कालीमाटी तरकारी बजारको ब्रोकाउली खान अयोग्य : प्रयोगशाला

हिमाल प्रेस १२ चैत २०८१ १४:०३
20
SHARES
कालीमाटी तरकारी बजारको ब्रोकाउली खान अयोग्य : प्रयोगशाला

काठमाडौँ– कालीमाटी तरकारी तथा फलफूल बजारको प्रयोगशालाले ब्रोकाउलीमा गरेको नमुना परीक्षणमा रोकावट प्रतिशतभन्दा दोब्बरभन्दा बढी विषादी भेटिएको छ। ब्रोकाउलीमा ८८.६७० प्रतिशत विषादी अवशेष भेटिएको प्रयोगशालाले जनाएको छ।

विषादी प्रयोगशाला प्राविधिक अस्मिता आचार्यका अनुसार कालीमाटी बजारको पसल नं. ६४५ बाट सो नमुना परीक्षण गर्दा त्यस्तो विषादी भेटिएको हो। उनले भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको ब्रोकाउलीमा रोकावट प्रतिशतभन्दा बढी ८८.६७० प्रतिशत अर्गानोफस्फेट नामक विषादीको अवशेष भेटिएको जानकारी दिइन्।

उनका अनुसार तरकारी बजारबाट सोमबार लिइएका १८ पसलका १८ थरी तरकारी तथा फलफूलको नमुना परीक्षण गर्दा रोकावट प्रतिशतभन्दा बढी अयोग्य विषादीको अवशेष ब्रोकाउलीमा भेटियो।

नेपालमा दुईवटा विषादी अर्गानोफस्फेट र कार्वामेटको परीक्षण हुने गरेको उनले बताइन्। ‘गत माघ १ गतेदेखि चैत ४ गतेसम्मको विषादी परीक्षण तथ्यांक हेर्दा सबैभन्दा धेरै विषादी साग, काउली, ब्रोकाउली, गोलभेडा र काँक्रोमा पाइएको छ। आमउपभोक्ताको भान्सामा दैनिक भित्रिने हरियो तरकारीमा अत्यधिक विषादी भेटिन्छ’, उनले भनिन्।

भक्तपुरमा उत्पादित ब्रोकाउलीमा सबैभन्दा बढी विषादी पाइन्छ। हाल परीक्षण गरिएको ब्रोकाउली भक्तपुरका तरकारी उत्पादक किसान गंगाप्रसाद खरेलले फलाएको प्रयोगशालाले जनाएको छ।

प्रयोगशालाका अनुसार तरकारी तथा फलफूलमा विषादी रोकावट प्रतिशतको दर ३५ भन्दा कम भए मात्र खान मिल्छ। ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर खान मिल्ने विषादी प्राविधिक आचार्य बताउँछिन्। उनका अनुसार ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्तो तरकारी उपभोगका लागि अयोग्य हुन्छ।

विषादी प्रयोगशालाको तथ्यांकअनुसार पछिल्ला दुई महिनामा २३ वटा नमुनामा रोकावट प्रतिशतभन्दा बढी विषादी अवशेष पाइएको छ।

पछिल्लो एक महिनामा कालीमाटी तरकारी बजारको फलफूल तथा हरियो तरकारीको नमुना परीक्षण गर्दा काउली, काँक्रा, गोलभेडा, घिरौंला तथा पाकेको फर्सीमा अर्गानोफस्फेट नामक विषादीको अवशेष रोकावट प्रतिशतभन्दा बढी पाइएको प्राविधिक आचार्यले जानकारी दिइन्।

गत माघमा नुमना परीक्षण गर्दा सबैभन्दा धेरै हरियो सागमा विषादी देखिएको थियो। त्यति बेला पनि विभिन्न प्रकारको हरियो सागमा ८७.६८० प्रतिशत विषादी अवशेष भेटिएको थियो। यस्तो विषादी भएको साग बेच्न कृषि मन्त्रालयले रोक्न चासो नदिएको प्रयोगशालाका कर्मचारीको आरोप छ।

खानै नमिल्ने गरी विषादी प्रयोग भएको तरकारी तथा फलफूलमा बिक्रीमा रोक लगाउन कालीमाटी तरकारी तथा फलफूल बजार समितिलाई निर्देशन दिएको कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले जानकारी दिए। उनका अनुसार यस्तो तरकारी बेच्ने विक्रेतामाथि पनि कारबाही गरिने प्रतिबद्धता जनाए। उनले भने, ‘नमुना परीक्षणमा रोकावट प्रतिशतभन्दा बढी विषादी भेटिए त्यस्तो तरकारी र फलफूल बिक्री गर्नु हुँदैन। यो मानवीय स्वास्थ्यका लागि हानिकार हुन्छ।’

विषादी परीक्षण व्यापक नबनाउँदा विषादीयुक्त खाद्यवस्तु तथा तरकारी र फलफूल भान्सामा पुग्ने गरेको छ। पछिल्लो दुई महिनाको तथ्यांकअनुसार सागमा रोकावट प्रतिशतभन्दा बढी ८९.०४४ प्रतिशतसम्म विषादी पाइएको प्रयोगशालाले जनाएको छ। भदौ र असोजमा रायो सागको नमुनामा क्रमशः ७४.८२ प्रतिशत र ७९.०२ प्रतिशत विषादी अवशेष भेटिएको प्रयोगशालाको तथ्यांकमा छ।

माघमा ८ वटा नमुनामा विषादी अवशेष पाइएको थियो। यसैगरी फागुनमा विभिन्न ११ वटा नमुनामा विषादी पाइएको थियो। सबैभन्दा बढी काउली र काँक्रामा विषादी भेटिएको थियो।

यसैगरी चैत ४ गते १८ वटा नमुना परीक्षण गर्दा ब्रोकाउलीमा रोकावट प्रतिशतभन्दा बढी ८८.६७० प्रतिशत, २ गते १० वटा नमुना परीक्षण गर्दा काँक्रोमा ६५.२३५ प्रतिशत अर्गानोफस्फेट विषादीको अवशेष पाइएको प्रयोगशालाको रिपोर्टमा उल्लेख छ।

प्रकाशित: १२ चैत २०८१ १४:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast