
इटहरी- इटहरी चोकस्थित एउटा व्यावसायिक भवनमा बुधबार बिहान लागेको आगो पाँच घण्टा बित्दा पनि निभाउन सकिएको छैन। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, दमकल र स्थानीय परिचालन हुँदा पनि सेन्टर प्लाजामा लागेको आगो निभाउन नसकिएको हो। आगो बिहान साढे ९ बजेतिरदेखि लागेको थियो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक ९एसपी० सुमन तिम्सिनाका अनुसार भवनमा फसकेका ११ जनाको उद्धार गरिएको छ। ‘यसअघि १६ जनाको उद्धार गरिएको भनिए पनि विवरण अद्यावधिक गर्दा ११ जनाको उद्धार गरिएको हो,’ एसपी तिम्सिनाले भने, ‘हेलिकोप्टरसहित विपद् सुरक्षा समितिले ११ जनाको उद्धार गरेको छ।’
उनका अनुसार तीनजना महिला र ८ जना पुरुषको उद्धार गरिएको हो। सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएमध्ये एक महिला घाइते भएकी थिइन्। आगलागीको धुवाँमा निस्सासिएर बेहोस भएकी ती महिलाको सामान्य उपचारपछि घर फर्किएको एसपी तिम्सिनाले बताए।
‘घाइते अवस्थामा उद्धारपछि उपचारका लागि पठाइएको थियो। उपचारपछि अहिले घर फर्कनुभएको छ,’ उनले भने, ‘हामीलाई होटल सञ्चालकले १५ वटा कोठा लागेको जानकारी गराएपछि हेलिकोप्टर तयारी अवस्थामा राखिएको थियो।’
उनका अनुसार होटल सञ्चालकले १५ वटा कोठामा ‘गेस्ट’ बसेको जानकारी गराएका थिए। होटल बरन्डाबाट सल्किएको आगो हालसम्म नियन्त्रणमा आएको छैन। अहिले एक दर्जन बढी दमकलले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।
‘उद्धारपछि पनि कोही फसेका छन् कि भनेर हेलिकोप्टर तयारी अवस्थामा राखिएको थियो,’ उनले भने, ‘विपद् सुरक्षा समिति आगो निभाउन बिहानैदेखि खटिएको छ। हालसम्म नियन्त्रणमा आउन सकेको छैन। अझै केही समय लाग्छ।’
इटहरीका व्यावसायी राजेश श्रेष्ठको उक्त प्लाजामा होटल बरन्डासहित एउटा सिनेमा हल सञ्चालनमा थियो। यसैगरी लक्ष्मी सनराइज बैँक, ठूला इलेक्ट्रोनिक्स पसल, मोबाइल पसललगायत त्यही भवनमा छन्।
आगलागी निभाउन सुनसरीका एसपी तिम्सिनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल १ नं. बाहिनीबाट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक मनीष थापाको कमान्डमा १०५ जना, नेपाली सेनासहित झण्डै साढे तीन सय सुरक्षाकर्मी परिचालन भएका छन्।