
काठमाडौँ- राप्रपा नेपालले अन्य पार्टी वा झन्डा राखेर सञ्चालित आन्दोलनमा सहभागिता नजाउने निष्कर्ष निकालेको छ। राप्रपा नेपालले विज्ञप्तिमार्फत राष्ट्रिय झन्डा प्रयोग भएका आन्दोलनमा सहभागी हुने तर पार्टी विशेष आन्दोलनमा सहभागी नहुने बताएको छ।
यसअघि राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले आफ्नै नेतृत्वमा राजावादी आन्दोलन सुरु गर्ने बताएको थियो। लिङ्देनको सोही निर्णयलाई लक्षित गर्दै कमल थापा नेतृत्वको राप्रपा नेपालले त्यस्ता आन्दोलनमा सहभागिता नजनाउने भएको छ।
विज्ञप्तिमा राप्रपाको नाम लेखिएको छैन। राप्रपाको यो निर्णयपछि दुर्गा प्रसाईले भने समर्थन पाउने भएका छन्। राजावादी आन्दोलनमा सम्मिलत प्रसाईले राष्ट्रिय झन्डा मात्र प्रयोग गरेर आन्दोलन गर्दै आएका छन्।
प्रसाई नेतृत्वको नागरिक बचाऊ अभियानले आउँदो चैत १५ गते काठमाडौंमा बृहत् प्रदर्शन गर्दैछ। राप्रपा नेपालले उक्त प्रदर्शनमा समर्थन गर्ने निर्णय गरेको हो। विचारधारा मिल्ने दल तथा समूहसँग एकता र सहकार्यका लागि सधैँ सकारात्मक रहेको राप्रपा नेपालले जनाएको छ।