गणतन्त्र बलियो बनाउन अर्को क्रान्ति गर्ने प्रचण्डको घोषणा

हिमाल प्रेस १५ चैत २०८१ १५:३५
40
SHARES
गणतन्त्र बलियो बनाउन अर्को क्रान्ति गर्ने प्रचण्डको घोषणा

काठमाडौँ- नेकपा एकीकृत माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र थप बलियो बनाउन अर्को क्रान्ति गर्ने घोषणा गरेका छन्। समाजवादी मोर्चाले शुक्रबार राजधानीमा आयोजना गरेको सभामा सम्बोधन गर्दै  प्रचण्डले गणतन्त्रमा केही त्रुटि भएकै कारण निरंकुशतावादीहरूले टाउको उठाएको बताउँदै यस्तो घोषणा गरेका हुन्।

उनले भने, ‘गणतन्त्रमा हामीले विगतमा त्रुटि गरेकाले पनि समस्या पैदा भएका छन्। म गम्भीर आत्मसमीक्षा गर्न चाहन्छु, गणतन्त्रवादीहरूले जनताको अपेक्षा पूरा गर्न नसकेकै कारण इतिहासमा फ्याँकिएका तत्त्वहरूले टाउको उठाउन खोज्दैछन्।’ उनले आफ्ना कमजोरी सच्याउँदै अब अर्को क्रान्तिको नेतृत्व गर्न तयार रहेको बताए।

अध्यक्ष प्रचण्डले शोषण र दमनको मार खेपेर यहाँसम्म आएका नेपाली जनता त्यसको प्रतिरोधमा उत्रने बताए। उनले भने, ‘सामन्ती निरंकुशवादीहरूको दिवास्वप्न चकनाचुर पारेर अघि बढ्नेछौँ।’ उनले आफ्ना कमजोरी सच्याएर गणतन्त्रलाई अझ राम्रो, अझ समावेशी गर्न एउटा नयाँ क्रान्ति गरेर समाधान गरिने पति बनाए।

प्रचण्डले हिजो गणतन्त्रको आन्दोलनमा सँगै रहेका दलहरू अहिले बिचौलियासँग गठजोडमा लागेको आरोप लगाए। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नैतिकताको धरातल कमजोर बन्दै गएको बताए। प्रचण्डले भने, ‘लोकतन्त्रको मर्मअनुसार प्रधानमन्त्री प्रतिनिधिसभाप्रति जवाफदेही हुनुपर्नेमा त्यस विपरीत रहेकाले आन्दोलन गर्ने चेतावनी दिएका हौँ।’

उनले कतै केपी शर्मा ओली  राजावादीसँग मिल्न खोजेको आरोप पनि लगाए। उनले भने, ‘उहाँले गणतन्त्र भनेपछि माओवादी देख्नुहुन्छ। माओवादी भनेपछि प्रचण्डलाई देख्नुहुन्छ। उहाँले हिजो पनि बयल गाडा चढेर गणतन्त्र आउँदैन भन्नुभएको हो।’

प्रचण्डले अहिलेको सरकार दलाल र बिचौलियाको घरमा रातको १२ बजे भएको सहमतिअनुसार बनेको पनि बताए।  यसैगरी ओलीले संविधान संशोधनका कुरा उठाएर अर्को नौटंकी गरेको आरोप लगाए। उनले संविधान संशोधनका बारेमा सबै दलबीच विस्तृत समीक्षा गर्नुपर्नेमा जोड दिए।

प्रचण्डले आफ्ना कमजोरी सच्याउने, संविधान संशोधनमा सहमति जुटाइने र नेपाली जनतालाई फेरि रैती बनाउन नदिइने पनि बताए। उनले भने, ‘म ७० वर्ष पार भए पनि अर्को क्रान्तिको नेतृत्व गरेर माथि जान चाहन्छु म।’

प्रकाशित: १५ चैत २०८१ १५:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast