प्राविधिक शिक्षा सुधारमा नीतिगत परिवर्तन आवश्यक : शिक्षामन्त्री भट्टराई

हिमाल प्रेस १३ चैत २०८१ १०:४९
22
SHARES
प्राविधिक शिक्षा सुधारमा नीतिगत परिवर्तन आवश्यक : शिक्षामन्त्री भट्टराई

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को संघीयता अनुरूपको पुनर्संरचनाका विषयमा छलफल गरिएको छ।

शिक्षामन्त्री विद्या भट्टराईको अध्यक्षतामा सम्पन्न बैठकमा परिषद्का सदस्य सचिवले पुनर्संरचना सम्बन्धी प्रस्तुतिकरण गरेका थिए। उक्त प्रस्तुतिकरणमा पाठ्यक्रम तथा समकक्षता निर्धारण प्रक्रिया, परीक्षा प्रणाली सुधार, सीप परीक्षण, सम्बन्धन तथा स्वीकृति प्रक्रियाका मुख्य बुँदाहरू समावेश गरिएको थियो।

छलफलका क्रममा शिक्षामन्त्री भट्टराईले संघीयता अनुरूप परिषद्लाई पुनर्संरचना गर्न आवश्यक कदम चालिने बताइन्। साथै, नर्सिङ जस्ता व्यवहारिक विषयहरूमा स्वास्थ्य मन्त्रालयसँग समन्वय आवश्यक रहेको, परिषद् र शिक्षा तथा मानवस्रोत विकास केन्द्रको प्राविधिक धारका पाठ्यक्रममा एकरुपता ल्याउन गृहकार्य गर्नुपर्ने कुरामा जोड दिइन्।

मन्त्री भट्टराईले परिषद्को संस्थागत सुशासन सुधार गर्नुपर्ने, सम्बन्धन प्रक्रियाका पेचिला विषयहरूलाई पारदर्शी बनाउनु आवश्यक रहेको तथा व्यवहारिक परिवर्तनका लागि सबै पक्षको प्रतिबद्धता जरुरी रहेको धारणा राखिन्।

छलफलको क्रममा प्राविधिक शिक्षा अध्ययन गरेका विद्यार्थीहरूले विश्वविद्यालयमा प्रवेश गर्दा भोग्नुपरेका समस्या तथा श्रम बजारमा अवसरहरू प्राप्त गर्दा देखिएका चुनौतीहरूबारे पनि छलफल गरिएको थियो।

उच्च शिक्षा महाशाखाका सहसचिव बैकुण्ठ अर्यालले पाठ्यक्रम पुनरावलोकन, प्राविधिक धारका पाठ्यक्रममा एकरुपता ल्याउने तथा सीप परीक्षण गर्न दक्ष जनशक्ति उत्पादन गर्ने आवश्यकतामा जोड दिए।

कार्यक्रममा मन्त्रालयका उच्च अधिकारीहरू, परिषद्का प्रतिनिधिहरू तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। छलफलका क्रममा उठाइएका सुझावहरूलाई परिषद्को आगामी नीतिगत सुधार योजनामा समेट्ने सहमति बनेको छ।

प्रकाशित: १३ चैत २०८१ १०:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast