
काठमाडौँ- कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाइएको विरोधमा बुधबार दोस्रोपटक बसेको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध भएको छ। बैठक सुरु हुनासाथ नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा लगायतका विपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए।
सभामुख देवराज घिमिरेले बैठक सञ्चालन गर्नका लागि बस्न आग्रह गर्दा पनि अटेर गरेपछि बैठक बिहीबारसम्मका लागि स्थगित भएको बताएका थिए। यसअघि बुधबारै बसेको बैठक पनि प्रतिपक्षी दलको अवरोधका कारण अघि बढ्न नसकी आधा घण्टाका लागि स्थगित भएको थियो।
विपक्षीहरूले घिसिङलाई पदबाट हटाइएको विषयमा प्रधानमन्त्रीले जबाफ दिनुपर्ने माग गरेका छन्। बैठकअघि सभामुख घिमिरेले संसद भवनमा विपक्षी दलका नेतासँग छलफल गरेका थिए। कुलमानका विषयमा ऊर्जामन्त्रीले जवाफ दिने सभामुखको प्रस्तावमा विपक्षी दलका नेताहरुले असहमति जनाएका थिए। उनीहरुले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग रहेको जानकारी गराएका थिए।
प्रतिनिधिसभाको अर्को बैठक बिहीबार ११ बजे बस्नेछ।