
पोखरा– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले उद्योगी व्यवसायीको सीप र व्यवस्थापकीय क्षमताविना देशको विकास हुन नसक्ने बताएका छन्।
कृषि विकास बैंक कर्मचारी संघ नेपालको १० औँ केन्द्रीय परिषद्को पोखरामा सोमबार उद्घाटन समारोहमा बोल्दै पोखरेलले यस्तो बताएका हुन्।
उनले नेपालको नयाँ पुस्ता र रोजगारीको अवसर प्रदानमा ‘ग्याप’ हुँदा युवा पुस्ता पलायन हुने क्रम बढेको बताए। पोखरेलले भने, ‘नेपालीमा गहिरिएर अध्ययन गर्ने बानी छैन। व्यवसायीमा सीप र व्यवस्थापकीय क्षमता कमजोर छ। गुजारामुखी, परम्परागत पद्दतिको अब काम छैन।’
उनले बैंकिङ क्षेत्र सवल बनाउका लागि ऋणीको कागज र मनोविज्ञान दुवै पढ्न कर्मचारीलाई सुझाव दिए। पोखरेलले नेपालमा अहिले लोकतन्त्रमाथि नै हमला हुने गरेको उल्लेख गर्दै पलायन भइसकेको राजतन्त्र फर्किन्छ भन्नु दिवास्वप्नमात्र रहेको बताए। ‘राजाको सक्रिय शासनकालमा नेपालीको औसत आयु ५०/५२ वर्षमात्र थियो। अहिले ७२ वर्ष पुगिसक्यो,’ उनले भने, ‘के यो उपलब्धि हैन? मान्छेको आयु वृद्धि भइसक्यो। केही भएन भन्न मिल्छ?’
पञ्चायतको अन्त्यतिर ८ प्रतिशत हाराहारीमा नेपाली जनताले बिजुली बाल्ने गरेकोमा अहिले ९९ प्रतिशत जनताको घरमा बिजुली बल्नु आफैँमा उपलब्धि भएको महासचिव पोखरेलले बताए।
उनले सामाजिक सञ्जालको माध्यमबाट हाम्रो समाजलाई मिसइन्फरमेसन, डिसइन्फरमेसन दिने काममात्र भएको बताए।
एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले कर्मचारीको क्षमता अभिवृद्धिमा कुनै कसर बाँकी राख्न नहुने बताए। नेता अधिकारीले कृषिलाई वैज्ञानिकीकरण र आधुनिकीकरण गर्नुपर्नेमा जोड दिए। उनले नेपाल राष्ट्र बैंकझैँ कृषि विकास बैंकले पनि अध्ययन अनुसन्धान गर्नुपर्ने सुझाव दिए। अधिकारीले राष्ट्रिय पुँजी निर्माण नगरेसम्म देशको विकास हुन नसक्ने बताए।
कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आफू आइसकेपछि दुई वर्षको अवधिमा बैंकले धेरै विषयमा उपलब्धि हासिल गरेको दाबी गरे।
कमर्सियल बैंकको पुछार २० मा रहेको बैंक अहिले नाफामा नवौँ स्थानमा आइसकेको तथा कर्मचारी संगठनका मागहरु अधिकांश पूरा गरिसकेको पनि बताए। कर्मचारीको सरुवा, बढुवा, तालिमलगायत सुचारु रहेको उनको भनाइ थियो। उनले बैंक र कर्मचारीलाई एउटै डुंगामा रहेर काम गर्न आग्रह गरे।
कृषि विकास बैंक गण्डकी प्रदेशका निर्देशक धनेन्द्र अधिकारीले परिषद्ले गर्ने निर्णयले आगामी दिनमा बैंकलाई अझ राम्रो गर्ने अपेक्षा गरे।
प्रतिनिधिसभा सदस्य दामोदर बैरागीले देशको विकासमा लागिपरेको पार्टी एमालेमाथि अहिले चौतर्फी आक्रमण भइरहेको आरोप लगाए।
उद्घाटन कार्यक्रममा कृषि विकास बैंक कर्मचारी संघ नेपालका पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा भोजराज भट्टराई, ताराखर अधिकारी, रविप्रसाद पाठक, जीवनाथ बस्याल, ध्रुवराज खनाल, कुलप्रसाद शर्मा, मोहिनी खनाल, मोहिनी खनाललगायत छन्।
संघका प्रदेश कमिटीमध्ये कार्य सञ्चालनका हिसाबले मुख्य कार्यालय काठमाडौँ पहिलो, बागमती दोस्रो र कोशी प्रदेश तेस्रो हुँदै सम्मानित भए। शाखामध्ये झापा, महोत्तरी, बारा, धादिङ, काठमाडौँ, नवलपुर, रुपन्देही, बाँके, जुम्ला, कञ्चनपुर सम्मानित भए।
यस्तै संघमा आबद्ध २१ जना आजीवन सदस्यलाई सदस्यताको प्रमाणपत्र प्रदान गरिएको संघका अध्यक्ष लीला जिसीले बताइन्।
कार्यक्रममा स्वागत संघका वरिष्ठ उपाध्यक्ष छगेन्द्र आचार्य र सञ्चालन महासचिव लेखनाथ घिमिरेले गरे। एमालेनिकट कृषि विकास बैंक कर्मचारी संघ नेपालको केन्द्रीय परिषद्मा भाग लिन देशैभरबाट प्रतिनिधि पोखरा आएका छन्।