
काठमाडौँ– काठमाडौँ उपत्यकाका केही क्षेत्रमा शुक्रबार लगाइएको कर्फ्यु आदेश शनिबार बिहानसम्मका लागि थपिएको छ।
यसअघि प्रमुख जिल्ला अधिकारीबाट जारी भएको कर्फ्यु आदेश अवस्थाको विश्लेषण गर्दै यस अघि जारी भएको कर्फ्यु आदेशको निरन्तरतास्वरूप मिति शुक्रबार राति १० बजेदेखि शनिबार बिहान ७ बजेसम्मका लागि थप गरिएको हो।
प्रशासनले बानेश्वर तिनकुने क्षेत्र, गौशालादेखि एयरपोर्टसम्म गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वरसम्म र कोटेश्वरदेखि जडिबुटी पुलसम्म कर्फ्यु आदेश जारी गरेको छ।
कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म, गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचनामा उल्लेख छ।
शुक्रबार राजतन्त्र समर्थकले गरेको आन्दोलनका क्रममा दुई जनाको ज्यान गएको छ। निधन हुनेमा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजक र आन्दोलनकारी सबिन महर्जन रहेको प्रहरीले जनाएको छ। आन्दोलनकारीले निजी र सार्वजनिक सम्पत्तिमा तोडफोड, आगजनी, सञ्चार गृहमा तोडफोड, लुटपाट मच्चाएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।