
काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ। सोमबार राति भएको खेलमा दिल्लीले १ विकेटको जित निकालेको हो ।
सुरुवाति ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा २०९ रन बनाएको थियो। जबाफी ब्याटिङमा उत्रिएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाएर २११ रन बनाएर लक्ष्य पूरा गरेको हो।
लखनउका लागि मिचेल मार्सले ७२ र निकोलस पुरनले ७५ रनको अर्धशतकीय पारी खेले। त्यस्तै डेभिड मिलरले २७ तथा एडेन मारकरमले १५ रन जोडे।
दिल्लीका लागि मिचेल स्टार्कले ३ विकेट लिए भने कुलदीप यादवले २ विकेट हात पारे। भिप्रज निगम र मुकेश कुमारले १-१ विकेट लिए।
दिल्लीका लागि आसुतोस शर्माले अविजित ६६ रन बनाउँदा भिप्रज निगमले ३९ रन जोडे । त्यस्तै त्रिस्टान स्टबसले ३४ रन जोडेको खेलमा अक्षर पटेलले २२ रनको योगदान दिए। उता फाफ डुप्लेसिसले २९ रन जोडे।
लखनउका लागि शार्दुल ठाकुर, मनिमरन सिद्धार्थ, दिग्भेस राठी र रवि विश्नोइले २-२ विकेट लिए।