वामपन्थी दल हतास, कांग्रेसमा छैन त्रास

किरण पौडेल १४ चैत २०८१ ११:४३
56
SHARES
वामपन्थी दल हतास, कांग्रेसमा छैन त्रास

काठमाडौँ- राजधानीमा राजावादीको चहलपहल बढेपछि नेपाली कांग्रेसभन्दा वामपन्थी दलहरू बेचैन देखिएका छन्। एमाले, माओवादीलागयतका कतिपय नेताले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर निर्वाचनमा जान चुनौती दिइरहेका छन् भने केही नेताहरू गालीगलौजमा उत्रिएका छन्।

नेकपा एमाले राजावादीप्रति बढी सशंकित देखिन्छ। एमालेका एक पदाधिकारी राजावादी मौलाउनुको कारण विदेशी शक्ति भएको बुझाइका कारण सशंक्ति हुुनुपरेको बताउँछन्।

एमाले नेतृत्वसँग भारतको सम्बन्ध सुमधुर देखिँदैन। किनभने असार अन्तिममा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीलाई भारतले भ्रमणका लागि निम्तो दिएको छैन। नेपालमा प्रायः प्रधानमन्त्री बन्नेबित्तिकै भारत भ्रमणमा जाने परम्परा छ। एमाले बैठकमा समेत ओलीले भारतले ‘सरकार ढाल्न सक्छ’ भनेर बिफ्रिङ गरेको विषय बाहिरिएको छ। यद्यपि एमाले नेताहरूले यसको खण्डन गरिसकेका छन्। एमाले महासचिव शंकर पोखरेलले भनेका छन्, ‘संसारका कुनै पनि लोकतान्त्रिक मुलुक र जनता लोकतन्त्रका ठाउँमा निरंकुशतन्त्र प्रश्रय दिन सहमत हुन सक्दैनन् भन्ने कुरामा हामी स्पष्ट छौँ।’

एमालेले राजावादी आन्दोलनलाई गम्भीरताका साथ हेरेको नेताहरू बताउँछन्। किनभने सरकारको नेतृत्व गरिरहेको एमालेले सडक आन्दोलन घोषणा गरेको छ। ‘राजावादीहरू अघि बढ्ने सम्भावना छैन तर जनता भड्काउने कामप्रति हामी सचेत भएका हौँ,’ एमाले प्रवक्ता राजेन्द्र गौतम भन्छन्।

यसैगरी अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि कवितामार्फत शाह परिवारलाई ‘भाइमारा’ को आरोप लगाएका थिए।

राजावादीसँग हतास देखिएका अर्का नेता हुन्, पुष्पकमल दाहाल ‘प्रचण्ड’। पूर्वराजाले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा निकालेको वक्तव्यपछि नै प्रचण्ड खण्डनमा उत्रिएका थिए। पूर्वराजाको पक्षमा प्रदर्शन हुने भएपछि प्रचण्डले मधेशमा जारी पार्टी कार्यक्रम छाडेर काठमाडौँ आएका थिए। त्यसपछि प्रचण्डले राजावादीविरुद्ध खबरदारी गर्न थालेका छन्। उनले पूर्वराजाविरुद्ध तुच्छ गाली गरिसकेका छन्। उनले सार्वजनिक मन्चबाट ज्ञानेन्द्र ‘मूर्तिचोर’ र ‘भाइमारा’को आरोप लगाएका छन्।

‘व्यवस्थाविरुद्ध उत्रने कार्यक्रम भयका कारण कार्यक्रम स्थगित गरेका हौँ। जोकोही लोकतन्त्रविरुद्ध प्रश्न उठाउँछ भने हामी त्यो विरुद्ध उत्रनुपर्छ नै,’ माओवादी महासचिव देव गुरुङ भन्छन्, ‘लोकतन्त्रभित्रै कसैले आन्दोलन गर्छ भने हामी मान्न तयार छौँ तर लोकतन्त्रविरुद्ध खबरदारी गर्छ भने हामी काउन्टरमा उत्रन्छौँ नै।’

विश्लेषकहरू बारम्बार राजावादीविरुद्ध उत्रनुलाई एमाले-माओवादी त्रासमा रहेको रूपमा बुझेका छन्। ‘पूर्वराजा साँच्चै आउने हो भने माओवादी नेताहरू नै प्रभावित हुन्छन्। यही त्रासमा माओवादी नेताहरू छन्,’ विश्लेषक डा.विष्णु दाहाल भन्छन्, ‘यस बीचमा भएका भ्रष्टाचारका घटनादेखि अनेक आरोप सबैभन्दा बढी एमाले-माओवादीलाई लागेको छ। त्यो बाहिरिन्छ भन्ने भय छ।’

गणतन्त्रकै पक्षमा समाजवादी मोर्चाले चैत १५ मा खबरदारी गर्ने भएको छ। मोर्चाका तर्फबाट माओवादी अध्यक्ष दाहाल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेसपा अध्यक्ष महिन्द्र राय यादव, नेकपा महासचिव नेत्रविक्रम चन्दले हस्ताक्षर गरेको विज्ञप्तिमा गणतन्त्रवादी शक्तिलाई एकजुट भई ‘प्रतिगमन र प्रतिक्रियावादीको षड्यन्त्र विफल’ पार्न अपिल गरेका छन्।

कांग्रेसमा छैन त्रास

राजावादीको विरोधमा नेपाली कांग्रेसम त्यति धेरै सक्रियता देखिएको छैन। नेताहरूले व्यक्तिगत रूपमा सामान्य खबरदारीबाहेक कांग्रेसले आधिकारिक रूपमा राजावादीविरुद्ध आन्दोलन घोषणा गरेको छैन।
कांग्रेसले राजावादीहरूको विरोध प्रदर्शनलाई लिएर आत्तिन नहुने निष्कर्ष निकालेको छ। केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले परिवर्तनका शक्ति र नयाँ दलसमेत परिवर्तित व्यवस्थाका पक्षमा रहेको भन्दै यस्तो निष्कर्ष निकालेको हो।

प्रवक्ता डा. प्रकाशशरण महतले परिवर्तनको मुद्दाका रूपमा प्रतिपक्षी नेकपा माओवादी केन्द्र र नयाँ दलसँग टाढा नभएको बताए। तत्काल सडकमा उभिएर शक्ति प्रदर्शनको आवश्यकता नभएको निष्कर्ष कांग्रेसको छ।

‘हामीले शक्ति प्रदर्शनको प्रतिस्पर्धा गर्न आवश्यक ठानेका छैनौँ। जनता संविधानको पक्षमा उभिएका छन्। कुनै पार्टीहरूले प्रदर्शनको निर्णय गर्न सक्छन् तर कांग्रेसले तत्काल सडकमा उभिएर आफ्नो कुरा राख्नुपर्ने ठान्दैन,’ डा. महतले भने, ‘संविधानलाई दृढताको साथ समर्थन गर्ने र पार्टीपंक्तिलाई सुसूचित गर्ने पक्षमा छौँ। गणतान्त्रिक संविधानका पक्षमा नयाँ दलले प्रतिवद्धता जाहेर गरेका छन्। सरकारमा बस्ने, विपक्षमा बस्नेले पनि प्रतिबद्धता जाहेर गरेपछि र स्वःस्फूर्त मुद्दा मिलेपछि मोर्चा गठनको आवश्यकता छ भन्नेमा हामी छैनौँ। बाहिरबाट परिवर्तन आउन सम्भव छैन।’

बैठकले जनता संविधानकै पक्षमा उभिएको निष्कर्ष निकालेको छ। ‘सार्वभौम नेपाली जनताद्वारा निर्वाचित संविधानसभाबाट गणतान्त्रिक संघीय संविधान बनेको हो। कार्यसम्पादन समितिले यसप्रति पूर्ण प्रतिवद्धता जाहेर ग¥यो। संघीय लोकतान्त्रिक संविधानमार्फत जनताको आवश्यकता, समस्या, महत्त्वाकांक्षा सम्बोधन गर्न सकिने विश्वास व्यक्त गरेको छ,’ बैठकपछि प्रवक्ता डा. महतले भने, ‘संविधानको खिलाफमा कुरा उठेको छ। जनताले बनाएको संविधान, निर्वाचित गरेको संसद् छ। जे सम्बोधन गर्नुपर्छ। संसद्बाट हुन्छ। बाहिरबाट केही हुँदैन। संविधानको पक्षमा समग्र जनता उभिएका छन्।’

पूर्वराजा ज्ञानेन्द्र शाहप्रति पार्टी सभापति शेरबहादुर देउवाले आइतबार दिएको अभिव्यक्तिप्रति कांग्रेस कार्यसम्पादन समितिका सदस्यहरूले एक स्वरमा समर्थन जनाएका छन्। देउवाले आइतबार कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै पूर्वराजा शाह संवैधानिक राजा बन्न लायक नरहेको बताएका थिए। उनले ज्ञानेन्द्रलाई राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को अध्यक्ष बनाउन सुझाव दिएका थिए। शाहलाई राजनीतिक दल खोलेर खुला राजनीतिमा आउन सुझाव दिँदै देउवाले पूर्वराजालाई बोकेर हिँडेको राप्रपा र राप्रपाका नेता कार्यकर्ताले पनि दुःख पाउने टिप्पणी गरेका थिए।

नेताहरू आफ्नै कमजोरीका कारण डराएको विश्लेषक दाहालको बुझाइ छ। ‘गणतन्त्रविरुद्धको असन्तुष्टि भन्दा पनि दलतन्त्रविरुद्धको असन्तुष्टि हो यो। असन्तुष्टि बढिरहेमा मुलुकमा समस्या हुन सक्छ,’ विश्लेषक दाहाल भन्छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast