
काठमाडौँ- शिक्षा ऐन अविलम्ब जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको नेतृत्वमा शिक्षक कर्मचारीहरूले रिले अनशन जारी राखेका छन्।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा आबद्ध सम्बद्ध संस्थाका अध्यक्ष तथा पदाधिकारीसहित १५ जना शिक्षक सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा अनशनमा बसेका छन्।
महासंघले चरणबद्ध आन्दोलनको घोषणा गर्दै चैत १५ सम्म अनशन जारी राख्ने जनाएको छ। महासंघका अध्यक्ष सुवेदीले रिले अनशन आज पाँचौं दिनमा पुगेको जनाए।
विगतमा भएका सहमति कार्यान्वयन गर्दै विद्यार्थी, अभिभावक, शिक्षक र कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग राखेर अनशन जारी रहेको अध्यक्ष सुवेदीले बताए। अनशन दैनिक बिहान ८ बजे सुरु भई साँझ ६ बजेसम्म चल्ने गरेको उनले जानकारी दिए।
ऐन जारी नभएसम्म आन्दोलन जारी राख्ने महासंघको भनाइ छ।