
काठमाडौँ– प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ।
बिहीबार रुपन्देहीको एक्स्ट्रा टेक ओभलमा भएको खेलमा आर्मीले पुलिसलाई ४ विकेटले पराजित गरेको हो। अहिलेसम्म खेलेको ९ खेलमध्ये पुलिसले पहिलो हार बेहोरेको हो।
पुलिसले दिएको १ सय ४९ रनको लक्ष्य आर्मीले ४१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। आर्मीको जितमा विवेक कुमार यादवले सर्वाधिक ४१ रन जोडे।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ४१ दशमलव ४ ओभरमा १ सय ४८ रनमा अल आउट भएको थियो। पुलिसका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ५० रनको योगदान दिए।
यस्तै प्रतियोगिताअन्तर्गत सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा मधेश प्रदेशसँग ४ विकेटले पराजित हुँदै बागमती प्रदेशले चौथो स्थानमा चित्त बुझायो। बागमतीले दिएको २ सय ६० रनको लक्ष्य मधेशले ४६ दशमलव १ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। मधेशको जितमा कप्तान अनिल साहले सर्वाधिक ७० रन जोडे।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५९ रन बनाएको थियो। बागमतीका लागि ओपनर इशान पाण्डेले सर्वाधिक १ सय १४ रन बनाए।
अब शनिवार हुने फाइनलमा साविक विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी खेल्नेछन्।