अराजक राजावादी : सर्वसाधारणको घर, दमकल र सञ्चार गृहमा आक्रमण

हिमाल प्रेस १५ चैत २०८१ १६:०९
28
SHARES
अराजक राजावादी : सर्वसाधारणको घर, दमकल र सञ्चार गृहमा आक्रमण

काठमाडौँ- राजतन्त्र समर्थकले शुक्रबार राजधानीको तीनकुनेमा आयोजना गरेको प्रदर्शन अराजक बनेको छ।  प्रदर्शनकारीहरूले प्रहरीको हतियार खोसेका छन्। उनीहरूले प्रहरीमाथि जाइ लागेका छन्।

उनीहरूको आक्रमणबाट केही प्रहरी घाइते भएका छन्। आन्दोलनकारीले सर्वसाधारणको घरमा पनि आगजनी गरेका छन्। यसैगरी घरमा लगाइएको आगो निभाउन आएको दमकलमा पनि अवरोध गरेका छन्। प्रदर्शनकारीहरूले काठमाडौँको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पनि आगजनी गरेका छन्। उनीहरूले पार्टी कार्यालयमा तोडफोड गरी आगो लगाएका हुन्।

तीनकुने अशान्त भएपछि प्रहरीले त्यस क्षेत्रमा निषेध आदेश गर्न लागिएको भन्दै माइकिङ गरेको छ।

तीनकुनेस्थित बागमती पुलमा प्रहरीले बनाएको सुरक्षा घेरा तोडेर अघि बढ्न खोज्दा प्रहरीले अवरोध गरेपछि दुई पक्षबीच झडप भएको थियो। झडपका क्रममा प्रहरीले कैयौँ सेल अश्रुग्यास प्रहार गरेको थियो। दोहोरो झडपका क्रममा राजावादीले सभा गर्न लागेको मञ्चमा पनि क्षति पुगेको थियो। त्यसपछि प्रदर्शनकारीहरू प्रहरीमाथि आक्रमण र भौतिक सम्पत्ति तोडफोडमा उत्रिएका थिए।

प्रहरीसँगको ढुंगा हानाहानमा उत्रिएका राजावादीहरूले निजी घरमा आगजनी गरेका छन्। प्रदर्शनकारीले सञ्चार गृहलाई पनि निशाना बनाएका छन्। उनीहरूले कान्तिपुर टेलिभिजनको कार्यालयमा ढुंगा प्रहार गरेका छन् भने तीनकुनेमै रहेको अन्नपूर्ण पोस्टको केन्द्रीय कार्यालयमा पनि ढुंगा प्रहार गरेका छन्।

प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउन्ड हवाई फायर गरेको थियो। तीनकुनेमा राजतन्त्र समर्थक भेला भएर प्रदर्शनकारीले नेपाललाई हिन्दु अधिराज्य घोषणा गर्नुपर्ने माग गरेका छन्।

 

 

प्रकाशित: १५ चैत २०८१ १६:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast