नेपाली समाज फेरि तानाशाहीतर्फ फर्कँदैन : गृहमन्त्री लेखक

हिमाल प्रेस १४ चैत २०८१ १८:३५
22
SHARES
नेपाली समाज फेरि तानाशाहीतर्फ फर्कँदैन : गृहमन्त्री लेखक गृहमन्त्री रमेश लेखक

भैरहवा (रूपन्देही)- गृहमन्त्री रमेश लेखकले संविधान संशोधन जस्तो कुरा दुई तिहाइले मात्र नभई सबै पार्टी र सरोकारवालासँगको व्यापक छलफलपछि सहमतिको वातावरण बनाएर मात्र संशोधन गरिने बताएका छन्।

नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर ३ ले आज (बिहीबार) भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री लेखकले संविधानमा संशोधनमा सबैको सहमतिको आवश्यकता औँल्याए।

संविधान बनेको १० वर्ष भएको उल्लेख गर्दै उनले यसको अभ्यासको क्रममा राम्रा पक्ष र जटिलता देखिएका पक्षमा समीक्षा गर्न आवश्यक रहेको बताए। आवधिक रूपमा संविधानको समीक्षा गर्नुपर्ने उनको भनाइ थियो।

गृहमन्त्री लेखकले मुलुक फेरि निरङ्कुशता र तानाशाहीतर्फ नजाने बताए। नेपाल निरङ्कुश र तानाशाही व्यवस्था फालेर लोकतान्त्रिक व्यवस्थामा अगाडि बढिसकेको उनले उल्लेख गरे। ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा समाज अगाडि बढिसकेपछि फेरि त्यो समाज निरङ्कुशता र तानाशाहीतर्फ फर्केर जान्छ भन्ने कुरा समाज विकास विज्ञानले मान्दैन,’ मन्त्री लेखकले भने, ‘हामीले गर्नुपर्ने काम जति गर्नुपर्थ्यो गर्न सकेका छैनौँ, हुनुपर्ने काम भएका छैनन्। यसले नागरिकमा केही चिन्ता र पीडा अवश्य छ। त्यो चिन्ता र पीडालाई आक्रोशमा बदलेर व्यवस्था कै विरुद्धमा प्रयोग गर्ने काम भइरहेको छ।’

नेपाली कांग्रेस अहिलेको व्यवस्थाको पक्षमा उभिन जरुरी रहेको उल्लेख गर्दै मन्त्री लेखकले कांग्रेस संविधानको रक्षा गर्न तत्पर रहनुपर्ने जिकिर गरे।

प्रकाशित: १४ चैत २०८१ १८:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast