
पोखरा- अमेरिकन नागरिक ७२ वर्षीया लोरेटा हुलवर्क गुलाबी कुर्ता सुरुवाल र हातमा रातो चुरा लगाएर जति सुन्दर देखिएकी थिइन् उतिनै उनका आँखाहरूमा पीडा र अनुहारमा निराशा छचल्किएका थिए। सराङकोटको डाँडामा उभिँदा उनका गह्रौँ मनका भावनाहरू बाँदलसरि मडारिएका थिए।
केही वर्षअघि उनले श्रीमान फिल हुलवर्कको हात समाउँदै यही सिँढीहरू उक्लिएकी थिइन्। सँगै खिचिएका तस्बिरहरू, सूर्योदयको सुनौलो रङ, नीलो आकाशको शान्ति, कुहिरोले बनाएका अनौठा आकृतिहरू, हरियाली डाँडाहरू, चराचुरुङ्गीका चिरबिर सबै त्यही थिए। थिएन त केवल एउटा साथ, एउटा स्पर्श, एउटा हात, जसले उनलाई जीवनभर समातेर राख्ने वाचा गरेको थियो। अब तस्बिरहरू केवल याद बनेका थिए, सूर्योदयको उज्यालोभन्दा मनको अँध्यारो गहिरो थियो र सिँढीहरू उक्लिने पाइला साहाराविहीन भएका थिए।
नेपाललाई दोस्रो घर सम्झने ७६ वर्षीय अमेरिकी नागरिक फिल हुलवर्कको नेपालप्रतिको अपार मायाले नै लोरेटालाई उनको अस्तु बोकेर नेपाल ल्याउने प्रेरणा दियो। अमेरिकाको डेल्टा एयरलाइन्समा कार्यरत फिल पहिलो पटक सन् २००७ मा नेपाल आएका थिए। थाइल्याण्ड भ्रमणका क्रममा एकजना साथीले नेपालको प्राकृतिक सुन्दरताबारे सुनाएपछि उनको गन्तव्य नेपाल बन्न पुग्यो। प्रकृतिसँग रमाउन मन पराउने हुलवर्क नेपालका विभिन्न स्थानमा पुगेर प्राकृतिक सौन्दर्यसँगै यहाँको जीवनशैली र संस्कृतिमा घुलमिल भए। जहाँ गए पनि, जहाँ पुगे पनि, उनलाई पोखराको सुन्दरताले नै सबैभन्दा बढी तान्यो।
पोखराका सुन्दर दृश्य, संस्कृति र यहाँका मानिसहरूको मायालु स्वभावले फिललाई यति मोहित बनायो कि उनी हरेक वर्ष नेपाल आउन थाले। एयरलाइन्सबाट सेवा निवृत्त भएपछि त उनले आफ्नो अधिकांश समय नेपालमै बिताउन थाले।
सन् २०१९ मा नेपाल बसाइँका क्रममा फिल हुलवर्क नसा च्यापिएपछि विरामी परे। लेकसाइड गौरीघाटस्थित होटल ‘रानीवन आर्केट’ मा बस्दै आएका हुलवर्कलाई होटल सञ्चालक तथा पर्यटन व्यवसायी हरि भुजेलले उपचारमा विशेष ध्यान दिए। तर, समस्या निको भएन।
एक महिनापछि लोरेटा नेपाल आइन् र उनलाई आफ्नै देश लगेपछि उपचार गरिन्। विडम्बना एउटा समस्या समाधान नहुँदै उनीलाई ‘ब्रेन ट्युमर’ भएको पत्ता लाग्यो। अन्ततः उपचारकै क्रममा ६ महिनाअघि फिलको निधन भयो। बिरामी अवस्थामै नेपाललाई सम्झिएका फिलको आत्माको शान्तिका लागि उनकी पत्नी लोरेटा श्रीमान्को अस्तु लिएर नेपाल आएकी हुन्।
सराङकोट डाँडामा लोरेटाले स्व श्रीमान्को तस्बिरलाई स्पर्श गर्दै पुष्पगुच्छा अर्पण गरिन्। मुस्कुराइ रहेको श्रीमान्को तस्बिर एक टकले हेर्दै गर्दा लोरेटाका आँखा आँसुले भरिए। मौनताबीचका अनगिन्ती भावनासँगै उनले श्रीमान्को अस्तु सराङकोटको डाँडामा विर्सजन गरिन्।
फिलले आफ्नै जीवनकालमा नेपाललाई माया गर्दै बारम्बार आफ्नो अस्तु नेपालमा लैजान लोरेटालाई अनुरोध गर्थिन्। ‘फिल नेपालका प्रकृति र संस्कृतिमा रमाउने असाध्यै सरल र मिजासिलो व्यक्ति हुनुहुन्थ्यो’, होटल सञ्चालक हरि भुजेलले भने, ‘हामीले धेरै पटक हाम्रो घरको भान्सामा सँगै नेपाली खाना खाएका छौँ, होली पर्व मनाएका छौँ, मठमन्दिर देवालय पुगेका छौँ, थुप्रैथुप्रै सम्झना छन् फिलसँग’, फिलको अन्तिम इच्छालाई लोरेटाले पूरा गरेर नेपालसँगको सम्बन्धलाई अझ गाढा बनाएको भुजेलले बताए।
एउटै एयरलाइन्समा कार्यरत हुँदा सुरु भएको प्रेमलाई उनीहरूले विवाहमा परिणत गरेका थिए। जीवनको उत्तराद्धतिर आउँदा पनि फिलसँग बिताएका प्रत्येक क्षण लोरेटाका लागि अविस्मरणीय तथा प्रेमले भरिपूर्ण रह्यो ती दिनहरू सम्झँदै लोरेटाले एउटा पछुतो व्यक्त गरिन्।
‘मैले सन्तान जन्माउने चाहना गरिनँ तर अहिले कताकता एक्लोपन महसुस गर्छु’, लोरेटाले हल्का उदासीका साथ भनिन्, ‘मेरो साथमा फिल छैन तर उसँगका बिताएका हरेक पल र उसले टेकेको माटो मलाई उत्तिकै प्रिय छ। फिल अब भौतिक रूपमा हाम्रो साथमा छैनन् तर उनको आत्मा सधैँ नेपालमै रहनेछ। पोखरामा उनीको सम्झना सधैँ जीवन्त रहनेछ।’ रासस