
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आन्दोलन गर्दा विद्यालय शिक्षा विधेयक पारित गर्न कठिन हुने भएकाले संवादमा जोड दिन शिक्षकहरूलाई आग्रह गरेकी छन्।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा जारी राखेको अनशनस्थलमा बुधबार पुगेकी मन्त्री भट्टराईले भनिन्- ‘आन्दोलन गर्दा भोलि अफ्ठ्यारो पर्न सक्छ। त्यो अवस्था नबनोस् भन्नेमा तपाईंहरू सचेत हुनुहुन्छ। त्यसैले संवादमै जोड दिऔँ।’ उनले देशभरका शिक्षकलाई काठमाडौँ बोलाएर आन्दोलन गर्नुभन्दा बरु मागहरू अगाडि राखेर समाधान खोज्नुपर्नेमा जोड दिइन्।
मन्त्री भट्टराईले शिक्षा ऐन छिटो ल्याउन संवाद प्रमुख उपाय भएको बताएकी छिन्। उनले भनिन्- ‘संसद्ले काम सुरु गरिसक्यो। बसौँ, संवाद गरौँ। विधेयकमा केके कुरा समेटेरे लैजाने, अनशन बस्न नपर्ने वातावरण कसरी तयार गर्ने भन्ने विषयमा छलफल गरौँ।’
भट्टराईका अनुसार सरकारले शिक्षकसँग संवाद अघि बढाउन सहजीकरण समिति गठन गरेको बताइन्। उनले भनिन्- ‘हामीले वार्ता भनेका छैनौँ, सहजीकरण समिति बनाएका छौँ। छिटोभन्दा छिटो विधेयक पास गर्ने गरी महासंघले सहजता दिनुभएकै छ। यसले ऐन निर्माण प्रक्रियालाई गति दिन मद्दत गर्छ।’

मन्त्री भट्टराईले आफ्नो स्वास्थ्य समस्याका कारण विधेयक निर्माणको काम केही ढिलो भएको स्वीकार गर्दै अहिले विधेयक टुंग्याउने प्रक्रिया तीव्र रूपमा अघि बढेको बताइन्। उनले भनिन्- ‘म एक महिना बिरामी नभएको भए विधेयकको काम अझै अगाडि बढिसक्थ्यो। यस बिचमा समन्वय हुन सकेन त्यसका लागि क्षमा चाहन्छु।’
ऐन निर्माणका लागि गठित ११ सदस्यीय उपसमितिले अहिले तीव्र रूपमा काम गरिरहेको जानकारी पनि मन्त्री भट्टराईले दिएकी छन्। प्रदेशस्तरका सरोकारवालासँग सुझाव संकलन गरेर विधेयकलाई अन्तिम रूप दिन लागिएको उनले बताइन्।
उनले विधेयकमा अझै पनि नसमेटिएका विषय भए ल्याउन महासंघलाई आग्रह गरिन्। शिक्षा ऐन ५२ वर्षपछि आउन लागेको हुँदा यसमा गम्भीर छलफल आवश्यक रहेको भन्दै उनले सबै पक्षलाई सहयोग गर्न आग्रह गरिन्। ‘ऐन छिटो पारित गर्न मन्त्रालय प्रतिबद्ध छ। तपाईंहरू निश्चिन्त हुनुहोस्’, मन्त्री भट्टराईले भनिन्।
विद्यालय शिक्षा विधेयक संसद्बाट तत्काल पारित गर्न दबाब दिने उद्देश्यले शिक्षकहरू महासंघको अगुवाइमा माघ २० गतेदेखि आन्दोलनमा छन्। विरोधका विभिन्न चरण पार गरेका शिक्षकहरूले चैत २० गतेदेखि राजधानी केन्द्रित प्रदर्शन गर्ने तयारी गरेका छन्।
प्रदर्शनमा तीन लाखभन्दा बढी शिक्षा उतार्न लागिएको आन्दोलन परिचालन समिति संयोजक तथा महासंघको सहअध्यक्ष नानुमाया पराजुलीले बताइन्। उनले भनिन्, ‘शिक्षामन्त्रीले जस्तो आश्वासन दिए पनि हामी आन्दोलनबाट पछि हट्दैनौँ। कि जितिन्छ कि बितिन्छ भन्ने हाम्रो नारा नै छ। संसद्बाट विद्यालय शिक्षा विधेयक पारी नहुन्जेलसम्म आन्दोलन चलिरहनेछ।’
यसैगरी नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अब संवादको कुनै जरुरी नभएको बताए। यसैगरी उनले सहजीकरण समितिको पनि औचित्य नरहेको बताए। सुवेदीले भने, ‘समितिमा खर्चिने समय ऐन निर्माणमा लगाउँदा राम्रो हुन्छ। हाम्रो घोषित आन्दोलन स्थगित हुँदैन। ऐन जारी नभएसम्म निरन्तर आन्दोलन हुन्छ।’