाईजहाजमार्फत दुर्गम क्षेत्रका १८ जिल्लामध्ये कर्णाली अञ्चलका जिल्लाहरू जुम्ला, हुम्लासहित, धवलागिरिको मुस्ताङ, सिन्धुपाल्चोक जिल्लाको हेलम्बु, सोलुलगायतमा पुर्‍याइयो। स्याउखेतीको आधार त बस्यो तर उत्पादन प्रवर्धनका लागि आर्थिक योजना र सहयोग नहुँदा सोचेजस्तो परिणाम आउन सकेन। त्यसैले कृषिले कुनै योजना कार्यान्वयन गरेर मात्रै हुँदैन, त्यसलाई अर्थ, उद्योग र वाणिज्य हेर्ने निकायले समन्वय गर्नुपर्ने उनको सुझाव छ। उनको त्यो ६० वर्षअघिको अनुभव अहिले पनि उत्तिकै प्रेरक छ।

अहिले हामी मौसमको भविष्यवाणी मोबाइलै पाउँछौँ। तर नेपालमा कुनै बेला वर्षाको रेकर्ड पनि राख्ने गरिएको रहेनछ। त्यो कामको थालनी शिवबहादुर प्रधानले गरेका रहेछन्। कीर्तिपुर बागवानीमा काम गर्दा वर्षाको रेकर्ड राख्ने चलनको उनले आरम्भ गरे। अनि त्यो सूचना देशभर पुगोस् भनेर ‘गोरखापत्र’मा छपाउने प्रबन्ध गरे। त्यो कामका लागि उनले पहिला वन मन्त्रालयमा गएर वीरगन्जबाट काठका लठ्ठा झिकाउनुपरेछ।

लठ्ठा बल्खुदेखि चोभारको बागवानी केन्द्रसम्म टेलिफोनको तार टाङ्न खम्बा गाड्नुपरेछ। त्यसपछि दूर सञ्चारले टेलिफोन जोडिदियो। अनि वर्षाको रेकर्ड ‘गोरखापत्र’मा दिनहुँ टिपाउन सकिने भयो। उनको त्यो अनुभव पढिरहँदा अहिलेका कर्मचारीले पनि के त्यसैगरी कुनै काम फत्ते गराउन लागिपर्छन् त भन्ने प्रश्न घरीघरी मनमा आउँछ। गरेका हुँदा हुन् त किन देशले विकासको गति पक्रन सकेन भन्ने प्रतिप्रश्नले दिमाग अस्थिर बनाउँछ।

आज स्रोतसाधनको अभावको गुनासो गरिन्छ। ५०/६० वर्षअघिको त्यो बेला सरकारी अड्डामा कसरी काम भएको रहेछ भन्ने विवरणले काम भनेको कागज मिलाएर तामेली गर्ने मात्रै होइन जेजसो गर्दा परिणाम हासिल हुन्छ त्यही गर्ने हो र त्यसो गर्न मानिसमा काम गर्ने हुटहुटी चाहिन्छ भन्ने सन्देश दिन्छ।

हामी अहिले नवप्रद्धर्तन (स्टार्टअप) र दिगो विकासको कुरा गर्छौँ। त्यो कसरी गर्न सकिन्छ भन्ने कुरा प्रधानको पुस्तकमा उदाहरणसहित आएको छ। ककनीमा मूलाखेती दिगो बनाउन उनको अगुवाइमा भएको काम अहिले पनि सान्दर्भिक छ।

ककनीको कृषि कार्यालयले स्थानीय किसानलाई मूलाखेतीका लागि सहयोग गर्‍यो। मूला त मजाले उत्पादन भयो तर बजारको दुःख थियो। अनि मूला बजारमा लैजान कृषि कार्यालयले किसानलाई पेट्रोलसहित गाडी उपलब्ध गरायो। पछि पेट्रोलको पैसा किसानले बेहोरे, गाडी कृषि कार्यालयको। अलि पछि पैसा कमाएपछि किसानले आफैँले गाडी र पेट्रोलको व्यवस्था गरे। एक जिल्ला एक उत्पादन, एक गाउँ एक उत्पादनजस्ता नारा घन्किरहेको अहिलेको सन्दर्भमा ककनीको मूलाखेतीको प्रसंग उत्तिकै सान्दर्भिक लाग्छ।

२०३० सालको पहिलो कृषि योजना बनाएको र राम्रो काम गर्ने कर्मचारीका रूपमा गोरखा दक्षिणबाहु पाएका प्रधान २०३६ सालपछि जगेडामा परे। जनमतसंग्रहपछि मैमत्त पञ्चायत पक्षधरहरूले उनलाई नरुचाएका हुन सक्छन्। त्यसपछि उनी समयको सदुपयोग गर्दै अध्ययन बिदा लिएर बेलायतको रिडिङ युनिभर्सिटी गए। बागबानीमा पढाइ हुने विश्वकै विख्यात विश्वविद्यालयमा उनले पहाडी विकासको अवधारणामा शोधपत्र लेखे। आखिर त्यही अवधारणामा पछि इसिमोड (अन्तर्राष्ट्रिय पर्वतीय एकीकृत विकास केन्द्र) स्थापना भयो। उनकै अध्ययन सिफारिसमा इसिमोड स्थापना भएको होइन तर उनले नेपालजस्तो पहाडी मुलुकको विकासका लागि जुन खाका पहिचान गरेका थिए, इसिमोड पनि त्यही उद्देश्यमा स्थापित भयो। यसकारण यस क्षेत्रको विकासका लागि कस्तो मोडेल उपयुक्त हुन्छ भन्ने ढाँचा तयार पार्न सक्ने मान्छे हुन् प्रधान।

नेपाल समृद्ध इतिहास र संस्कृतिले युक्त भए तापनि सत्तालोलुपताले ग्रस्त दलीय चरित्रले आर्थिक, सामाजिक विकास हुन नसकेको लेखकको जिकिर छ। दलहरूले चुनावमा गरेका प्रतिबद्धता पूरा नगरेको र राष्ट्रिय प्राथमिकतामा पर्नुपर्ने विषय बेवास्तामा परेको उनको निचोड छ।

लेखकको जोड गरिबी र निरक्षरतालाई सम्बोधन गर्नुपर्नेमा छ। यसका लागि उनले कुनै पनि व्यक्ति भोको नहोस्, कुनै पनि व्यक्ति निरक्षर नहोस् र कुनै पनि व्यक्ति बेरोजगार नहोस् भन्ने उक्ति सुझाएका छन्। उनको बुझाइमा यसलाई मूर्त रूप दिने आधार भनेको कृषिको विकास हो। यसलाई पुष्टि गर्दै उनले के भनेका छन्- ‘कृषिमा १ प्रतिशतले वृद्धि गर्न सकिँदा अरू क्षेत्रमा १.५ प्रतिशत वृद्धि हुन्छ। खानैका लागि जुन मात्रामा खाद्यान्न आयात भइरहेको छ, त्यो जोगाउँदा मात्र पनि हामीले ठूलो आर्थिक लाभ र खाद्य सुरक्षा पाउँछौँ।’

उत्पादकत्व बढाउन ध्यान दिनुपर्ने सुझाव पनि उनले मिहीन रूपमा प्रस्तुत गरेका छन्। खाद्य सुरक्षाका लागि ध्यान दिनुपर्ने पहिलो क्षेत्र भूमि भएको तर्क उनको छ। त्यति मात्र होइन, राष्ट्रिय प्राथमिकता के हुने? त्यसलाई कार्यान्वयन सूक्ष्म योजना (माइक्रोलेभलको प्लान) के हुनुपर्छ, त्यो पनि उनले पुस्तकमा केलाएका छन्। राष्ट्रिय तहमा र वडा तहमा के-के गर्नुपर्छ भन्ने सूची पुस्तकमा छ।

४०-५० वर्षअघिको नेपालमा इलामदेखि दार्चुला, मेचीदेखि महाकाली, व्यास टिकंर, जुम्ला हुम्ला, मनाङ, मुस्ताङ आदि क्षेत्रको पैदल यात्राका वर्णन अर्को महत्त्वपूर्ण पक्ष छ। लेखकले गरेको विदेश भ्रमणका चर्चा पनि छन्। उनले कोरियाको विकासलाई संक्षिप्त रूपमा चर्चा गरेका छन्। जापानको खेती तरिकाको पनि आश्चर्यलाग्दो वर्णन पुस्तकमा पढ्न पाइन्छ।

पुस्तकको सबल पक्ष भनेको यसले दिने सामाजिक इतिहासको झलक हो। यसमा नेपालको बागवानी, पशुपालन, मत्स्यपालन, दुग्ध उत्पादनको अवस्था के थियो र हामीले के उपलब्धि हासिल गर्‍यौँ भन्ने स्पष्ट पारिएको छ।

पहिलो कृषि योजना बनाउने सौभाग्य पाएका प्रधानले तराईमा अन्नबाली, पहाडमा फलफूल तरकारी र हिमाली क्षेत्रमा पशुपालन भन्ने रणनीति योजनामार्फत अघि लगाए जुन नेपालको कृषि विकासको मुख्य आधार हो। निजी क्षेत्रलाई अघि नलगाएसम्म देशमा उत्पादकत्व वृद्धि हुँदैन भन्ने पनि उनले प्रस्ट पारेका छन्।

पुस्तकमा सन्दर्भ सामग्री सूची समावेश भएको भए अनुसन्धानकर्मी र प्राज्ञिक प्रयोगमा अझ उपयोगी बन्न सक्ने थियो। पुस्तक त ऐतिहासिक छ त्यसलाई पुष्टि गर्ने केही थान फोटाको अभाव छ।

पुस्तकले शीर्षकअनुसार शिवबहादुर प्रधान हिँडेको बाटोको बारेमा बताउँछ। त्यो नेपालको कृषि कसरी अघि बढ्दै आयो, कसरी फराकिलो हुँदै आयो भन्ने बताउने बाटो हो। साथै यसले भविष्यको हाम्रो बाटो कस्तो हुनुपर्छ भन्ने पनि बताउँछ।

‘कृषिमा मेरो बाटो’ पाठकलाई प्रेरणा दिने पुस्तक हो। यो किताब पढेपछि नेपालको कृषिले कुन गोरेटो, घोडेटो, राजमार्ग र लोकमार्ग पार गरेर आएको रहेछ भन्ने स्पष्ट हुन्छ। पुस्तक १०१६ सालदेखि २०४७ सालसम्मको कृषि प्रशासनको भित्री चित्र पनि हो।


प्रतिक्रिया

One thought on “च्याउदेखि स्याउखेतीसम्म जग बसाल्ने कृषि अड्डाका हाकिम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast