
काठमाडौँ- कामका लागि विदेश जाँदा अनेक झन्झट भोग्दै आएका युवाले अभिमुखीकरण तालिममा पनि समस्या भोग्न बाध्य भएका छन्। विदेश जाने कामदारले लिने तालिम सञ्चालनमा क्लस्टरका कारण समस्या देखिएको हो। अभिमुखीकरण तालिम असन्तुलित हुँदा उनीहरू समस्या भोगिरहेका छन्।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जानुअघिको तालिम व्यवस्थित र प्रभावकारी बनाउन देशगत तालिमको व्यवस्था गर्दै तालिम कार्यविधि-२०७६ मा गत मंसिरमा संशोधन गरेको थियो।
नेपाल अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतमले कार्यविधि संशोधन भए पनि क्लस्टरका कारण समस्या समाधान हुन नसकेको बताए।
श्रम मन्त्रालयले गत माघमा देशगत समूह (क्लस्टर) छान्न सार्वजनिक सूचना जारी गर्दा १ सय ४३ वटा तालिम प्रदायक संस्थाले तोकिएअनुसारको पूर्वाधार निर्माण गरी देशगत क्लस्टर छानिएका थिए।
यी सबै संस्थाले क्लस्टरअनुसारकै मापदण्डबमोजिम तालिम सञ्चालन गर्दै आएका छन्। महासंघका अध्यक्ष गौतमले क्लस्टर कार्यान्वयनमा असन्तुलित भएपछि वैदेशिक रोजगारीमा माल्दिभ्स, श्रीलंकालगायतका देश वैदेशिक रोजगारीमा जाने कामदारका हकमा तालिम सञ्चालनमा समस्या भइरहेको बताए।
यसै कारण कामदारको समूह स्पष्ट नभएको ती देश वैदेशिक रोजगारीमा जानेहरू तालिम केन्द्र खोज्दै भौँतारिइरहेका छन्। ‘माल्दिभ्स, श्रीलंकालगायतका अन्य देश जाने कामदारका हकमा क्लस्टर असन्तुलित हुँदा तालिम सञ्चालनमा असहज भइरहेको छ। यी देश जाने कामदारका हकमा सहज होस भनेर जीसीसी (गल्फ कोअर्डिनेसन काउन्सिल) बाहेक अन्य समूहमा राख्न वैदेशिक रोजगार विभागसँग माग गरेको छौँ। तर सम्बोधन भएको छैन’, उनले भने।
वैदेशिक रोजगारमा जाने कामदारलाई श्रम स्वीकृतिअघि अनिवार्य रूपमा दिँदै आएको पूर्वप्रस्थान समस्या हुँदा अभिमुखीकरण तालिम सञ्चालनमा समस्या देखिएको उनको बुझाइ छ।
वैदेशिक रोजगार विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले क्लस्टरले सकारात्मक परिणाम दिन थाले पनि केही देशको तालिम सञ्चालनमा समस्या सिर्जना भएको जानकारी दिए। उनका अनुसार युरोपको साइप्रस र टर्कीमध्ये एसिया समूहमा समावेश गरिएको थियो।
युरोप समूहमा अमेरिका, क्यानडा र छुटेका अफ्रिकी तथा पश्चिमा देशलाई देशगत समूह बनाएर प्रशिक्षण गराउने छलफल भइरहेको उनले बताए। ‘कार्यविधि कार्यान्वयन हुने क्रममा देशगत समूह फरक परेको हो। यो समस्या चाँडै समाधान हुन्छ’, उनले भने।
जीसीसीअन्तर्गतको खाडी मुलुकका लागि १ सय २ वटा, युरोप समूहका लागि २४ वटा, जापान-कोरिया समूहका लागि ९ वटा, मलेसियाका लागि ६ वटा, जीसीसीबाहेकका लागि २ वटा र इजरायलका लागि सरकारी तालिम केन्द्र छुट्याएको छ। यिनै संस्थाले अभिमुखीकरण तालिम सञ्चालन गर्दै आएका छन्।
जीसिसीबाहेकको देशगत समूहमा रहेका एसियाका अन्य देश सबै युरोप समूह बनाई प्रशिक्षण गर्ने व्यवस्था गरिएको विभागले जनाएको छ। तालिम केन्द्रको विभाजनमा असन्तुलनको मुख्य कारण हाल मलेसियाको रोजगारी बन्द हुनु र जीसीसीबाहेक देश भनेर जोर्डन मात्र राखे भए पनि क्लस्टरमा श्रीलंका र माल्दिभ्स समावेश भएको महासंघले जनाएको छ।
जुन देश वैदेशिक रोजगारीमा जाने हो। त्यही देशको वातावरणमा प्रशिक्षण गर्न पाउने तथा सम्बन्धित देशमा गएर फर्किएकै कामदारबाट तालिम सञ्चालन गर्दा राम्रो भइरहेको संघको भनाइ छ। क्लस्टरको समस्या चाँडै समाधान गर्ने महासंघको माग छ।