नौ महिनामा साउदीबाट आयो १२१ युवाको शव, ‘क्षतिपूर्ति दिलाउन गम्भीर छैन’ सरकार

रमेश भारती १४ चैत २०८१ १४:५६
210
SHARES
नौ महिनामा साउदीबाट आयो १२१ युवाको शव, ‘क्षतिपूर्ति दिलाउन गम्भीर छैन’ सरकार

काठमाडौँ- पछिल्लो ९ महिनामा साउदी अरेबियामा १ सय ३८ जना नेपालीको ज्यान गएको छ। मृत्यु हुने सबै वैदेशिक रोजगारीमा त्यहाँ पुगेका कामदार हुन्। साउदीस्थित नेपाली दूतावासका अनुसार यो संख्या साउनदेखि चैत १० गतेसम्मको हो।

मृत्यु भएकामध्ये १ सय २१ शव नेपाल पठाइएको नेपाली राजदूत डा. नरेशविक्रम ढकालले जानकारी दिए। उनका अनुसार १७ शव पठाउने प्रक्रियामा छ। अधिकांश नेपालीको मृत्यु कार्यस्थलमा हुने दुर्घटना, आत्महत्या, ट्राफिक दुर्घटना, पानीमा डुबेर र एस्फिक्सियाका कारण हुने गरेको पाइएको छ। यसैगरी केही कामदारको स्वाभाविक मृत्यु भएको र कतिपयको मृत्युको कारण नखुलेको ढकालले बताए।

१३८ मध्ये ७० जना कामदारको प्राकृतिक, १६ जनाको आत्महत्या, १६ जनाको कार्यस्थलमा भएको दुर्घटना, २१ जनाको ट्राफिक दुर्घटनामा र १५ जनाको मृत्युको कारण नखुलेको दूतावासले जनाएको छ।

दूतावासले मृतकका परिवारलाई कम्पनीबाट पाउनुपर्ने सेवासुविधा र बिमा रकम उपलब्ध गराउन पहल गर्दै आएको राजदूत ढकालले जानकारी दिए।

साउदीका अस्पतालले अधिकांश घटनामा स्वाभाविक मृत्यु वा ‘हृदयाघात’ जस्ता कारण उल्लेख गरेर मृत्युको वास्तविकता नखुलाउने जानकारहरू बताउँछन्। प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) पूर्वअध्यक्ष तथा सल्लाहकार कुलबहादुर कार्कीले भने, ‘दुर्घटना, आत्महत्या, ट्राफिक दुर्घटना र पानीमा डुबेर मृत्यु भएका बाहेक साउदीमा नेपाली मृत्युको कारण खुलाइँदैन।’

‘नेचुरल डेथ’ वा ‘हृदयाघात’ भएर मृत्यु भएका कामदारको शवको पोस्टमार्टम हुँदैन। पोस्टमार्टम अभावमा आधाभन्दा बढी कामदारको मृत्युको कारण स्पष्ट नहुने उनी बताउँछन्। कार्कीले भने, ‘नेचुरल डेथ’ वा ‘हृदयाघात’ भएर मृत्यु भएका शवको पोस्टमार्टम हुँदैन। यसरी मृत्यु भएका कामदारले साउदी सरकार र त्यहाँका बिमा कम्पनीबाट क्षतिपूर्ति पनि दिँदैनन्’, उनले भने।

‘नेचुरल डेथ’ र ‘हृदयाघात’ भएर निधन भएका कामदारका परिवारलाई क्षतिपूर्ति दिलाउन सरकार गम्भीर नरहेको आरोप कार्कीको छ। उनी यस विषयमा नेपाल सरकार र राजदूतले साउदी सरकारसँग छलफल गर्न नसकेको बताए।

दूतावासले पनि नौ महिनामा प्राकृतिक कारणबाट मृत्यु भएका ७० जना कामदारले क्षतिपूर्ति नपाएको जनाएको छ।

श्रम मन्त्रालयले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवारका सदस्यलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिँदै आएको छ। वैदेशिक रोजगार बोर्ड सचिवालयका अनुसार म्यादी बिमामार्फत मृतक कामदारका परिवारले सात लाख रुपैयाँसम्म क्षतिपूर्ति पाउँदै आएका छन्।

साउदीमा मृत्यु भएका नेपाली कामदारको शव नेपाल ल्याउन दुई सातादेखि एक महिनासम्म लाग्छ। आत्महत्या गरेका व्यक्तिको शव ल्याउन तीन महिनासम्म लाग्ने डा. ढकालले बताए। उनले भने, ‘साउदीबाट शव पठाउन ठूलै समस्या रहेछ। यसलाई सजिलो छ छिटो पठाउन सम्बन्धित निकायसँग छलफल भइरहेको छ।’

वास्तविक मृत्युको कारण खुल्दैन

दूतावासले मृत्युको वास्तविक कारण नै नखोजी शव बुझ्ने गरेको साउदीका लागि पूर्वराजदूत उदयराज पाण्डे बताउँछन्। उनले भने, ‘यसमा हाम्रो पनि कमजोरी छ।’ पाण्डेका अनुसार रोजगारदाता देशमा कार्यस्थलमा शौचालयको पर्याप्त व्यवस्था नहुँदा कतिपय कामदार लामो समय पिसाब च्यापेर बस्न बाध्य हुन्छन्। यस्तै कतिपय कामदारले पानी पिउन नपाउँदा मिर्गौलामा समस्या देखिने गरेको छ। सोही कारण कतिपय युवा रोग लिएर फर्किएका छन्।

‘नेचुरल डेथ’ वा ‘हृदयाघात’ बाट भएका मृत्युका बारेमा रोजगारदाता देशसँग कूटनीतिक तहमा छलफल गर्नुपर्ने उनको सुझाव छ। चिसो हावापानीमा हुर्केका नेपाली अस्वाभाविक ‘हिट स्ट्रेस’ काम गर्न पुग्दा उनीहरूको प्रजनन क्षमतामा पनि ह्रास आइरहेको चिकित्सकहरू बताउँछन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्‌सिंह भण्डारीले पछिल्ला वर्षमा उच्च तापक्रमले निम्याउने ‘हिट स्ट्रेस’ले मुटु र मिर्गौलामा संक्रमण बढेको बताए। उनले भने, ‘यस्तो समस्या समाधान गर्न स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउन पहल भइरहेको छ।’

वैदेशिक रोजगार बोर्ड सचिवालयका अनुसार आर्थिक वर्ष २०६५/०६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा १४ हजारभन्दा धेरै नेपाली कामदारको अकालमा मृत्यु भएको छ। यस अवधिमा साउदीमा मात्र २ हजार ५ सयभन्दा बढी नेपालीले ज्यान गुमाएका छन्।

नेपाली कामदारको ठूलो संख्या खाडी देश र मलेसिया हो। यिननै देशबाट दैनिक ३ देखि ४ वटा शव नेपाल आउने गरेको छ।

प्रकाशित: १४ चैत २०८१ १४:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast