
काठमाडौँ- विद्यालय शिक्षा विधेयक-२०८० पारित गराउन सरकार एकपछि अर्को गैरजिम्मेवार बन्दै गएको आरोप शिक्षकहरूले लगाएका छन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बुधबार शिक्षकहरूलाई आन्दोलन स्थगित गरेर वार्तामा आउन आग्रह गरेकी थिइन्।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा जारी राखेको अनशनस्थलमा बुधबार पुगेकी मन्त्री भट्टराईले भनिन्, ‘आन्दोलन गर्दा भोलि अप्ठ्योरो पर्न सक्छ। त्यो अवस्था नबनोस् भन्नेमा तपाईंहरू सचेत हुनुहुन्छ। त्यसैले संवादमै जोड दिऔँ।’
यसैगरी, बिहीबार राजधानीमा भएको एक कार्यक्रममा सहभागी प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले सरकारको तलब खाएर आन्दोलन गर्न नपाइने, शिक्षकको ट्रेड युनियन अधिकार विधेयकमा नराख्ने र विधेयकमा शिक्षकलाई कारबाहीका दायरा ल्याउने चेतावनी दिए।
विद्यालय शिक्षा विधेयक लामो समयदेखि समितिमा अड्किएको छ। महासंघले विधेयकमा छलफल गरी तत्काल पारित गर्न दबाब दिँदै विभिन्न प्रकारका आन्दोलन गरिसकेको छ। महासंघले २० गतेदेखि अब देशभरका शिक्षकलाई काठमाडौँमा उतारेर सशक्त आन्दोलन गर्दैछ।
समिति सभापति थापाले महासंघको आन्दोलनका विषयमा शिक्षकलाई ‘होच्याएर’ बोलेपछि बिहीबार विवाद भएको हो। शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई नेपाल) ले आयोजना गरेको विद्यालय शिक्षा विधेयक छलफल कार्यक्रममा सभापति थापाले सरकारको तलब खाएर आन्दोलन नपाइने, शिक्षकको ट्रेड युनियन अधिकार विधेयकमा नराख्ने र विधेयकमा शिक्षकलाई कारबाहीका दायरा बनाउने कुरा गरेपछि शिक्षकहरू आक्रोशित भएका हुन्।
सभापति थापाको उक्त अभिव्यक्तिको नेपाल शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुली प्रतिकार गरेकी छन्। पराजुलीले सभापति थापालाई भनिन्, ‘तपाईँ अहिले कुन पदमा हुनुहुन्छ? तपाईँ जिम्मेवार पदमा बसेर गैरजिम्मेवार कुरा बोल्न पाइँदैन। तपाईँले जुन कुरा बोल्नुभएको छ त्यो शिक्षकमाथि अपमानित शब्द छ। सार्वजनिक कार्यक्रममा शिक्षकलाई हेप्नुभयो, अपमान गर्नुभयो। हामीले सहन सकेनौँ।’
शिक्षक महासंघले शिक्षा ऐन अविलम्ब जारी गर्नुपर्ने माग गर्दै गत माघ २० गतेदेखि आन्दोलन गरिरहेको छ। सहअध्यक्ष पराजुली आन्दोलन परिचालन समिति संयोजक हुन्। कार्यक्रममा सहअध्यक्ष थापाले जारी आन्दोलनको कुरा राखिन्। नेपाल शिक्षक संघका अध्यक्ष साेमनाथ गिरीले सभापति थापालाई शिक्षा समितिमा किन कोरम पुगेन? भत्ता खाने काम मात्रै भयो? कति पटक बैठक बस्यो भन्दै त्यसको जवाफ माग गरेका थिए।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारी, एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी, शिक्षक संघका महासचिव ज्ञानेन्द्र रावल, संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापा, महासचिव भूपाल उप्रेती, सांसद सरिता भुसाल, रेखा शर्मा, डा.महाश्रम शर्मालगायत उपस्थित थिए।
सभापति थापाको ‘गैरजिम्मेवार अभिव्यक्ति’ले शिक्षक आन्दोलनलाई बल पुगेको र एउटा एजेन्डा पनि थप गरेको संयोजक पराजुलीले बताइन्। उनले हिमालप्रेससँग भनिन्, ‘सभापतिको कुराले हाम्रो आन्दोलनलाई बल पुगेको छ। विधेयक अघि बढाउन सभापति थापाको क्षमता पुग्दैन। उहाँले अविलम्ब राजीनामा दिनुपर्छ। यो महासंघको आन्दोलनको थप एजेन्डा हो।’
शिक्षा विधेयक टुंगोमा पुर्याउन छविलाल विश्वकर्माको संयोजकत्वमा उपसमिति बनाइएको छ। ३५ दिनभित्र प्रतिवेदन बुझाउन समयसिमा दिइएको छ। समितिले काम सुरु नगरेको शिक्षा समिति सदस्य सांसद सरिता भुसालको उधृत गर्दै पराजुलीले जानकारी दिइन्। ‘विषयगत उपसमिति बनेको छ। त्यसले काम सुरु नगरेको बुझियो। सांसद सरिता भुसालले भन्नुभयो, ‘१९ गतेबाट छलफल सुरु हुन्छ। सुरु भएको मितिदेखि ३५ दिन हो। छलफल पनि सुरु भएको छैन,’ संयोजक पराजुलीले भनिन्।
महासंघले विद्यालय शिक्षा विधेयक छिटो पास गर्न दबाब दिन काठमाडौँमा अनिश्चितकालीन आन्दोलन गर्न लागेको हाे। शिक्षा मन्त्रालयले महासंघसँग संवाद गर्न समन्वय तथा सहजीकरण समिति गठन गरेको थियो। महासंघले उक्त समितिमा बसेर छलफल गर्नु औचित्यपूर्ण नहुने भन्दै प्रत्यक्ष आन्दोलनमा जानुपर्ने अवस्था आएको जनाएको छ। विद्यालय शिक्षा विधेयक संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलकै क्रममा रहेको छ।