राजावादीको आन्दोलन : संयोजक धवलशमशेर, प्रसाई जनकमान्डर, लिङ्देन र थापा पत्रकार सम्मेलनमा गएनन्

हिमाल प्रेस १४ चैत २०८१ १६:२६
62
SHARES
राजावादीको आन्दोलन : संयोजक धवलशमशेर, प्रसाई जनकमान्डर, लिङ्देन र थापा पत्रकार सम्मेलनमा गएनन्

काठमाडौँ-  नवराज सुवेदी संयोजकत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले आयोजिना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापा अनुपस्थित भएका छन्। समितिले बिहीबार काठमाडौँको चाबहिलमा पत्रकार सम्मेलन आयोजना गरेको थियो। पत्रकार सम्मेलनमा  राप्रपाका नेता प्रकाशचन्द्र लोहनी भने सहभागी थिए।

राप्रपा र राप्रपा नेपाल दुवै दल राजसंस्था पुनर्स्थापना हुनुपर्ने आवाज उठाउँदै आएका राजनीतिक दल हुन्। राप्रपाका संघीय संसद्‌मा १४ जना सांसद छन्। राप्रपाका सांसदहरूले सदनमा पनि राजतन्त्रका पक्षमा वकालत गर्दै आएका छन्। राप्रपा नेपालको भने संसद्‌मा प्रतिनिधित्व छैन।

‘समिति’ ले आयोजिना गरेको पत्रकार सम्मेलनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई समितिको ‘जनकमान्डर को जिम्मा दिइएको छ। समितिलाई सुझाव तथा सल्लाह प्रदान गर्न डा. जगमान गुरुङको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ।

यसैगरी ‘आन्दोलन परिचालन समिति’को संयोजकमा राप्रपाका महामन्त्री एवम् सांसद डा. धवलशमशेर राणा तोकिएका छन्। समितिमा १,१११ सदस्य चयन गरेको जानकारी दिइयो। पत्रकार सम्मेलनमा संयोजक सुवेदीले संवैधानिक राजसंस्थाको पुनर्स्थापनाका लागि निरन्तर आन्दोलन गर्ने बताए। उनले संवैधानिक राजसंस्थाको पुनर्स्थापना, सनातन हिन्दु अधिराज्यको पुनर्स्थापना, संघीयता खारेजी र भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि निरन्तर आन्दोलन गर्ने बताए।

उनले भने, ‘चैत १५ गते काठमाडौँमा प्रदर्शन गरेपछि १७ गतदेखि आन्दोलनका थप कार्यक्रम अघि बढाइनेछ।’ सुवेदीले २०४७ को संविधानलाई आधार मानेर ७२ को संविधानका सकारात्मक प्रावधानलाई समेट्दै प्रमुख राजनीतिक पक्षहरूबीच सहमति हुनुपर्नेमा जोड दिए। यसबाट संविधान र व्यवस्था दुवैमा संरचनागत पुनरवलोकन गर्न सकिने उनको भनाइ छ। संयोजक सुवेदीले हिजो गणतन्त्र खोजेका जनताले अहिले पुनः राजसंस्था खोजेको उल्लेख गर्दै राजनीतिभन्दा माथिको अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था आवश्यक रहेको बताए।

सुवेदीले पछिल्लो चरणमा धेरै पक्षबाट सबैलाई एकताबद्ध गरेर अघि बढ्न आफूलाई आग्रह भएपछि ८७ वर्षको उमेरमा पनि सबैलाई संयोजन गर्ने जिम्मेवारी बहन गर्ने निर्णय लिएको बताए।

पत्रकार सम्मेलनअगाडि प्रसाईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका छन्। उनी निर्मल निवासमा पुगेका थिए। उनले पूर्वराजासँग के विषयमा कुराकानी गरे भन्ने खुलेको छैन।

प्रकाशित: १४ चैत २०८१ १६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast