
सुर्खेत– दैलेख दुल्लुकी कविता खड्काका दम्पती रोजगारीका लागि भारतको चण्डिगढ पुगेको छ। रोजीरोटीका लागि भारत गएका उनीहरूसँग दुई छोरा पनि छन्। विद्यालय उमेर पुगेका दुई छोरा शिक्षाको उज्यालोबाट वञ्चित भएका छन्। दुई छाकको गुजारा गर्न परदेसिनुपर्दा छोराहरूको पनि भविष्य अनिश्चित रहेको चिन्ता कविता दम्पतीलाई छ।
‘घरमा बसौँ भने बिहानबेलुकी हातमुख जोड्न धौधौ हुने, त्यसैले मजदुरी गर्न भारत आउनुपर्यो,’ उनले भनिन्, ‘छोराहरुको पढाइ छुटेको छ। उनीहरुको भविष्यको चिन्ता लाग्छ।’
वीरेन्द्रनगर-१ सुर्खेतका विश्व विक दुई छाक जोह गर्न निकै मुस्किल हुन थालेपछि परिवारसहित भारतको कालापडाड पुगेका छन्। उनका पनि विद्यालय उमेर समूहका तीन छोराछोरी छन्।
सानैमा बुवाको मृत्यु भएका कारण घरको जिम्मेवारीले आफूले पढ्न नपाएपछि छोराछोरीलाई पढाउने सपना बोकेर भारत पुगेका हुन्। तीनै आफ्ना सन्तानलाई पढाउ नसक्ने भएपछि उनी चिन्तित भएका छन्।
उनी मात्र होइन कर्णाली प्रदेशमा आधाभन्दा बढी मानिस भारतको कालापहाड र विदेश गएका छन्।
प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीका ७.१ प्रतिशत बालबालिका विद्यालयको पहुँचबाहिर छन्। मन्त्रालयका अनुसार डोल्पा र जुम्लामा सबैभन्दा बढी १३.६ प्रतिशत बालबालिका विद्यालय जान पाएका छैनन्।
सुर्खेतमा सबैभन्दा कम ६.१ प्रतिशत बालबालिका विद्यालयको पहुँचबाहिर छन्। यसैगरी हुम्लामा ११.६ प्रतिशत, मुगुमा ९.३ प्रतिशत, दैलेखमा ६.९ प्रतिशत, सल्यानमा ६.८ प्रतिशत, जाजरकोटमा ६.७ प्रतिशत, कालिकोट र रुकुमपश्चिममा ६.२ प्रतिशत बालबालिका विद्यालय गएका छैनन्।
राष्ट्रिय बालअधिकार परिषद्का समन्वय अधिकृत डम्बरबहादुर रोकायले विद्यालय छोड्नेको संख्या बढ्दै गएको बताए। उनले स्थानीय स्तरका विद्यालयमा विद्यार्थीको संख्या पनि खस्किँदो अवस्थामा रहेको बताए।
रोकायले भने, ‘सामाजिक सञ्जालको दुरुपयोग गर्दा विद्यार्थी घट्ने गरेका छन्। पढ्ने उमेरका बालबालिका पनि बुबाआमासँगै कालापहाड जाने र सानै उमेरमा विवाह गर्ने गरेको पाइन्छ। यसले गर्दा स्थानीय विद्यालयमा समेत विद्यार्थीको उपस्थिति न्यून हुने गर्छ।’ गाउँका विद्यालयमा विद्यार्थीको संख्या घट्दो छ।
वीरेन्द्रनगर-१ मा रहेको दीपमाला प्राविमा चालु आर्थिक वर्षमा शैक्षिक सत्रमा झण्डै १ सय ४३ जनाको हाराहारीमा विद्यार्थी भर्ना भएको विद्यालयका प्रधानाध्यापक मञ्जु सुनारले जानकारी दिइन्।
उनले भनिन्, ‘विद्यार्थीहरु भर्ना हुँदाको संख्या र अन्तिमसम्म परीक्षा दिनेको संख्या जहिल्यै २५ देखि ३० जना कम हुन्छ। कर्णालीका अधिकांश मानिसको आम्दानीको मुख्य स्रोत कालापहाडको मजदुरी हो। बालबालिका पनि अभिभावकसँगै जाने भएकाले उनीको पढाइ छुट्ने गरेको छ।’
सामाजिक विकास मन्त्रालयका शैक्षिक योजना तथ्यांक तथा अनुसन्धान शाखाका अधिकृत बलवीर सुनारले विद्यार्थीले विद्यालय छोड्नुको मुख्य कारण बसाइँ सराइ, चेतनास्तरको कमी, अभिभावकलाई शिक्षाको कमी, अभिभाभवकविहीन, सडक बालबालिका दीर्घरोगीले गर्दा बालबालिकामा विद्यालय छोड्ने गरेको बताए। आमाबाबाको साथमा नहुने बालबालिका विद्यालय छोड्ने गरेको उनले बताए।