
दाङ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले वैकल्पिक राजनीति पुरानो बाली लगाउनु नभई नयाँ बिउ रोपेर फल फलाउनु भएको बताएका छन्।
लुम्बिनी प्रदेशद्वारा आयोजित नेसपा (नयाँ शक्ति) को प्रथम महाधिवेशन भाव सम्प्रेषण तथा प्रशंसा अभियान उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले पुरानै राजनीतिक प्रणालीमा सुधार नहुँदा आफूहरूले नयाँ वैकल्पिक राजनीति सुरु गरेको बताए।
अध्यक्ष भट्टराईले भने, ‘वैकल्पिक राजनीति पुरानो बाली लगाउनु होइन बरु नयाँ बिउ रोपेर नयाँ फल फलाउनु हो।’ उनले पुराना राजनीतिक प्रणालीमा सुधार गर्न पर्याप्त नभएको र नयाँ सोचका साथ राजनीति गर्नुपर्ने बताए।
कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री डा.भट्टराईले स्थिर सरकारको अपरिहार्यतामा जोड दिँदै बेरोजगारी र विदेशी निर्भरता हटाउनका लागि दूरगामी सोचयुक्त नीति निर्माणको आवश्यकता औंल्याए।
नेसपा (नयाँ शक्ति) ले आफ्नो केन्द्रीय समिति सदस्यतामा २५ प्रतिशत ४० वर्ष मुनिका युवालाई समेटेर युवा नेतृत्वको महत्त्वपूर्ण उदाहरण प्रस्तुत गरेको कार्यक्रमका वक्ताहरूले बताए। युवालाई सशक्त रूपमा राजनीतिमा सहभागी गराएर मात्र मुलुकको स्थिरता र समृद्धि सम्भव हुने उनीहरूको भनाइ थियो।