
काठमाडौँ- प्रतिनिधिसभाको शुक्रबारका लागि तय भएको बैठक स्थगित भएको छ। बैठक यही चैत १७ गते आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ।
संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनामा ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ः१५ मा बस्ने तय भए पनि विशेष कारणले स्थगित भएको जनाइएको छ।
प्रतिपक्षी नेकपा माओवादी केन्द्रलगायतका दलको अवरोधका कारण प्रतिनिधिसभा मंगलबारदेखि अवरुद्ध हुँदै आएको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरिएको विरोधमा प्रतिपक्षी दलले संसद् बैठक अवरुद्ध गर्दै आएका हुन्।
ती दलले घिसिङलाई पदबाट हटाइएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा जवाफ दिनुपर्ने बताउँदै आएका छन्। उनीहरूले प्रधानमन्त्रीले जबाफ नदिएसम्म संसद् चल्न नदिने अडान लिएका छन्।