
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीको विरोध गरेको छ।
पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले आज विज्ञप्तिमा जारी गर्दै विरोध जनाएका हुन्। उनले विज्ञप्तिमा भनेका छन्,’नेपाली जनतालाई १८ घण्टासम्म लोडसेडिङको मार भोग्न बाध्य पार्ने अँध्यारोको समस्या समाधान गर्न कुलमान घिसिङले महत्वपूर्ण भूमिका निभाएका थिए।’
घिसिङको बर्खास्तीलाई सरकारको दुष्प्रयास र बिचौलियाहरूको संरक्षणको हिस्सा मानिएको उल्लेख गर्दै रास्वपाले सरकारको कदमलाई जनविरोधी र राष्ट्रसेवकको अपमानको रूपमा प्रस्तुत गरेको छ।
रास्वपाले सरकारका कदमहरू संविधान र लोकतन्त्रको प्रतिकूल रहेको बताएको छ। यी कदमहरूले युवाहरू र सचेत नागरिकलाई निरुत्साहित गरेको रास्वपाको भनाइ छ।
रास्वपाले भनेको छ,‘देशमा व्याप्त रोष र नैराश्यताको मुख्य कारण भनेको प्रमुख दलहरूको चरम कुशासन हो जसका कारण अर्थतन्त्र, बेरोजगारी, शिक्षा र स्वास्थ्य क्षेत्रमा संकट सिर्जना भएको छ।’
रास्वपाले अहिलेको सरकारलाई भ्रष्ट, अकर्मण्य र निष्क्रिय भन्दै शान्तिपूर्ण कार्यक्रममार्फत विरोध गर्ने जनाएको छ।
कुलमान घिसिङको बर्खास्ती र यससँग सम्बन्धित घटनाहरूले सरकारको औचित्यलाई प्रश्न गर्न विवश बनाएको भन्दै रास्वपाले आगामी दिनहरूमा विरोध कार्यक्रमहरूमा नेतृत्व, सहभागिता र ऐक्यबद्धता जनाउने बताएको छ।