
काठमाडौँ- आज बिहानको मौसम पूर्वानुमान अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू-भागमा मौसम सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ। यससँगै, ती दुई प्रदेशका हिमाली क्षेत्रहरूमा हल्का हिमपात र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ।
राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागमा मौसम आंशिक बदली रहने सम्भावना छ। कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागमा राति हल्का हिमपात र पहाडी भू-भागमा हल्का वर्षा हुने सम्भावना पनि महाशाखाले जनाएकाे छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा हावाहुरीको सम्भावना रहेको छ। महाशाखाको भनाइमा यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक र हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्छ। त्यसैले नागरिकलाई सतर्कता अपनाउन र आवश्यक उपायहरू अवलम्बन गर्न अनुरोध गरिएको छ।