काठमाडौँमा कर्फ्यु [सूचनासहित]

हिमाल प्रेस १५ चैत २०८१ १६:२१
68
SHARES
काठमाडौँमा कर्फ्यु [सूचनासहित]

काठमाडौँ- तीनकुने क्षेत्र अशान्त भएपछि प्रशासनले निषेध आदेश (कर्फ्यु) लगाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले शान्तिनगर गेटदेखि मनोहरा पुलसम्म कर्फ्यु लगाइएको जानकारी दिए। उनले हिमालप्रेससँग भने, ‘राति १० बजेसम्म सो क्षेत्रमा कर्फ्यु आदेश गरिएको छ।’

भण्डारीका अनुसार निजी घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा ढुंगामुढा तथा आगजनी बढ्दै गएपछि कर्फ्यु लगाइएको हो।

गौशालादेखि एयरपोर्टसम्म, तीनकुने हुँदै कोटेश्वरसम्म, कोटेश्वरदेखि जडिबुटी पुलसम्म, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म, गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म कर्फ्यु आदेश गरिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचनामा जनाइएको छ। कर्फ्यु  आदेश गरिएको क्षेत्रभित्र कसैले आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा बैठक, घेराउन गर्न नपाइने सूचनामा उल्लेख छ।

यसअघि प्रदर्शनकारीहरूले प्रहरीको हतियार खोसेका थिए। उनीहरूले प्रहरीमाथि पनि जाइ लागेका थिए। प्रदर्शनकारीको आक्रमणबाट केही प्रहरी घाइते भएका छन्। आन्दोलनकारीले सर्वसाधारणको घरमा पनि आगजनी गरेका छन्। यसैगरी घरमा लगाइएको आगो निभाउन आएको दमकलमा पनि अवरोध गरेका छन्। साथै आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पनि तोडफोड र आगजनी गरेका छन्।

तीनकुनेस्थित बागमती पुलमा प्रहरीले बनाएको सुरक्षा घेरा तोडेर अघि बढ्न खोज्दा प्रहरीले अवरोध गरेपछि दुई पक्षबीच झडप भएको थियो। झडपका क्रममा प्रहरीले कैयौँ सेल अश्रुग्यास प्रहार गरेको थियो। दोहोरो झडपका क्रममा राजावादीले सभा गर्न लागेको मञ्चमा पनि क्षति पुगेको थियो। त्यसपछि प्रदर्शनकारीहरू प्रहरीमाथि आक्रमण र भौतिक सम्पत्ति तोडफोडमा उत्रिएका थिए।

उनीहरूले कान्तिपुर टेलिभिजनको कार्यालयमा ढुंगा प्रहार गरेका छन् भने तीनकुनेमै रहेको अन्नपूर्ण पोस्टको केन्द्रीय कार्यालयमा पनि ढुंगा प्रहार गरेका छन्। प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउन्ड हवाई फायर गरेको थियो। तीनकुनेमा राजतन्त्र समर्थक भेला भएर प्रदर्शनकारीले नेपाललाई हिन्दु अधिराज्य घोषणा गर्नुपर्ने माग गरेका छन्।

प्रकाशित: १५ चैत २०८१ १६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast